कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५
959

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको चिकित्सक टोलीले ल्याप्रेस्कोपिक पद्धतिबाट सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको छ । “शरीरमा न्यूनतम हानी गरी गरिने यो शल्यक्रियाको घाउ चाँडै निको हुन्छ र जटिलता पनि कम छ । साथै, प्रत्यारोपण गरिएको मृगौलाको काम गर्ने क्षमतामा ठूलो अन्तर हुँदैन,” चिकित्सक टोलीको नेतृत्व गरिरहेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. प्रेमराज ज्ञवालीले भने, “तर ओपन प्रोसेड्युरसमेत भनिने पारम्परिक पद्धतिमा दाता पीडाबाट गुज्रनुपर्छ र एउटा मृगौलाले मात्र काम गर्ने सामान्य स्थितिमा पुग्न समय लाग्छ ।”
उनका अनुसार दाताको शरीरबाट ल्याप्रोस्कोपिक माध्यमबाट मृगौला निकालिए पनि ग्रहणकर्तामा भने पुरानै पद्धतिबाट मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । उनले भने, “यो नयाँ पद्धतिमा प्रत्यारोपणमा लाग्ने समय कम हुन्छ ।”

डा. ज्ञवाली, डा. पवन चालिसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुइँटेल, डा. सुरेन्द्र विक्रम अधिकारी, स्टाफ नर्स मञ्जु शाही, सुजाता गणेश र रोशनी डालीको टोलीले एक ३५ वर्षीया महिलाको मृगौला उनकै ३८ वर्षीय पतिको शरीरमा ल्याप्रोस्कोपिक माध्यमबाट प्रत्यारोपण गरेको हो । यो टोलीलाई डा. अर्चन अधिकारी, डा. अविनाश गुरुङ, डा. अशोक खड्का र डा. सुजाता निरौलाको एनेस्थेसिया टोलीले सहयोग गरेको थियो ।
“ग्रान्डीको उत्कृष्ट चिकित्सक टोलीले हासिल गरेको यो सफलताप्रति हामी गौरवान्वित छौं । यस्तो प्रकारको अपरेसन गर्ने अस्पतालको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लबमा हामी पनि सामेल भएका छौं । नेपालको स्वास्थ्य सेवामा यो हाम्रो एउटा सानो योगदानका रुपमा रहनेछ,” ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले भने, “यो अपरेसन नेपालमा भएका ल्याप्रोस्कोपिक र एन्थ्रोस्कोपिक अपरेसनको एउटा महत्वपूर्ण अंश हो ।” ल्याप्रोस्कोपिक मृगौला प्रत्यारोपणका दाता स्वास्थ्य लाभ गरी डिस्चार्ज भइसकेका छन् भने ग्रहणकर्ताको स्वास्थ्य स्थिति राम्रो रहेको र केही दिनमै डिस्चार्ज हुनेछ ।