गोपाल संग्रौला
आइतवार, फाल्गुन २६, २०७५
683

तराईमा २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । भारत सरकार, भारतीय राजदूतावासबाट नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउण्डेसनले तराईका ९ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचारसहितको अध्ययनले करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको हो ।
फाउण्डेसनले तराईका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासी गरी ९ जिल्लाका ४५ हजार महिलाहरूको सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरेको थियो । पहिलो चरणमा ९ वटै जिल्लाका ४५ हजार महिला (प्रत्येक जिल्लाबाट ५ हजार सेवाग्राही महिला ) को घरदैलोमा पुगेर यो समस्याका विषयमा जनचेतनामूलक सन्देशमार्फत् समाजमा व्याप्त अन्धविश्वास, लाजसंकोच, अवहेलना र रुढीवादी संस्कारलाई चिर्दै तथ्यांक संकलन गरिएको थियो ।
४५ हजार महिलामध्ये ३४ हजार ९ सय ६० को पाठेघर खस्ने समस्या पहिलो स्टेजमा रहेको पाइएकाले रोकथामका उपायका विषयमा जानकारी दिइएको थियो । दोश्रो चरणमा ९ वटै जिल्लामा पाठेघर खस्ने समस्या निकारणका लागि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेर १० हजार ८ सय महिलालाई मेडिकल डाक्टर, हेल्थ असिस्टेन्ट र नर्सहरूमार्फत् एन्टिबायोटिक, औषधि, किगल अभ्यास र पाठेघर खस्न रोक्ने रिङ पेसरी उपलब्ध गराइएको थियो । तेश्रो चरणमा पहिचान गरिएका ३ सय ६० जनाको पाठेघर खसेको पाइएपछि उनीहरूको शल्यक्रिया नै गरिएको थियो । यो तथ्यांक संकलन, जनचेतना, स्वास्थ्य जाँच उपचार र शल्यक्रिया गरी तीन चरणमा तीन वर्षमा सम्पन्न भएको थियो ।
फाउण्डेसनका अनुसार शल्यक्रिया गरिएका ३ सय ६० मध्ये ८० जनाको सिरहाको कामना नर्सिङ होममा, २०० जनाको रौतहटको चन्द्रपुर हस्पिटलमा र ८० जनाको रुपन्देहीको देवदह मेडिकल कलेजमा शल्यक्रिया गरिएको थियो । तराईका पिछडिएका समुदाय, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलामा पाठेघर खस्ने समस्या विकराल रुपमा रहेको पाइएको अध्ययनमा संलग्न फाउण्डेसनकी कार्यक्रम संयोजक डा. सदीक्षा गिरीले बताइन् ।
उनका अनुसार तराईमा व्याप्त बाल विवाह, जन्मान्तरको फरक कम हुने, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीका कारण यो समस्या भयाभह रुपमा देखिएको छ । उनले भनिन्, “यसभन्दा पनि महत्वपूर्ण कुरा लाजका कारण रोग लुकाएर बसेका महिलाको संख्या ठूलो छ । उनीहरू समाजिक अपहेलनाका हुने भयले उपचारमा नआउँदा समस्या अझ विकराल र उनीहरूका कथा दर्दनाक छन् ।”
पाठेघर प्रजनन् अंगसँग सम्बन्धित भएकाले अझै पनि सीमान्तकृत र शिक्षाबाट पछाडि परेका महिलाहरूले यो समस्यालाई लुकाएरै बस्ने गरेको आफूले स्वास्थ्य परीक्षण र उपचारका क्रममा पाएको डा. सदीक्षाको अनुभव छ । सरकारले पाठेघरको निःशुल्क जाँच र बेला–बेलामा शल्यक्रिया गर्ने कार्यक्रम ल्याउने गरेको भए पनि सीमान्तकृत, पिछडिएका र गरिबीको चपेटामा परेका समुदायसम्म यो सेवा नपुगेकाले समस्या अझै भयाभह रहेको फाउण्डेसनको दाबी छ ।
जनसंख्याको आधा हिस्सा ओगट्ने महिला स्वस्थ नभई स्वस्थ्य नेपालको कल्पना गर्न सकिँदैन । त्यसैले पाठेघर खस्ने तराईका महिलाको पनि प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको पाइएको यसमा विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता अझै रहेको डा. गिरी बताउँछिन् । यो कार्यक्रम सम्पन्न गर्न फाउण्डेसनले ९ जिल्लाका ९ वटा अस्पतालहरूसँग सहकार्य गरेको थियो । सिरहाको कामना नर्सिङ होम, सप्तरीको कृष्ण हस्पिटल, धनुषाको लालगण मोडेल हस्पिटल, सर्लाहीको स्वाभिमान हस्पिटल, रौतहटको चन्द्रपुर हस्पिटल, बाराको निजगढ सामुदायिक हस्पिटल, मकवानपुरको मकवानपुर कोअपरेटिभ हस्पिटल र नवलपरासीको मध्यबिन्दु सामुदायिक अस्पतालसँग सहकार्यमा परियोजना सम्पन्न भएको डा. गिरीले जानकारी दिइन् ।
भारत सरकार, भारतीय राजदूतावासले महिला सशक्तीकरणका लागि तीन वर्षमा तीन चरणमा सम्पन्न गरेको यो परियोजनाको कुल अनुदान रकम ४ करोड ९४ लाख ७० हजार ८ सय ४० रुपैयाँ थियो । समाजकल्याण परिषद्, नेपाल सरकार स्वास्थ्य मन्त्रालय र दातृसंस्था भारत सरकार, भारतीय राजदूतावासको अनुगमन र मूल्यांकनमा यो परियोजना सम्पन्न भएको थियो । महिला सशक्तिकरणका लागि प्रजनन् स्वास्थ्यका क्षेत्रमा भारत सरकारले नेपाललाई सहयोग गरेको यो पहिलो परियोजना हो । भारत सरकारले नेपाल भारत सहयोग अन्तर्गत सन् १९५० देखि नै भौतिक पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुदान सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।


फेस टु फेस
डा. सदीक्षा गिरी
पाठेघर रोग विशेषज्ञ, हेल्दी नेपाल कम्युनिटी फाउण्डेसन

किन र कस्ता महिलाको पाठेघर खस्ने गर्दछ ?
सामान्य अवस्थामा रहेको भन्दा महिलाको पाठेघर तल झर्नुलाई पाठेघर खसेको वा आङ खसेको भनिन्छ । पाठेघरसँगै योनी मार्गका साथमा मूत्रथैली र गुदद्वारको केही भाग समेत झर्ने हुन्छ । समयमा रोकथाम र उपचार भएन भने पछि यो योनीको मुखसम्म आएर महिलालाई साह्रै पीडा दिन्छ ।
यो समस्या हिमाली र पहाडी क्षेत्रमा मात्र नभएर तराईका महिलामा पनि भयाभह छ । सामान्यतया आङ खस्ने पहिलो चरणमा पाठेघर आफ्नो ठाउँ छोड्छ । यस अवस्थामा पाठेघर योनीभित्रै हुन्छ । दोस्रो चरणमा पाठेघरले ठाउँ छोड्छ । योनीको मुखसम्म आउँछ र तेस्रो चरणमा पाठेघर योनीको मुखबाहिर आउँछ ।

कस्ता महिलाको पाठेघर झर्न सक्दछ ?
पर्याप्त मात्रामा पौष्टिक तत्व भएको खाना नपाएका महिला, सुत्केरी भएको ६ हप्ताभित्रै गह्रौं भारी बोक्ने-उचाल्ने महिलाहरू यस्तो समस्याबाट पीडित भएको पाइन्छ । यसैगरी धेरै बच्चा पाएका र वर्षैपिच्छे बच्चा पाउने महिला, सत्केरी अवस्थामा चुरोट पिउने (धुम्रपान गर्ने) र धेरै खोकी लाग्ने महिलामा पाठेघर झर्ने समस्या देखिएको पाइन्छ । जुनसुकै महिलाको पनि पाठेघर झर्न सक्छ । जस्तै, कलिलो अथवा पाको उमेरकी, दुब्ली–मोटी, तराईमा बस्ने वा पहाडमा बस्ने महिलामा सबैमा पाठेघर तल झर्ने समस्यामा हुन सक्छन् ।

पाठेघर तल झर्नाले के–कस्तो समस्या आउन सक्दछ ?
दिसापिसाब गर्दा दुख्ने वा गाह्रो हुने, सम्भोग गर्दा दुख्ने वा गाह्रो हुने, बच्चा जन्माउँदा व्यथा लामो लाग्ने र गाह्रो हुन सक्दछ । कहिलेकाहीँ हिँड्दाहिँड्दै पाठेघर धेरै नै बाहिर निस्कन्छ र दुईवटा तिघ्राको बीचमा रगडिएर घाउ हुने र बढी दुख्ने गर्दछ । यसैगरी शारीरिक काम गर्दा (जस्तो धान रोप्दा) दुख्ने र गाह्रो हुने, पाठेघर झर्दा एउटा बेलुनजस्तो पोको योनीबाट बाहिर निस्कन्छ । त्यो पेटिकोट वा भित्री कपडामा टाँसिने र घस्रने हुँदा पछि गएर घाउ बन्दछ र त्यहिँबाट रगत मिसिएको फोहोर र गन्हाउने पानी निस्कन्छ ।

महिलाले पाठेघर तल झर्नबाट कसरी बचन सक्छन् ?
पोषिलो खाना सागपात, गेडागुडी, दूध, दही, फलफूल, अण्डा र माछामासु पोषिलो खाना गर्भवती र सुत्केरी महिलाका लागि धेरै महत्वपूर्ण हुन्छ, जुन गाउँघरमा प्रशस्त पाइन्छन् । झोलिलो चिज धेरै खानाले दिसा कब्जियत हुँदैन जसले गर्दा दिसा गर्दा बल गर्नुपर्दैन । गह्रुँगो चिज उठाउनै परेमा (घँुडा खुम्चाएर, दोबारेर) घँुडालाई दह्रो पारेर उठाउनुपर्दछ । निहुरेर उठाउन (कम्मर दोबार्न) हँुदैन । यस्तो अवस्थामा आफैंले भारी उठाउनुभन्दा यदि नजिकमा केही भएमा सहयोग माग्नु उचित हुन्छ । सुत्केरी हुने महिना लागेपछि हल्का खालको काम मात्र गर्ने र सम्भव भएसम्म बढी आराम लिने गर्नुपर्दछ ।