कारोबार संवाददाता
मंगलबार, फाल्गुन २१, २०७५
580

नेपाल रेडक्रस सोसाइटीकोे ललितपुरको गोदावरीमा सोमबार सम्पन्न केन्द्रीय सभाको विशेष महाधिवेशनले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन सहितको पत्रबाट नेरेसोको विधानको विभिन्न दफा परिवर्तन गरी पठाइएको प्रावधान स्वीकार गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भई प्राप्त नेरेसोको विधानमा उल्लेख भएका केही बुँदाले संस्थाको नियमित सेवा वा सांगठनिक गतिविधि सञ्चालनमा कठिनाइ हुने महसुस गरेकोले जिल्ला प्रशासन कार्यालयसँगको सम्पर्क समन्वयको पहललाई थप निरन्तरता दिन सभाले केन्द्रीय कार्यसमितिलाई निर्देश पनि गरेको छ ।

नेरेसोको गत वर्ष विराटनगरमा आयोजित ४७औँ महाधिवेशनले गरेको विधानको १७औँ संशोधनलाई प्रमाणीकरणका लागि जिल्ला प्रसाशन कार्यालय, काठमाडौँमा पठाइएपछि थप संशोधनसहित स्वीकृति र निर्देशनात्मक पत्र आएकोले विधानको नियमित कार्यान्वयनमा अन्योलता छाएको, नियमित गर्नुपर्ने जिल्ला र प्रदेश तहका निर्वाचन स्थगित हुन पुगेकोले विधान कार्यान्वयनको विषयमा उपयुक्त निकास दिन विशेष महाधिवेशन आव्हान गरिएको थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग, शाखा विस्तार र अचल सम्पत्ति बेच विखनका लागि पूर्व स्वीकृत लिनुपर्ने प्रावधानका साथै गणपुरक संख्या, कार्यसमितिको कार्यविधि, सबै तहका कार्यसमिति र सभासद् मनोनयनका संख्यालगायतका बुँदामा जिल्ला प्रशासन कार्यालयले परिवर्तन वा थपघट गरेको विषयमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमितिले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई विधानलाई सहज पारिदिन अनुरोध गरेको थियो ।