कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
775

सिन्धुपाल्चोक-मध्य शिशिरको ठिहीमा सिम्पालकाभ्रेको छहारेबाट आएका ५५ वर्षीय हिराकाजी तामाङ असिनपसिन थिए । उमेरले ८० कटेकीे आफ्नी फुपू दुदी तामाङको खट्ट्रा टेक्नै नहुने गरी दुख्न थालेपछि डेढ घण्टाको बाटोमा डोकोमा बोकेर उनी नवलपुर आइपुगे ।
कष्टसाथ छहारेबाट इन्द्रावती गाउँपालिकाको नवलपुर स्वास्थ्यचौकी आइपुगेका उनले त्यहाँ फुपूको उपचार गराउन सकेनन् । अन्यत्र लैजान एम्बुलेन्स नपाउँदा निराश बने । “उपचार गराउनै निकै कठिन भयो,” उनी भन्छन्, “बिरामीलाई मोटरसाइकलमा आउजाउ गराउन निकै समस्या छ, गाउँपालिकामा भएको एम्बुलेन्स बिग्रँदा सास्ती भयो ।” गाउँपालिकास्थित स्वास्थ्य संस्थामा रहेको एम्बुलेन्स बिग्रिएको वर्षौं बित्दासमेत मर्मत हुन सकेको छैन । समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।

एम्बुलेन्स बिग्रिएको वर्ष दिन बितिसकेको छ । बिरामीको लागि अतिआवश्यक एम्बुलेन्स बिग्रिएकाले विकट गाउँवासी बिरामी भएमा स्वास्थ्य संस्था पुग्ने समस्याले स्थानीयलाई पिरोलेको हो । स्थानीयका अनुसार अन्य स्थानबाट एम्बुलेन्स बोलाउँदा भाडा दोब्बरजस्तो पर्ने गरेको छ ।
एम्बुलेन्स नहुँदा स्वास्थ्य केन्द्र सेवा क्षेत्रका कुन्चोक, सिपापोखरे, बाँडेगाउँ, नवलपुरलगायत गाउँवासी मर्कामा छन् । गाउँपालिकाको हरेक बस्तीमा सडक पुगेको छ । तर, बिरामी पर्दा स्टेचर र डोकोमा बोकेर ल्याउने गरेको नवलपुर स्वास्थ्यचौकी अहेब सरस्वती खनाल बताउँछिन् । “समस्या नभएको हैन,” उनी भन्छिन्, “बिग्रिएको एम्बुलेन्स प्राविधिक कारणले बन्न सकेको छैन ।”
सिम्पालकाभ्रे जिल्लाको विकट हिमाली गाउँ हो । नवलपुर स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा विशेषगरी विकट गाउँ पर्दछन् । यो केन्द्रमा आइपुग्न बिरामी पाँच घण्टासम्मको पैदल यात्रा गर्ने गरेका छन् । एम्बुलेन्स अभावकै कारण बाटैमा मृत्यु हुने सम्भावना रहेको स्थानीयको भनाइ छ । उच्च पहाडी भेगमा पर्ने सिम्पालकाभ्रेका विभिन्न गाउँमा अहिले चिसोका कारण स्थानीयवासीले रोगको समस्या झेलिरहेका ओखरेनी गाउँका अगुवा पदमबहादुर तामाङको भनाइ छ । दुई हजार तीन सय पचास मिटरको उचाइमा पर्ने ओखरेनी गाउँबाट नवलपुर स्वास्थ्यचौकीमा आइपुग्न साढे चार घण्टा पैदल हिँड्नुपर्छ । “बिरामीलाई निकै सकस छ ।” उनले भने, “बाक्लो तुसारोका साथै हिउँसमेत पर्ने हुँदा बालबच्चा र वृद्धवृद्धालाई निकै कठिन हुन्छ ।” यो गाउँ जुगल हिमशृङ्खलाको सम्मुख पर्ने हुँदा चिसो सिरेटो आउने गरेको छ ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ नयाँ एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको बताउँछन् । “स्वास्थ्य संवेदनशील विषय हो, यसबारे पालिकाले सोचेको छ,” उनी भन्छन्, “एम्बुलेन्सले सेवा दिन नसक्दा गाउँवासी मर्कामा परेका छन् ।” उनले अबको महिना दिनभित्र गाउँपालिकामा एम्बुलेन्स आइसक्ने आश्वासन दिए ।

किशोर बुढाथोकी


सातामा धेरै पढिएको