मनिषा चम्लागाईँ
आइतवार, माघ ६, २०७५
635

झापा - झापा बुद्धशान्ति गाउँपालिका –३ का २९ वर्षीय किरण धिमाल ३ वर्ष अघिसम्म यातायात व्यवसायी थिए । किरण झापाको बिर्तामोडदेखि इलामसम्म ट्याक्सी कुदाउँथे र आएको रकमले परिवारको गर्जो टार्थे ।
सामान्य परिवारका किरणको कमाइले परिवार धानेको थियो । किरणकी श्रीमती गंगाकुमारी राई आठ वर्षीया छोरी सक्षम र ४ वर्षीय छोरा अभियानको रेखदेख र पढाइमा ध्यान दिन्थिन् । ट््याक्सी कुदाएर परिवार पाल्दै आएका किरणको दुवै मृगौलाले काम गर्न छाडेपछि धिमाल परिवार यति बेला ठूलो बज्रपात सहन गर्न बाध्य छ । किरण अहिले ओछ्यान परेका छन् । किरणको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । तर, प्रत्यारोपण त के डायलाइसिस गर्न हस्पिटलसम्म पुग्ने गाडी भाडा छैन धिमाल परिवारमा । युवा अवस्थामा नै मर्दै छु भन्ने थाहा पाउँदा दुःखी छन् किरण ।

हप्तामा तीन पटक डायलाइसिस गर्नुपर्ने सल्लाह डाक्टरले दिएका छन् । किरण झापाको ओमसाई पाथिभारा हस्पिटल भद्रपुरमा हप्ताको दुई पटक डाइलासिस गरिरहेका छन् । प्राविधिक समस्या देखाउँदै हस्पिटलले दुई पटक मात्र डायलाइसिस गर्ने सुविधा दिएको किरण बताउँछन् । “जन्मसँगै मृत्यु त सबैले लिएरै आउँछन् । म भने परिवारको जिम्मेवारी वहन गर्नुपर्ने समयमा मृत्युसँग लडिरहेको छु,” निको भएर पुनः पहिले झैँ परिवारको जिम्मेवारी लिन चाहेको किरण सुनाउँछन् ।
किरणलाई आमा सावित्रा धिमालले मृगौला दिने भएकी छिन् । “हरेक दिन ‘आमा म छोराछोरीका लागि बाँच्न चाहन्छु, मलाई बचाउनुहोस्’ भन्छ, छोराले यसो भन्दा बाबुआमाको मन कस्तो होला,” सावित्राले भनिन्, “मेरो छोरालाई बचाइदिनू । प्रत्यारोपण गर्न धेरै पैसा लाग्ने रहेछ, बिहान बेलुकाको छाक टार्न मजदुरी गर्नुपर्ने हाम्रा लागि यो सम्भव भएन ।” किरणलाई बचाएर पहिलाझैँ परिवारको जिम्मेवारी लिएको हेर्ने रहर किरणका बुबाको छ । छोरा किरणलाई बचाउन सबैलाई सहयोग गरिदिन उनी आग्रह गर्छन् । किरणकी श्रीमती आफ्नो श्रीमान्को अवस्थाबारे कसैले सोधे बताउनसम्म नसक्ने अवस्थामा पुगेकी छिन् ।
आर्थिक अवस्थाले तीन वर्षदेखि मृगौला प्रत्यारोपण गर्न नसकिरहेको थाहा पाएर किरण बचाउ अभियान सुरु गरिएको अभियानका संयोजक प्रेम लुहागुनले बताए । “मृगौला प्रत्यारोपणका लागि हस्पिटलले २५ लाख रुपैयाँ लाग्ने जनाएको छ,” लुहागुनले भने, “आर्थिक अवस्था कमजोर भएका कारण तीन वर्षदेखि किरण रोगसँग लडिरहेका छन् । हामी उसलाई बचाउने अभियानमा छौँ ।” किरणलाई सहयोग गर्न चाहनेले एनआसी एसिया बैंकको खाता नम्बर ८५८७९५१३९५०५२४०१ मा रकम जम्मा गर्न सकिने अभियानका सहसंयोजक नवराज लिम्बुले बताए । खाता किरणकी आमा सावित्राको नाममा रहेको जनाइएको छ ।
किरणमात्र होइन, झापा कनकाई– ४ का यातयात मजदुर जुवेर अलाम पनि दुवै मृगौला खराब भएर रोगसँग लडिरहेका छन् । अलाम झापाको काँकड्भिट्टादेखि धरानसम्म कुद्ने बसको सहचालकको रुपमा काम गर्थे । विराटनगरस्थित गोल्छा अस्पतालमा डायलाइसिस गराइरहेका छन् अलाम । आर्थिक अवस्था कमजोर रहेका अलाम १८ महिनादेखि रोगसँग लडिरहेका छन् । परिवारमा जुवेर, बुबाआमा र उनका भाइ रहेका छन् । जुवेरका दुवै मृगौला खराब भएको र जतिसक्दो चाँडो प्रत्यारोपण गर्नुपर्ने सल्लाह डाक्टरले दिएका छन् । पारिवारिक जिम्मेवारी वहन गर्ने जेठा छोराको दुवै मृगौलाले काम गर्न छाडेको थाहा पाउँदा जुवेरका बुबाआमा पनि पीडामा छन् । दाजु र घरको अवस्थाले उनका भाइलाई दाजु बचाउने जिम्मेवारी थपिएको छ ।
“औषधी र चेकजाँचमा अस्पतालले धेरै खर्च लाग्ने जनाएको छ,” जुवेरका बुबाले भने, “बल हुन्जेल मजदुरी गरेको मेरो छोरो जीवनको अन्तिम क्षणमा छ भन्दा आमाबाबुको मन कस्तो होला ।” अलाम परिवार यतिबेला जुवेरको जीवन रक्षाका लागि सबैसँग सहयोग मागिरहेका छन् । जुवेरको मृगौला चाँडै प्रत्यारोपण गर्नुपर्ने र प्रत्यारोपणमा २० लाख रुपैयाँ बढी लाग्ने हस्पिटलले जनाएको छ । उनको उपचारको लागि केही रकम उठेको बताइएको छ ।
सरकारले यातयात मजदुरको जीवन सुरक्षाका लागि कुनै पनि कार्यक्रम नल्याएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर समितिका सचिव धनबहादुर गिरी बताउँछन् । राज्यले ल्याएको सामाजिक सुरक्षा कोषमा समेत यातयात मजदुरलाई समावेश नगराएको गुनासो गिरी गर्छन् । सरकारले मजदुरको जीवन सुरक्षाका लागि योजना बनाउन आवश्यक रहेको उनले बताए ।