कारोबार संवाददाता
मंगलबार, श्रावण १३, २०७७
554

नुवाकोट-जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालू आर्थिक वर्ष २०७७-०७८ का लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ । श्रमिक सङ्गठन, निर्माण व्यवसायी, उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैंकबाट प्रकाशित ज्याला दर सूचांक तथा उपभोक्ता मूल्य सूचांक, हालको बजार मूल्य र श्रमिकहरुको उपलब्धतालाई समेत आधार मानेर श्रमिकको ज्याला दर निर्धारण गरेको जनाएको छ । कामदारको ज्याला निर्धारण गरी नयाँ जिल्ला दररेटको प्रस्ताव गर्न गठित जिल्ला दररेट निर्धारण उपसमितिका संयोजक एवं जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त दररेट निर्धारण गरेको हो ।
सार्वजनिक खरिद नियमनावली, २०६४ को नियम १४८ को उपनियम बमोजिम नुवाकोटका लागि निर्माण सामग्री, ढुवानी, मेसिन तथा कामदारको ज्याला निर्धारण गर्न गठित उपसमितिले पेश गरेको प्रतिवेदन अनुमोदन समेत गरिएको छ । निर्धारण गरिएको दररेट अनुसार दक्ष कामदार अन्र्तगतको व्लाष्टरले प्रतिदिन एक हजार २ सय रुपैयाँ, रक डिलर, हेभी ड्राइभर, वेल्डर, विस्फोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, बज्रकर्मी, चित्रकारी, हेभी जुनियर अपरेटर र कम्युटर अपरेटरलाई एक हजार रुपैयाँ तोकिएको छ ।

अर्ददक्ष कामदाले प्रतिदिन ७ सय ६० रुपैयाँ, अदक्ष कामदारअन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्करलगायतलाई ७ सय ३० रुपैयाँ, मौसम रेकर्डरलाई ५ सय रुपैयाँ, सडकमा काम गर्ने लेन्थ वकरलाई ४ सय ८० रुपैयाँ, निर्माण सुपरभाइजरलाई ५ सय ६० रुपैयाँ, निर्माण सुपरभाइजर प्राविधिकलाई ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै लाइट ड्राइभरलाई ६ सय ६० रुपैयाँ, प्याच वर्करलाई ५ सय ६० रुपैयाँ, लेन्थकवर सुपरभाइजरलाई ६ सय ४० रुपैयाँ र झाडु लगाउनेलाई ५ सय ४० रुपैयाँ ज्याला दर निर्धारण गरिएको छ । श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधी ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।