गोपाल संग्रौला
शुक्रवार, असार २६, २०७७
724

सरकारले श्रम स्वीकृति खुला गरेको एक हप्ताभित्र १ हजार ६५४ ले श्रम स्वीकृति लिए पनि उनीहरू कहिले विदेश जाने भन्ने विषय भने टुंगो लागेन । सरकारले विगत ४ महिनादेखि रोकिएको श्रम स्वीकृति १८ असारबाट खुला गरेपनि हवाई सेवा सुचारु नभएका कारण पुन श्रम स्वीकृति लिएका युवा कहिले विदेश जान्छन् भन्ने यकिन हुन नसकेको हो ।
वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले श्रम स्वीकृतिको काम सुचारु भए पनि श्रमिक विदेश जाने विषयमा जानकारी नभएको बताए । श्रम स्वीकृति लिएपछि विदेश जाने अपेक्षासहित काठमाडौं आएका युवा भने उडान तालिका र गन्तव्य मुलुकसँग सरकारले गर्ने पहलको प्रतिक्षामा रहेका छन । केही समय अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रमस्वीकृति खुला गरेसँगै युवालाई गन्तव्यमा पठाउने सम्बन्धमा पहल गर्ने जनाएको थियो ।

नेपाल सरकारले श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य देशले विदेशी नागरिकको आगमनमा रोक लगाएका कारण नेपालबाट तत्कालै युवा विदेश जाने अवस्था भने छैन । बिहीबार सम्म १ हजार ६ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएपनि जापान बाहेक अन्य देशका युवा भने रोजगारीका लागि फर्कन पाएका छैनन् । पूर्व श्रमस्वीकृति लिनेमध्ये ९० प्रतिशतभन्दा बढी युवा खाडी लगायतका गन्तव्यमा जाने रहेका छन् । श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी यूएई ६५२, कतार १३०, मलेसिया १०७, जापान २४६ र बाँकी अन्य देशमा रहेको वैदेशिक रोजगार विभाग ताहचलले जनाएको छ ।
सरकारले असार १८ बाट बिदामा आएका श्रमिकको लागि पुनः श्रम स्वीकृति खुला गरेपछि शनिबार र आइतबार सो संख्यामा स्वीकृति दिन सुरु गरेका थियो । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले पुनः श्रम स्वीकृति खुला भएसँगै कागजात भएका सबैलाई सोही दिन श्रम स्वीकृति दिएको बताए । प्रदेश स्तरमा ६ र काठमाडौ १ गरी देशभरका ७ कार्यलयबाट दैनिक १ हजार ५०० लाई श्रम स्वीकृति दिन सक्ने क्षमता भएपनि विराटनगरबाट भने हाल श्रम स्वीकृतिको काम हुन सकेको छैन ।
नोबेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखी रोक्का गरेको वैदेशिक रोजगारीको श्रम स्वीकृति १ हप्ता अघि खुला गरेको थियो । यो निर्णयसँगै बिदामा आएर पुनः श्रम स्वीकृति लिन योग्य श्रमिक अब रोजगारीमा पुन जान पाउने छन । पुनः श्रम स्वीकृति लिन आउने सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि व्याक्तिगत दुरी कायम गरी श्रम स्वीकृति दिईरहेको कार्यलयले जनाएको छ । सरकारले पछिल्लो पटक निर्णय गरेर अन्तराष्ट्रिय उडान साउन ७ गतेसम्म बन्द गर्न थप निर्णय गरेको छ । सरकारले श्रम स्वीकृति दिएपनि उडान नियमित नभएसम्म पुनः श्रम स्वीकृति दिएका युवा विदेश जान सहज भने हुने छैन ।

२२ हजार नेपाली स्वदेश फर्किए
लकडाउनका कारण श्रम गन्तव्य तथा अन्य देशमा अलपत्र परी नेपाल फर्कन निवेदन दिएकामध्ये ३ हप्तामा लगभग २२ हजार नेपाली स्वदेश फर्किएका छन् । विदेशस्थित नेपाली नियोगहरूमा लगभग ३० हजारभन्दा बढी नेपालीले स्वदेश फर्कन आवेदन भएको भए पनि आइतबारसम्म लगभग २२ हजार स्वदेश फर्काइएको छ । कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका सो संख्याका नेपाली फर्किएको जनाएको छ ।