गोपाल संग्रौला
सोमवार, असार २२, २०७७
833

प्रदेशबाट अझै  सुरु हुन सकेन श्रम स्वीकृतिको काम

विगत ४ महिनादेखि रोकिएको श्रम स्वीकृति खुला भएसँगै काठमाडौंबाट मात्र लगभग २ सय युवाले स्वीकृति लिएका छन । सरकारले असार १८ बाट बिदामा आएका श्रमिकको लागि पुनः श्रम स्वीकृति खुला गरेपछि शनिबार र आइतबार सो संख्यामा स्वीकृति दिइएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले पुन श्रम स्वीकृति खुला भएसँगै शनिबार ४७ र आइतबार लगभग १५० सेवाग्राहीलाई स्वीकृति दिएको बताए । “सेवाग्राहीलाई धेरैभन्दा धेरै सेवा दिने लक्ष्यसहित दैनिक ५ सयका लागि टोकन वितरण गरिएको छ,” प्रमुख बस्नेतले कारोबारसँग भने, “सार्वजानिक यातायात सञ्चालनमा नआएका कारण टोकन अनुसार सबै सेवाग्राहीले आवेदन दिन सकेका छैनन ।” प्रदेशस्तर ६ र काठमाडौं १ गरी देशभरका ७ कार्यालयबाट दैनिक १ हजार ५०० लाई श्रम स्वीकृति दिन सक्ने क्षमता भए पनि नयाँका श्रमिकका लागि श्रम स्वीकृति खुला नगरेका कारण कार्यलयमा भने भीडभाड छैन ।

नोबेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि रोक्का गरेको वैदेशिक रोजगारीको श्रम स्वीकृति बिहीबारबाट खुला गरेको थियो । यो निर्णयसँगै बिदामा आएर पुनः श्रम स्वीकृति लिनयोग्य श्रमिक अब रोजगारीमा पुनः जान पाउने भने नयाँ श्रम स्वीकृतिको हकमा सरकारले अध्ययन गरेर केही समयपछि खोल्ने भएको छ । पुनः श्रम स्वीकृति लिन आउने सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत दूरी कायम गरी श्रम स्वीकृति दिइरहेको कार्यालयले जनाएको छ ।
श्रम स्वीकृतिको काम काठमाडौंबाट सुरु भए पनि प्रदेशस्तरबाट भने आइतबारसम्म हुन सकेको छैन । आइतबार बिराटनगरबाट श्रम स्वीकृति दिन हजारौं युवा श्रम कार्यालय पुगे पनि कर्मचारी व्यवस्थापन नभएका कारण श्रम स्वीकृति दिने काम हुन सकेन । सो कार्यालयले कर्मचारी नभएको भन्दै निवेदन लिन नमानेपछि टाढा टाढाबाट आएका युवा अलमल परेका थिए । सरकारले बिदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि गन्तव्य मुलुकले हवाइ सेवा सुरु गरेका छैनन् । सरकारले पछिल्लो पटक निर्णय गरेर अन्तर्राष्ट्रिय उडान साउन ७ गतेसम्म बन्द गर्न थप निर्णय गरेको छ । सरकारले श्रम स्वीकृति दिएपनि उडान नियमित नभएसम्म पुन श्रम स्वीकृति दिएका युवा विदेश जान सहज भने हुने छैन ।

२० हजार नेपाली स्वदेश फर्किए
लकडाउनका कारण श्रम गन्तव्य तथा अन्य देशमा अलपत्र परी नेपाल फर्कन निवेदन दिएकामध्ये तीन हप्तामा लगभग २० हजार नेपाली स्वदेश फर्किएका छन् । विदेशस्थित नेपाली नियोगहरूमा करिब ३० हजारभन्दा बढी नेपालीले स्वदेश फर्कन आवेदन भएको भए पनि आइतबारसम्म लगभग २० हजार स्वदेश फर्काइएको छ । कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका सो संख्याका नेपाली फर्किएको जनाएको छ । जेठ २२ गतेदेखि असार २१ गते आइतबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेर फर्किएका २० हजारमध्ये यूएई ३ हजार १ सय, कुवेत ३ हजार ५ जना रहेका छन् ।