कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
737

म्याग्दी-१० वर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका–१० पात्लेखेतका ४० वर्षिय भविन्द्र पाइजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर व्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् ।
विदेश बसेर स्वदेशको महत्व बुझेका पाइजाले ३ वर्ष अघि गाउँ फर्किएर ३५ लाख रुपैयाँ लगानीमा व्यावसायीक बाख्रपालन गरेका छन् । आर्शिवाद कृषि फर्मबाट सञ्चालन गरेको बाख्रा व्यवसाय हालसम्म फर्ममा ७० वटा बाख्रा रहेका छन् । बाउबाजेको पाखो र बाँझो जमिनमा घाँस रोपेर सदुपयोग गरेका छन् । विदेशमा सिकेको सिपलाई प्रयोग गरेर पाइजाले व्यवस्थित रुपमा खोर निर्माण र घाँस खाने टान्नो बनाएर बाख्रा पालन गर्दै आएका छन् ।

उनले गतवर्ष ८० भन्दा बढी खसी बोका बेचेर ८ लाखसम्म आम्दानी गरेको बताए । पाइजाले वार्षिक १०० भन्दा बढी खसी बोका बेचेर १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्षसहित साढे दुई लाख रुपैयाँ लगानी गरेर बोयर बोका गोठमा ल्याएका छन् ।
अघिल्लो वर्ष उनले गत वर्ष ८० भन्दा बढी खसी बोका बेचेको बताए । फर्ममा प्रदेश सरकार अन्तरगत भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले २ लाख ५० हजार रुपैयाँ अनुदान दिएको छ । बिक्रीका लागि बजारको समस्या नभएको नगदे बालीको रुपमा परिचित उनको बाख्रा पालनमा लगडाउनको समयमा गाउँ फर्किएका छोरा, घर परिवारले राम्रो साथ दिएका छन् ।
सडक नजिक रहेको पाइजाको बाख्रापालन व्यवसायसँगै कृषि खेतीमा पनि प्रविधि भित्र्याएर सहज रुपमा खेती र किवीलगायतको फलफूल खेती समेत गरेका छन् ।