गोपाल संग्रौला
शुक्रवार, असार १९, २०७७
1232

बिदामा आएकाहरूका लागि स्वास्थ्य प्रोटोकल र परीक्षण अनिवार्य


कोरोना महामारी (कोभिड–१९) कारण कारण विगत चार महिनादेखि रोकिएको श्रम स्वीकृति आंशिक रूपमा खुला भएको छ । नोबल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि रोक्का गरेको वैदेशिक रोजगारीको श्रम स्वीकृति सरकारले बिहीबारबाट खुला गरेको हो । यो निर्णयसँगै बिदामा आएर पुनः श्रम स्वीकृति लिनयोग्य श्रमिक अब रोजगारीमा पुनः जान पाउने छन् । नयाँ श्रम स्वीकृति लिनेको हकमा भने अहिले नै खुला गरिएको छैन ।

असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदामा नेपाल आएका र करार अवधि बाँकी रहेकाको हकमा कोभिड १९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सो निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार वैदेशिक रोजगार विभागलाई निर्देशन दिँदै यसअघिको करार अवधी समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरू सहित निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल समेतको आधारमा पुनः श्रम स्वीकृति जारी गर्नु पनि पत्र पठाएको छ ।
वैदैशिक रोजगार विभागमा निर्देशक भोलानाथ गुरागाईंले काठमाडौंबाट बिहीबारदेखि र कर्मचारी व्यवस्थापन भए प्रदेश स्तरमा शुक्रबारदेखि श्रम स्वीकृतिको काम सुरु गरिने जानकारी दिए । विभागले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने जनाए पनि नयाँ श्रम स्वीकृति भने अहिले खुला नगरिएको जनाएको छ ।
श्रम स्वीकृतिको काम गर्दै आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले पुनः श्रम स्वीकृति खुला भएसँगै सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत दूरी कायम राखेर सेवा दिने जानकारी दिए । “यस अघि पुन श्रम स्वीकृति खुला गरेका प्रदेशस्तरका ६ वटै श्रम कार्यालयबाट पुन श्रम स्वीकृति लिन सकिने छ,” प्रमुख बस्नेतले भने, “काठमाडौं कार्यालयले भने तयारी पूरा गरी बिहीबारबाट नै श्रम स्वीकृतिको काम सुरु गरेको छ ।” काठमाडौंस्थित ताहचल कार्यालयले स्वास्थ्य प्रोटोकल अनुसार सेवाग्राहीको लाईनलाई व्यवस्थित गर्न २÷२ मिटरको व्याक्तिगत दूरी कायम हुने सीमा कायम गरिएको जनाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएपछि बिदामा आएका हजारौ युवा श्रम गन्तव्य जान पाएका थिएनन् । उक्त निर्देशनपछि विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्दै आएकोमा हाल पुनः श्रम स्वीकृति मात्र सेवा सुचारु छ ।
अन्तर्राष्ट्रिय उडान भने अनिश्चित
सरकारले बिदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि चार्टर बाहेकका नियमित उडान भने बन्द रहेको छ । सरकारले पछिल्लो पटक निर्णय गरेर अन्तरौष्ट्रिय उडान साउन ७ गतेसम्म बन्द गर्न थप निर्णय गरेको छ । सरकारले श्रम स्वीकृति दिए पनि उडान नियमित नभएसम्म पुनः श्रम स्वीकृति लिएका युवा विदेश जान सहज हुने छैन । वैदेशिक रोजगार गन्तव्यबाट फर्कने र जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय उडान खुला गर्न विभिन्न नियोगले अनुरोध गदैै आए पनि नेपालले नियमित उडानको भने अनुमति दिएको छैन । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मासिक औसत २५ देखि ३० हजार युवा पुन? श्रम स्वीकृति लिएर विदेश जाने गरेका छन् । विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिकको तुलनामा पुनः श्रम स्वीकृति अर्थात बिदामा जानेको संख्या बढी रहेको छ ।