गोपाल संग्रौला
बिहिवार, असार १८, २०७७
546

नेपालमा कार्यरत ३६ लाखभन्दा बढी प्राविधिक जनशक्तिमध्ये करिव ११ लाख जनाले मात्र छोटो तथा लामो समयको प्राविधिक तालिम र शिक्षा लिएको पाइएको छ । नेपालमा विभिन्न सरकारी, नीजि तथा अन्तर्राष्ट्रिय विकास साझेदारले डेढ दर्जन कार्यक्रममार्फत् प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिने गरे पनि कार्यरत जनशक्तिमध्ये ७० प्रतिशत तालिमविहीन रहेको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गरी राय सुझाव प्रतिवेदन पेश गर्न एक वर्षअघि गठन गरेको गरेको कार्यदलले हाल कार्यरत प्राविधिक जनशक्तिमध्ये ३० प्रतिशतले मात्र तालिम तथा शिक्षा लिएको निश्र्कष निकालेको थियो । कार्यदलले सात वटा क्षेत्रहरु कृषि र बन, ईञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल मेनेजमेण्ट, यातायात तथा संचार, प्रशोधन उद्योग र विविधलाई निजी तथा व्यावसायिक सेवाहरुमा समूहीकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरेको कार्यदलका सदस्य एवम प्राविधिक शिक्षा एवं तालीम परिषद् (सिटिईभिटी)का निर्देशक प्रमोदभक्त आचार्यले बताए ।
प्राविधिक जनशक्तिको अनुमान तथा प्रक्षेपण
कार्यदलको आकलनअनुसार विभिन्न आर्थिक क्षेत्र-पेशाहरु कृषि, बन, इञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल व्यवस्थापन, यातायात तथा संचार प्रशोधन, उद्योग र विविध निजी तथा व्यावसायिक सेवाहरुमा कूल ३६ लाख ४४ हजार ९८ जनशक्ति कार्यरत छ । जसमध्ये १० लाख ८७ हजार ६०९ अर्थात २९.८५ प्रतिशतले कुनै न कुनै अल्पकालीन तथा दीर्घकालीन तालिम प्राप्त गरेको पाइएको छ । यस्तो जनशक्तिमध्ये आर्थिक वर्ष २०७४-०७५ सम्ममा ६ लाख २६ हजार ८४३ जनशक्तिलाई सिटिईभिटीबाट तालिम प्रदान गरिएको छ । तालिम प्राप्त व्यक्तिहरुमध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा ६७ हजार २६८ जना, प्राविधिक एसएलसी तर्फ २ लाख १६ हजार १०३ जना र सीपपरीक्षण प्रमाणपत्र प्राप्त ३ लाख ४३ हजार ४७२ जना रहेका छन् । यो संख्या बिगत २ वर्षयता केही बढे पनि कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा तालिम तथा शिक्षा लिइरहेका धेरै विद्यार्थीले अन्तिम परीक्षा दिन पाएनन् ।

आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको अवस्था अध्ययन गर्दा कूल कार्यरत जनशक्तिमध्ये चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी ११४.८४ प्रतिशतले तालिम प्राप्त गरेको पाइएको छ । यस तथ्यांकले वर्तमान परिवेशमा चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिभन्दा अधिक संख्यामा तालिम प्राप्त प्राविधिक जनशक्ति उपलब्ध भएको देखिन्छ । तसर्थ आगामी दिनमा यस्ता कार्यक्रम संचालन गर्दा उत्पादित जनशक्तिले रोजगारी पाउने सम्भाव्य क्षेत्रहरु पहिचान गर्नुपर्ने सिटिईभिटीका निर्देक आचार्य बताउँछन् ।
कृषि तथा बन क्षेत्रमा भने तालिम प्राप्त जनशक्तिको हिस्सा न्यून (१६.३८ प्रतिशत) मात्र छ । कृषि तथा वन क्षेत्रको कूल तालिम प्राप्त जनशक्तिमध्ये ४०.५७ प्रतिशतले सिटिईभिटीबाट तालिम प्राप्त गरेको छ । सबै प्रकारले तालिम प्राप्त जनशक्तिमध्ये अन्य गैर कृषि क्षेत्रहरु ः इञ्जिनियरिङ्ग तथा निर्माणमा ९०.७४ प्रतिशत, होटल व्यवस्थापनमा ५४.०४ प्रतिशत, प्रशोधन उद्योगमा ३१.४४ प्रतिशत र विविध तथा व्यावसायिक पेशामा २८.८६ प्रतिशत, सिटिईभिटीको हिस्सा रहेको छ । सबै पेशागत क्षेत्रहरुमा अन्य तालिम प्रदान गर्ने निकायहरु नेपाल सरकारका मन्त्रालय तथा विभागहरु, विश्वविद्यालय, विद्यालय, गैरसरकारी संस्थाहरु संलग्न भई तालिम प्रदान गरेका छन् । समष्टिगत रुपमा कुल तालिम प्राप्त जनशक्तिमध्ये ५७.६३ प्रतिशत सिटिईभिटीबाट र अन्य विभिन्न तालिम प्रदायक निकायहरुबाट ४२.३७ प्रतिशत जनशक्तिलाई तालिम प्रदान गरेको पाइएको छ ।
आधार वर्ष २०७४-०७५ मा आधारित रहेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको प्रमुख ७ वटा क्षेत्रहरुको पहिचान गरी प्राविधिक जनशक्तिको प्रक्षेपण गरिएको छ । जनशक्तिको आवश्यकता (माग) र जनशक्तिको उत्पादन (आपूर्ति) क्षमता समेतलाई आधार मानी बहिर विस्तार विधि र प्रवृत्ति प्रक्षेपण विधिको आधारमा गरिएको प्रक्षेपण अनुसार समग्रमा तालिम प्राप्त जनशक्तिको सरदर वार्षिक बृद्धिदर ६.९९ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसैगरी पेशागत क्षेत्रहरुमध्ये कृषि र वन क्षेत्रमा औषत बार्षिक वृद्धिदर ७.९९ प्रतिशत, इञ्जिनियरिङ्ग तथा निर्माण क्षेत्रमा ८.९५ प्रतिशत, होटल व्यवस्थापनमा ७.९४ प्रतिशत, यातायात तथा संचार क्षेत्रमा ८ प्रतिशत, प्रशोधन उद्योगमा ५.५८ प्रतिशत तथा विविध निजी तथा व्यावसायिक सेवाहरुमा ९.५५ प्रतिशत यातायात तथा संचार क्षेत्रमा भने ८ प्रतिशतको औषत वार्षिक बृद्धिदरले बढ्ने प्रक्षेपण गरिएको छ ।
चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा भने प्राविधिक तथा व्यावसायिक शिक्षाको औषत वार्षिक बृद्धिदर न्यून (२.४२ प्रतिशत) ले मात्र बढ्ने अनुमान प्रक्षेपण गरिएको छ । वर्तमान अवस्थामा यस क्षेत्रमा मध्यम स्तरको जनशक्तिको उत्पादन (तालिम) अधिक रहेको कारण आगामी वर्षहरुमा यस्ता जनशक्तिको खपत (माग) बढ्नु पर्ने देखिन्छ भने हाल कार्यरत जनशक्ति सेवाबाट निवृत्त भएपछि प्रतिस्थापन गर्नको लागि पनि जनशक्तिको उत्पादन-विकासमा निरन्तरता दिनु पर्ने देखिन्छ ।

प्राविधिक शिक्षा देशभर विस्तारको खाँचो
अर्थतन्त्रमा रोजगारी बृद्धिमार्फत् उत्पादन र उत्पादकत्व बढाउनका लागि प्राविधिक सीप र ज्ञान भएका जनशक्तिको आपूर्ति बढाउन सिटिईभिटीबाट प्रदान गरिदैआएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लाई विशेष प्राथमिकता दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु अपरिहार्य भएको छ । त्यसैगरी गुणस्तरयुक्त जनशक्ति उत्पादन गर्न आवश्यक मानवीय र भौतिक पूर्वाधारहरुको सुनिश्चितता गरी प्राविधिक शिक्षा देशभर विस्तार गरिनु पर्ने देखिएको छ ।

प्रमोदभक्त आचार्य

सह–प्रशासक

प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी)

आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको अनुमान तथा प्रक्षेपण के हो ?
आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको अनुमान तथा प्रक्षेपण मूलतः चार तहमा आकलन गरिएको छ । यसबाट समग्र रुपमा, आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको वर्तमान अवस्थाको अनुमान गरिएको छ । नेपाल श्रमशक्ति सर्वेक्षणको सूक्ष्म तथ्यांकलाई प्रयोग गरी आव २०७४-०७५ मा कुल जनशक्तिको विस्तृत आकलन गरी सातवटा समूहमा समूहीकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरिएको छ । पेशागत वर्गिकरणअनुसार तयार गरिएको जनशक्तिमध्ये क्षेत्रगत आधारमा कुन क्षेत्रमा कति जनशक्तिले तालिम प्राप्त गरेका छन् भन्ने अनुमान पनि नेपाल श्रम शक्ति सर्वेक्षणको सूक्ष्म तथ्यांक प्रशोधन गरी आकलन गरिएको छ ।

यो आकलन कसरी तयार गरिएको हो ?
यसरी आकलन गरिएको तालिम प्राप्त जनशक्तिमध्ये कति जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) बाट उत्तीर्ण भएका हुन् भन्नेबारेमा परिषद्मा भएका तथ्यांक र प्रशासनिक अभिलेखहरु अध्ययन गरी तयार पारिएको हो ।


यो आकलनले मुख्य रुपमा के देखाएको छ ?
पेशागत क्षेत्रअनुसार तालिमको आवश्यकता फरकफरक रहेको पाइएको छ । सबै क्षेत्रहरुमा तालिमको आवश्यकता र सिटिईभिटीले दिन सक्ने तालिमको अनुपात र क्षमताको आधारमा आगामी १० वर्ष (२०७४-७५ देखि २०८४-८५ सम्म)को प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम को जनशक्तिको प्रक्षेपित अनुमान गरिएको छ । जस अन्तर्गत ‘जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना २०७६’ मा प्रयोग गरिएको मान्यता र प्रमुख रुपमा बहिर विस्तार र प्रवृत्ति प्रक्षेपण विधिको प्रयोग गरिएको छ ।


यो अध्ययनपछि कस्ता सुझाब दिइएको छ ?
सरकारले प्राविधिक शिक्षाका क्षेत्रमा सम्भावित रोजगारीका नयाँ क्षेत्र पहिचान गदै त्यसका आधारमा सिटिईभिटीलाई साधनसम्पन्न गराई तालिमको व्यवस्था गर्नुपर्छ । नेपालका खनिज, रेलमार्ग, हाईड्रोपावर, सुरुङ निर्माण लगायतका क्षेत्रमा भविष्यमा आवश्यक पर्ने जनशक्तिको लागि तालिम दिने गरी तयारी गर्नुपर्छ ।


कोरना संक्रमणको असर प्राविधिक शिक्षामा

कोरोनाको महामारीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका कार्यक्रमहरुको पठनपाठन ठप्प भएको अवस्थामा हाल उपलब्ध प्रविधि प्रयोग गरी सम्भावना भए जति वैकल्पिक उपाय लगाएर अध्यापन र परीक्षा सम्पन्न गर्नुपर्ने सुझाब विज्ञ एवं सरोकारवालाहरुले दिएका छन् ।लकडाउनका कारण शिक्षा लगायत सम्पूर्ण क्षेत्रमा असर परेपछि सिटिइभिटीले भर्चुअल शिक्षणसिकाइका साथै अरु विभिन्न विकल्पहरुका बारेमा अध्ययन शुरु गरेको छ । प्राविधिक शिक्षाविज्ञ प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीले प्राविधिक शिक्षाले सूचना प्रविधि प्रयोग गरी शिक्षण पद्धतिलाई लागू गर्नुपर्ने बताए । कोरोना महामारीको असरसँगै प्रविधिमा रुपान्तरण हुने राम्रो अवसर आएको जनाउँदै शिक्षण् सिकाइका लागि प्रविधिको नवीन प्रयोग गर्नुपर्ने डा. अधिकारीको सुझाव छ । यसैगरी शिक्षामा सूचना विज्ञ डा. शेषकान्त पंगेनी विद्यार्थीसँग पहुँचै छैन भनेर चूप लागेर बस्न नहुने बताउँछन । सिटिइभिटीअन्तर्गत ४८ वटा शिक्षालयमा सक्षमता परियोजनामार्फत् अनलाइन पठन अभ्यास शुरु भइसकेको छ । यसका लागि व्यँवहारिक तालिमको व्यवस्थापन गर्न केही कठिनाई भने हुनेछ । महामारीका कारण भदौको वार्षिक परीक्षा पछि सार्नुपर्ने अवस्था आएको सिटिइभिटीको भनाई छ । करिव ३३ हजार विद्यार्थी २०७७ चैत र वैशाखमा हुनुपर्ने परीक्षाबाट बञ्चित भएका छन् ।

सिटिइभिटिअन्तर्गत २०७६ फागुन २२ देखि चलेको सेमेष्टरको परीक्षा २०७७ चैत १४ सम्मका लागि निर्धारित भए पनि लकडाउनका कारण पूरा हुन सकेन । स्थगित सो परीक्षामा १७ हजार ४५४ जना विद्यार्थी प्रभावित भएका छन् । त्यस्तै, कोरोना महामारीमा लकडाउन गरिएका कारण टिएसएलसी विशेष छात्रवृत्तिका लागि लिइने जाँच र मौका परीक्षा स्थगित भएका छन् भने करिव ९२ हजार विद्यार्थी पढाइबाट बञ्चित छन् ।