कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
473

सुर्खेत-कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्थिक वर्षको अन्त्यमा ठूलो रकम अख्तियारी गएको भन्दै प्रदेशसभाअन्तर्गतको लेखा समितिले चासो दिएको छ । आर्थिक वर्षको अन्त्यमा रकम निकासा भएको भन्दै यसको पारदर्शीताबारे लेखा समितिले सरकारसँग जवाफ मागेको हो ।
समितिको सोमबार बसेको बैठकले मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको हिसाब किताबको पूर्णविवरण तीन दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन दिएको छ । उक्त कार्यक्रमका लागि कहाँ कति बजेट अख्तियारी दिइएको हो सो को विवरण दिन निर्देशन गरिएको समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले बताए । उनले झण्डै ४० करोड रूपैयाँ गाउँमा गएको सुनिएको भन्दै आर्थिक वर्षको अन्त्यमा ठूला भौतिक संरचना निर्माण गर्न सम्भव नभएको जिकिर गरे ।

यस्तो बेला ठूलो रकम अख्तियारी दिँदा बजेट सदुपयोग हुनेमा शंका उब्जिएको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले मुख्यमन्त्री रोजगार कार्यक्रमको पूर्णविवरणसहितको जवाफ पठाउन सरकारलाई निर्देशन गरिएको बताए । मुख्यमन्त्री कार्यालयले आर्थिक वर्षको अन्त्यतिर मुख्यमन्त्रीको नाम जोडिएका दुईवटा कार्यक्रमको ४० करोड रूपैयाँ स्थानीय तहमा निकासा गरेको छ ।
असार ९ र १० गते मुख्यमन्त्री रोजगार कार्यक्रमको ३० करोड र मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रम’ को १० करोड रूपैयाँ स्थानीय तहलाई बाँडफाँट गर्दै निकासा गरेको हो ।