दीपेन्द्र थापा
मंगलबार, असार १६, २०७७
659

कोभिड–१९को चपेटामा सांगीतिक क्षेत्र

कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै टेलिभिजन र युट्युबमा गीत संगीत हेर्नेको संख्या बढे पनि संगीतसम्बन्धी वाह्य गतिविधि भने ठप्प छन् । कतिपय गीतकार तथा संगीतकारले गरेका सिर्जनासमेत समयमै रेकर्ड हुन नसक्दा सांगीतिक बजारमा निराशा छाएको छ । सांगीतिक पर्व मानिएको तीजलक्षित केही गीत हालै बजारमा आए पनि समग्रमा यस क्षेत्रमा आश्रित जनशक्तिको अवस्था भने दयनीय रहेको सरोकारवाला बताउँछन् ।
“हिजोआज सांगीतिक क्षेत्रका काम ठप्प छन् । बलिउडको मुम्बइबाट नेपालमा फिल्म बनाउनको लागि एक समूह आउँदै थियो र त्यसको संगीतसम्बन्धी काम मैले नै गर्दै थिएँ, तर कोभिड–१९ का कारण त्यो हुने कि नहुने भन्ने अन्योल छ,” संगीत संयोजक राजन इशान भन्छन्, “लकडाउनअघि दिनकै काम गरिदिनुप-यो भनेर गायकगायिका आउँथे जान्थे । तर आजकाल त्यो प्रायः सबै ठूला काम बन्द भएको छ ।” कोरोना त्रासका कारण मेला महोत्सव र सांगीतिक गतिविधि बन्द हुँदा यो क्षेत्रसँग जोडिएर जीविकोपार्जन गर्न वर्गलाई मार परेको छ ।

संगीत संयोजक इशानलाई प्रत्येक महिना कम्तिमा २५-३० वटासम्म संयोजनको काम आउँथ्यो । त्यसमध्ये छानेर उनी ८-१० वटा काम गर्थे । गीतबाहेक चलचित्र, विज्ञापन तथा अन्य काम हुन्थ्यो । तर, अहिले उनीसँग केही काम छ भने कोरोना अगाडिको समयको बाँकीमात्र छ । नयाँ काम आएको छैन । कहिलेसम्म काम नआउने हो थाहा छैन । अन्योलमै बितिरहेछ उनका दिन । इशान भन्छन्, “सबैलाई कठिन छ । रमाउने, सुन्ने, मनोरञ्जन लिने अवस्था नभएसम्म काम पाउन र संगीतिक क्षेत्र लयमा फिर्ता हुन निकै कठिन छ, ।”
कोभिड–१९का कारण हाल देशभर रहेका लोक तथा दोहोरी साँझ, सांगीतिक सभा समारोह बन्द छन् । लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार नेपालमा करिब २ सय दोहोरी साँझ छन् । प्रतिदोहोरी साँझ कलाकार, वाद्यवादक तथा प्राविधिक गरेर १५–२० जनामात्र कार्यरत रहेका छन् । “लकडाउनका कारण अहिले सबै बेरोजगार बनेका कारण प्रतिष्ठानले आफ्नै स्रोत तथा अरुले प्रदान गरेको सहयोगले राहत बाँड्दै ज्यान जोगाउने काम गरिरहेको छ,” अध्यक्ष बिजी भन्छन्, “पछिल्लो समय घरभाडा तिर्न नसक्ने अवस्था आएपछि साथीहरूमा मानसिक तथा आर्थिक समस्या थपिएको छ, यो थपिँदो मात्रमा छ ।”
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा वाद्यवादन तथा संगीत संयोजनका रुपमा काम गरिरहेका जुजु गुरुङलाई अहिलेको जस्तो अवस्था कहिल्यै पनि झेल्नु परेको थाहा थिएन र भोग्नु पनि परेको थिएन । यति लामो समय खाली हात बस्नु परेको यो पहिलो अनुभव भएको उनी बताउँछन् ।
“साथीहरूलाई कोठाभाडा तिर्न र दुई छाक खाना खान पनि मुश्किल अवस्था छ । अधिकांश साथीहरू घर फर्किसक्नुभयो,” वाध्यबादक गुरुङ भन्छन्, “काम ठप्प छ, काम नपाएपछि सबै विस्थापित हुनु परेको छ । ‘गाउँ फर्क अभियान’ चलाए जस्तो भएको छ । अब तत्काल यो पेशामा बसेर जीविका चलाउन सक्ने सम्भावना छैन ।”
दोहोरी साँझमा काम गर्नेहरूको झन् धेरै कठिन अवस्थाको सामना गर्नु परेको उनी बताउँछन् । ८-१० जना भेला भएर गर्ने काम गर्न सम्भव नभएको भन्दै दोहोरी साँझ बन्द हुँदा सयौं गायकगायिका तथा वाद्यवादकहरू घर फर्किएको गुरुङको भनाइ छ । संगीतकार संघका अध्यक्ष शान्तिराम राई कोरोना संक्रमणको जोखिमका कारण सांगीतिक कार्यक्रम तथा रेकर्डिङका सम्पूर्ण काम करिब ठप्प भएको भन्दै यस क्षेत्रमा काम गर्ने ठूलो समूहले सोच्नुपर्ने अवस्था आएको बताउँछन् ।
अध्यक्ष राईका अनुसार गायन, संगीत, लेखन, वाद्यवाधन, तथा रेकर्डिङ, म्युजिक कम्पनी, ब्यान्ड, नाइट क्लब र रेस्टुराँमा गाउने पेसा व्यवसायमा रहेका करिब ५ हजार सांगीतिक क्षेत्रमा आबद्ध छन् । यसको करिब ८० प्रतिशत एकडेढ वर्षका लागि विस्थापित हुने उनको भनाइ छ ।
लकडाउन सकिएपछि पनि सांगीतिक कार्यक्रम प्रायः भीडभाडमा हुने भएकाले तत्काल सम्भव नरहेको भन्दै मेलामहोत्सव तथा सांगीतिक कार्यक्रम नभएपछि रेकर्डिङ पनि कम हुने र रेकर्डिङ नभएपछि स्टुडियो, वाद्यवादन तथा म्युजिक कम्पनीमा काम गर्ने ठूलो समुदायले रोजगारी गुमाउने राई बताउँछन् ।
“हामी अधिकांश गाउँबाट आएका छौं । अहिले पनि गाउँमा हाम्रो घर छ । गाउँमा घर हुनेको खेतबारी छ । अहिले सरकारले कृषिलाई प्राथमिकता दिने भनेको छ, त्यसैले अब गीतसंगीतको विकल्प कृषि कर्मलाई बनाउनु पर्ने देखिन्छ,” अध्यक्ष राई भन्छन् ।
नेपालमा हाल गीतकार ९ सय र संगीतकार ११ सय छन् । यसमध्ये करिब साढे तीन सय गीतकार र सोही हाराहारीमा संगीतकार सक्रिय छन् । राईका अनुसार संगीतकार संघको सदस्यता लिने संगीतकारको संख्या ३२१ छ ।
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय विदेशमा रहेका गीतकार तथा संगीतकारले धेरै लगानी गर्ने गरेका छन् । तर कोरोनाका कारण विदेशमा रहेका नेपालीले नै रोजगार गुमाएको अवस्थामा त्यताबाट आउने लगानीको परिमाणमा गिरावट आउने छ ।
गायक हेमन्त शर्मा पछिल्लो दशक नेपाली संगीत ‘स्टेज पफर्मेन्स’ले टिकेकोे भन्दै कोरोनाको वर्तमान कहरका कारण सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने समयसम्म नेपाली गीतसंगीतमा क्रियाशील जनशक्तिका लागि सहज नरहेको बताउँछन् ।
“अन्य जुनसुकै पेशाकर्मीले भौतिक दूरीमै पनि सामान्य जीवनयापन गर्न सक्नेसम्मको आम्दानी गर्नसक्ने अवस्था देखिन्छ । तर, संगीतकर्मीहरू गायक, रचनाकार, संगीतकार, वाद्यवादक, निर्माता, वितरक, स्टुडियो कर्मचारी तथा यसमा आश्रित मोडल, टेक्निसियन, दोहोरी, गजल, रेष्टुरेन्ट, पब, क्लब दोहोरी साँझको अवस्था निकै दयनीय हुँदै गएको छ,” गायक शर्मा भन्छन्, “छिमेकी राष्ट्रमा झैं कयौं अप्रिय घटनाहरूले फलोअप गर्ने स्थिति यता पनि नआउला भन्न सकिँदैन ।”
कला क्षेत्रमा रहेका व्यक्तिलाई पनि ससम्मान कुनै पेशा वा व्यावसायका लागि सहुलियतमा कर्जा मागे सरकार तथा निजी बैंकिङ तथा वित्तिय संस्थाहरूले उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । कोरोना विरुद्धको खोप ननिस्किदासम्म वैकल्पिक पेशा अपनाउन चाहने संगीतकर्मी तथा चलचित्रकर्मीहरूलाई वैकल्पिक पेशा कृषि वा अन्यमा सके निब्र्याजी अथवा न्यून ब्याजमा कर्जा प्रदान गर्नुपर्ने उनी बताउँछन् । कलाकारलाई कर्जा नदिने गरेकोतर्फ संकेत गर्दै उनले भने, “तिमीहरूको पनि सरकार हो है भन्ने भावना जगाइदिन मिल्दैन होला र ?”
लोकदोहोरी गायक बद्री पङ्गेनी मेलामहोत्सव तथा सांगीतिक कार्यक्रमहरूबाट गायकगायिकाले गर्ने कमाई कोरोनाका कारण शून्य भएको बताउँछन् । सामान्यतः लोकदोहोरी गायकगायिकाले स्टेजबाट १५ हजारदेखि ८० हजारसम्म लिने गरेको उनको भनाइ छ । “कसको पारिश्रमिक कति हुन्छ भनेर त नभनौं तर प्रति स्टेज १० हजार देखि ८० हजारसम्म लिने गायकगायिका पनि हुनुहुन्छ,” पङ्गेनी भन्छन्, “कोरोनाका कारण कलाकारको यो स्रोत बन्द भयो ।” उनका अनुसार दोहोरी साँझमा काम गर्ने कलाकारले १० हजार देखि ३० हजारसम्म लिँदै आएका छन् । लकडाउनका कारण अहिले देशभरका दोहोरी साँझ बन्द छन् । दोहोरी साँझ बन्द हुँदा त्यहाँ कार्यरत सयौं कलाकार बेरोजगार भएका छन् ।
पछिल्लो दशक सांगीतिक क्षेत्र स्टेज कार्यक्रमले धानेको क्षेत्र हो । दर्शक तथा स्रोतामाझ लोकप्रिय गायकगायिकाले सिजनमा महिनामा ८–१२ वटासम्म स्टेजमा गाउँछन् गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा बताउँछन् । सिजनमा तीनचार महिना काम गर्दा भर्षभरि घर चल्ने गरेको सम्झिँदै बाँस्कोटा भन्छन्, “कमाई कति हुन्थ्यो भन्दा पनि तीन महिना वा सिजनमा काम गर्दा वर्षभरीको घर चल्थ्यो ।”
चार महिना भदौ, असोज, पुस, माघ र फागुन कलाकारका लागि सिजन हो । यी महिनामा सबैभन्दा धेरै मेलामहोत्सव र सांगीतिक कार्यक्रम हुन्छन्, हुन्थे । सामान्यतया १० वटा स्टेज कार्यक्रम राख्दा सिजनमा लोकप्रिय गायक गायिकाले ४० वटा स्टेज कार्यक्रम पाउँछन् । यसरी एक जनाले कम्तीमा चार लाखदेखि ३२ लाखसम्म रुपैयाँ वार्षिक कमाइ गर्दै आएका थिए ।
तर, कोरोनाका कारण यो आम्दानी पूूर्ण रुपमा बन्द भएको गायिका मीना निरौला पोखरेल बताउँछिन् । उनले भनिन्, “हामी स्टेजलाई नै मुख्य स्रोत बनाएका कलाकारलाई मुख्य आम्दानी नै गुमाउनु परेपछि समस्या देखिन थालिसकेको छ ।”
स्टेज पर्फमेन्सहित सामान्य अवस्थामा कलाकारहरूले स्टेजबाहेक कलेक्सन एल्बम तथा चलचित्रका गीतमा काम गरेर पनि आम्दानी गरिरहेका हुन्छन् । ५६ जिल्लामा संगठित प्रतिष्ठानमा ३० हजार सदस्य छन् । नेपालमा करिब ५ हजार सांगीतिक क्षेत्रमा सक्रिय छन् । यसमा प्रतिव्यक्ति आश्रितको संख्या औषतमा ५ जना रहँदा २५ हजार व्यक्ति प्रभावित भएका छन् । अव सबैले विकल्पको रुपमा अन्य पेशा व्यवसाय अपनाउनु पर्ने अवस्था आएको छ । कहिले सम्म र कुन तीथि मिति सम्म कोरोना–१९को प्रभाव रहने अवस्था अन्योल छ । अन्यौलसँगै रोजीरोटीको आम्दानीको स्रोत सांगीतिक क्षेत्र पनि कहिले लयमा फर्किने हो त्यो पनि अन्योल कायमै रहेको यस क्षेत्रका जानकार बताउछन् ।