सागर परियार
सोमवार, असार १५, २०७७
593

जुम्ला-कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले एकातर्फ सन्त्रास फैलाएको छ भने अर्कोतर्फ स्वयम आफैं आत्मनिर्भर हुनुपर्ने पाठ सिकाएको छ । नुनदेखि सुनसम्म आयातमै निर्भर हुने नेपाल जस्तो देशमा लकडाउन र कोरोना भाइरस संक्रमणको असर तुलनात्मक रुपमा बढी नै परेको छ । भारतबाट हरेक कुरा आयात नहुँदासम्म चुलो नबल्ने नेपालमा लकडाउनका कारण सीमा नाका बन्द भएपछि कोरोनासँगै खाद्य संकटको चुनौती थपिएको छ ।
कोरोना संक्रमण क्रमिक रुपमा बढ्दै जान थालेपछि अन्तरजिल्ला आवागमनमा पनि रोक लगाइएको छ । एक जिल्लाको खाद्य सामग्री, तरकारी फलफूल अर्को जिल्लामा लिन समेत प्रतिबन्ध लगाइएको छ । यसले गर्दा जुम्लामा मात्रै नभइ विभिन्न ग्रामिण जिल्लाहरुमा समस्या परेको छ ।

तातोपानी गाउँपालिका २ का महेश डाँगी ३ वर्ष मलेसिया बसेर कोरोना फैलिनु केहि महिना अघि मात्र नेपाल फर्किएका हुन् । दिनको १८ घण्टा मलेसियामा काम गरेका महेशले १२ घण्टा मात्रै स्वदेशमा खटिए रोजगारीका लागि भौतारिनु नपर्ने सोचेका थिए । उनी अहिले व्यावसायीक तरकारी खेतीमा जुटेका छन् ।
साथै तातोपानी २ कै रमेश डाँगी पनि ४ वर्ष कतार बसेर फर्किएका हुन् । त्यसपछि उनी घर छोडेर बाहिर गएका छैनन् ।
त्यस्तै तातोपानी २ कै भैर बुढा ३ वर्ष मलेसिया काम गरेर घर फर्किएका हुन् । उनलाई पनि विदेशमा गर्ने दुख गाउँमै गर्दा आम्दानी पनि हुने, सुरक्षित पनि भइने, उपभोक्ताले सेवा पनि पाउने सोच आउन्थ्यो । साझा लगानी गर्ने युवा नभेटिएकै कारण रोकिएका भैर अहिले व्यावसायीक तरकारी खेतीमा छन् ।
हालको अवस्थामा घर फर्किएका युवालाई रोजगारी दिनु र कोरोनाको सामना गर्नु तीनै तहको सरकारलाई चुनौती छ । “स्थानीय सरकारले व्यावसायीक कृषि, रोजगारी सृजनाको बहस गरिरहँदा हामीले बन्दाबन्दीका बीच आफ्नै लगानीमा व्यवसायीक तरकारी खेती गरेका छौं ।” युवा महेश डाँगीले भने, “घर फर्किएका युवालाई रोजगारी सृजना पनि हुने र स्थानीय बजारमा सस्तोमा तरकारी पनि आपूर्ति गर्ने हुन्छ भने, केहि समयपछि १५ जनालाई रोजगारी दिने लक्ष्य छ ।”
स्वदेशमै मेहनत गरी कोरोना जस्तै हरेक महामारीमा कर्णाली भरीनै जुम्लाबाट अर्गानिक तरकारी निर्यात गर्ने लक्ष्य ती युवाको छ ।
जुम्लामै नमुनाका रुपमा सुरु गरिएको व्यवसायी तरकारी खेतीका लागि पाँच जना युवाले हालसम्म १२ लाख ५० हजार लगानी गरेका छन् । प्रतिव्यक्ति २ लाख ५० हजारका दरले लगानी गरेका युवाले बिउ खरिद, फर्मको घेराबार, किटनासक विषादी, कामदार खर्च लगायत अन्य गरी हालसम्म साढे १२ लाख लगानी भएको सञ्चालकहरुले बताए ।
स्थानीय सरकारले व्यावसायीक कृषिका बहस मात्रै गर्नु भन्दा व्यवसायी रुपमा कृषिमा जुटेका युवालाई अनुदानको व्यवस्था गनुर्् पर्ने यूवाहरुको माग छ । वर्षमा करिब २० देखि २्र५ लाख आम्दानी गर्ने लक्ष्य अनुसार तरकारी खेतीलाई बढाएका छन् । हाल लगानी गरिएको १२ लाख भन्दा आवश्यकता अनुसार लगानी बढ्ने सक्ने युवा डाँगीको भनाई छ ।
तातोपानी गाउँपालिकाले आगामी आव २०७७-०७८ का लागि कृषिमा मात्रै १ करोड बजेट विनियोजन गरेको छ । कोरोना भाइरसले सृर्जित विषम् परिस्थितिलाई मध्यनजर गर्दै कृषिलाई मुख्य प्रथामिकता दिँदै १ करोड रुपैयाँ विनियोजन गरिएको अध्यक्ष नवराज न्यौपानेले बताए ।
व्यावसायीक रुपमा कृषिमा जुटेका युवालाई ५० प्रतिशत अनुदान दिने, कृषिमा यान्त्रीकरण गर्ने नीति लिएको अध्यक्ष न्यौपानेको भनाई छ । तातोपानी गाउँपालिकाले बाँझो राख्न नपाइने नीतिलाई समेत विशेष प्रथामिकतामा रोखेको छ ।