गोपाल संग्रौला
सोमवार, असार १५, २०७७
670

लकडाउनका कारण श्रम गन्तव्य तथा अन्य देशमा अलपत्र परी नेपाल फर्कन निवेदन दिएका मध्ये २ हप्तामा साढे ११ हजार नेपाली स्वदेश फर्किएका छन् । विदेशस्थित नेपाली नियोगहरूमा लगभग ३० हजारभन्दा बढी नेपालीले स्वदेश फर्कन आवेदन भएको भए पनि शनिबारसम्म ११ हजार ५ सय ८५ नेपाली स्वदेश फर्काइएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) ले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका सो संख्याका नेपाली फर्किएको जनाएको छ ।
जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेर फर्किएका ११ हजार ५ सय ८५ नेपालीमध्ये सबैभन्दा बढी यूएई २ हजार १७, दोस्रोमा कुवेत २ हजार २ जना रहेका छन् । यसरी नेपाल फर्कनेमध्ये सबैभन्दा बढी बागमती प्रदेशका ४ हजार २८५ र सबैभन्दा कम कर्णाली प्रदेशका २३१ जना रहेका छन् । यही अवधिमा विदेशमा मृत्यु भएकामध्ये ६५ नेपालीको शवसमेत ल्याइएको सीसीएमसीले जनाएको छ ।

सरकारले स्वदेश फर्काइएकालाई राख्न राजधानीका विभिन्न स्थानमा क्वारेन्टिनको व्यवस्था गरेको छ । स्वदेश फर्किएकामध्ये हालसम्म ७ हजार ४८१ सम्बन्धित प्रदेश फर्किसकेका छन् भने ७१९ जना विभिन्न होटल क्वारेन्टिनमा रहेका छन् । यसैगरी १ हजार ७०९ होम क्वारेन्टिन, १ हजार ६३८ लोकल क्यारेन्टिन र अस्पतालमा उपचार गरिरहेका २८ जना रहेका छन् ।
महँगो पैसा तिर्न बाध्य परेर भए पनि सरकारले विदेशमा अलपत्र नेपालीको उद्धारलाई तीव्रता दिएको छ । जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट नेपाली स्वदेश फर्किएकामध्ये ८ हजारभन्दा बढी प्रमुख श्रम गन्तव्यबाट आएका छन् भने बाँकी अध्ययन गन्तव्यबाट फर्किएका छन् । शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै यूएई २ हजार १७ जना, साउदी अरेबिया १ हजार २१८, मलेसियाबाट ९२१, बगंलादेश ८१५, कतार ६३८, माल्दिभ्स, ६०४, जापान ४९२ जनारहेका छन् । यसैगरी अस्ट्रेलिया २६९, बहराइन ४२०, थाइल्याण्डबाट ३२६, ओमान ३१३, अमेरिका ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमार २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक देवेन्द्र केसीले चार्टर उडान नियमित आइरहेको बताए । कार्यालयका अनुसार आइतबार विदेशबाट आउने उडान भने केही कम रहेको छ ।
८७ शव ल्याइयो
विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । सीसीएमसीले भने शनिबारसम्म ६५ शव नेपाल ल्याइएको जनाएको छ । एनआरएनएका अनुसार हालसम्म कतारबाट २० वटा, साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ । तर, १२० वटा शव अझै विदेशमै रहेका छन् ।