गोपाल संग्रौला
आइतवार, जेठ २५, २०७७
999

विदेशबाट नेपालीको उद्धार सुरु


साउदी अरब, कतार र मलेसियास्थित नेपाली दूतावासमा शनिबारसम्म स्वदेश फर्कने ३० हजार बढी नेपालीले स्वदेश फर्कन निवेदन दिएका छन् । साउदी अरब, कतार र मलेसियास्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार प्राथमिकतामा परेकाबाहेक हजारौं श्रमिक रोजगारदाताले दिएको हवाई टिकट लिएर उडानको पखाईमा रहेको बताएका छन् । शुक्रबार एक अन्तत्र्रिmयामा साउदी अरबका राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत, कतारका डा। नारदनाथ भारद्वाज र मलेसियाका उदयराज पाण्डेले सरकारले यसरी नेपाल फर्कनेको व्यवस्थापन अझ जटिल रहेको बताएका हुन् ।

तीनवटै श्रम गन्तव्यका नेपाली राजदूतहरूले दिएको जानकारी अनुसार प्राथमिकतामा परेका बाहेक हजारौले श्रमिक रोजगारदाताले दिएको हवाई टिकट लिएर उडान सुचारु गर्न अनुरोध गरिरहेकोे बताए । साउदी अरबका राजदूत राजपुतले १५ वटा प्राथमिकता अनुसार दूतावासका २ वटा टेलिफोनमा २७ अप्रिलदेखि ४ जुनसम्म १० हजार बढीले नेपाल फर्काउन अनुरोध गरेको तथ्यांक दिए । “हालसम्म १० हजार लिष्ट तयार भएको र सो डाटालाई प्राथमिकतामा राख्ने काम भइरहेको छ,” राजदूत राजपुतले भने, “दैनिक हुने उडानको सिट संख्याको आधारमा संख्या निर्धारण गरिने भएकाले नेपालबाट १० दिन पहिले नै उडानको निर्णय दिनुपर्छ ।” नेपाल फर्कन चाहानेको संख्या र सम्बन्धित देशमा गनु पर्ने प्रक्रियाका लागि समय चाहिएको राजदूतले बताएका छन । हाल साउदी दूतावासले १ हजार ५ सय नेपालीलाई आवास व्यवस्था सहित सेल्टर दिएको छ ।
राजदूत पाण्डेले मलेसियाबाट ६ हजार ३ सय ४३ जनाले घर फर्किनुपर्ने कारणसहित निवेदन दिएको बताए । यसमध्ये प्राथमिकता सूचीकृत गर्भवती र बिरामी २०१, करार सकिएको ३ हजार ६००, रोजगारी गुमेको १ हजार ३६, आफैँ घर जान चाहने ९२२, घर बिदा १०५ रहेको जानकारी दिए । मलेसियामा आफौ खर्च वा रोजगारदाताको टिकटमा फर्कने नेपाली धेरै भएका कारण व्यवसायिक उडान खुला गरिदिन राजदूत पाण्डेको अनुरोध छ । रोजगारदाताले स्वदेश फर्कन टिकट दिएका नेपाली युवालाई दूतासको अनुरोधमा रोजगारदाताबाट खाने बस्नेको व्यवस्था गरीएको मलेसिया स्थित नेपाल िदूतावासले जनाएको छ । यसरी फर्कने नेपालीको संख्या २२६ रहेको छ ।
कतारका राजदूत भारद्वाजले ७ हजार तत्काल नेपाल फर्कन तयार रहेकोमा गर्भवती महिला, घाइते संख्या पनि धेरै रहेको बताए । “गर्भवतीहरू, रोजगारदता परिवर्तन गरेका महिला, अवैध भएका कामदार, भिसा सकिएर घर जान तयार मान्छेहरू, कार्यस्थलमा दुर्घटनामा परेका कामदारहरू, पक्षघात भएका र सेमी प्यारालाइज्ड भएका बिरामी, विद्यार्थी समेत ७ हजार नेपालीहरू स्वदेश फर्किने अवस्थामा छन्,” राजदूत भारद्वाजले भने । उनीहरूलाई कसरी फर्काउने भनेर सरकारसँग सम्वाद भइरहेको छ । “सरकारले चार्टर फ्लाइटबाट लैजाने भनेको भए पनि लकडाउन भएपछि समस्यामा परेका धेरै नेपालीले हवाईं टिकट लिएका पनि धेरै छन् ।” कम्पनीले टिकट काट्ने अवस्था भएकालाई कम्पनीले नै सुविधा दिएका कारण उनीहरुको टिकट पुनः फिर्ता गरेर नयाँ टिकट लिने कुरा निकै जटिल भएको कतार दूतावासको भनाई छ । “यो चार्टर्ड फ्लाइट महंगो हुन्छ, किन हामी महंगोमा कामदार पठाउने भन्ने रोजगारदाता पनि छन्,” राजदूत भारद्वाजले भने, “श्रमिक नियमित फ्लाइट नै कुरिरहेका कारण तत्कालै घर जाने अवस्थामा छन् ।” रोजगारदाताले महंगो चार्टर्ड फ्लाइटको खर्च बेहोर्ने अवस्था नभएको हुँदा नियमित फ्लाइटलाई यथावत आउन दिने वा ट्रान्जिट प्यासेन्जरका रुपमा नेपालीलाई नेपालसम्म कसैले लगिदिने अवस्था गनु पर्ने देखिएको छ ।
राजदूत राजपुतका अनुसार साउदी अरबमा ३ लाख २५ हजार नेपाली कामदार रहेकोमा लगभग १५ हजार श्रमिक अवैध रहेका छन । सााउदी अरबमा अधिकाक्ष अदक्ष रहेका कारण तथ्यांकलाई प्रशोधन गरेर प्राथमिकता निर्धारण गर्नु चुनौतीपूर्ण रहेको छ । सरकारले स्वदेश फिर्तिका लागि दिएका १५ वटा प्राथमिकता दिएअनुसार अहिले साउदी दूतावासले तथ्यांक लिइरहेका छ । उड्नुअघि कामदारको स्वास्थ्य परीक्षण गरेर ‘फिट टू फ्लाइ’ प्रमाणित गर्नु पर्ने भएका कारण त्यसका लागि कहाँ, कसरी, कसको खर्चमा कस्तो परीक्षण गराउने भन्ने पनि प्रष्ट निर्देशन हुनुपर्छ । नेपाल ल्याउनेलाई आरडीटी र पीसीआर लगायतका परीक्षण गर्ने सुविधा दिन समस्या हुने सबै नियोगको भनाई छ ।

विदेशबाट उद्धार शुरु
सरकारले शुक्रबार जापान, यूएई र म्यानमारबाट २०० भन्दा बढी नेपाली स्वदेश ल्याएर उद्दारको काम सुरु गरेको छ । जापानबाट ७, म्यानमारबाट २६ र यूएईबाट १६९ नेपाली आएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीहरूलाई प्रथम चरणअन्तर्गत दुबई र म्यानमारबाट नेपाल ल्याएको बताए । सरकार अब नियमित रुपमा १० दिनसमम विदेशबाट नेपालीहरूको उद्दार गरिने जनाएको छ । सरकारले स्वदेश ल्याईएका नेपालीहरूको आवश्यक चेकजाँच गरी काठमाडौं, ललितपुर र भक्तपुरमा तयार गरिएको ‘होल्डिङ सेन्टर’ मा पठाउने जनाएकोे छ । यी जिल्लामा ९ वटा पार्टी प्यालेसमा उनीहरूलाई राखि सम्बन्धित स्थानीय तह र प्रहरीको सहयोगमा उनीहरूलाई सम्बन्धित जिल्लाहरूमा पठाइने छ ।