कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
429

जुम्ला- कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण जुम्लाका युवा कुखुरा पालनदेखि गाउँ सुधार अभियानमा जुटेका छन् । कोरोना त्रासका कारण भारत तथा तेस्रो मुलुकबाट फर्केका जुम्लाका युवा उद्यमशीलतामा जुटेका हुन् ।
जारी लकडाउनलाई व्यावसायीक रुपमा सदुपयोग गर्दै गुठिचौर गाउँपालिका ५ का टपेन्द्र खत्रीले लोकल कुखुरा पालन सुरु गरेका छन् । लकडाउनको समयमा आयआर्जन गर्न गाउँमै लोकल कुखुरा पाल्न थालेको उनले बताए ।

पौरखी हात कुखुरा पालन फर्म सुर्खेतको सहयोगमा खत्रीले आफ्नै लगानीमा कुखुरा पालन सुरु गरेका छन् । “लकडाउनले बेफाइदा हैन मलाई कुखुरा पालक बनाएको छ” खत्रीले भने, “लकडाउन भनेकै आफू बच्ने अरुलाई बचाउने समय हो ।” लकडाउनले कसैलाई अल्छी बनाएको छ । कसैलाई उद्यमी व्यवसायी बनाएको छ ।
यता सुर्खेतमा विगत ६ महिना अघिदेखि मात्रै पौरखी हात कुखुरापालन फर्म सञ्चालन गरेका युवराज पाण्डे पनि व्यावसायीक बनेका छन् । कोरोना भाइरसका कारण सबै युवा घर फर्केका छन् ।
यस्तो विषम परिस्थितिमा रोजीरोटी जुटोस् भन्नका लागि पनि कुखुरापालन जुटेको उनको भनाई छ । साथै सुर्खेतमा समय अनुसार तरकारी उत्पादन गरी बजारमा समेत पठाउने गरिएको छ ।