दीननाथ बराल
बिहिवार, जेठ १५, २०७७
679

पोखरा-कोरोना भाइरसको कारण देशमा लकडाउन भएको दुई महिना भन्दा बढी समय बितेसँगै गण्डकी प्रदेश सरकारले ठोस नीति, योजना, कार्यक्रम र मापदण्ड बनाई अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । गण्डकी प्रदेश सभाको बुधबार पोखरा सभागृहमा भएको तेश्रो बैठकमा आर्थिक वर्ष २०७७-०७८ को विनियोजन विधेयक २०७७-०७८ बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोनाको कारण देशमा लकडाउन हुँदा अर्थतन्त्र ध्वस्त हुन लागेकोले सरकारले ठोस नीति, योजना, कार्यक्रम ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउने तयारी गरेको जनाएका हुन् । विकास निर्माण, व्यापार, वाणिज्य, उत्पादन, बिक्री वितरण तथा सेवामा आधारित व्यवसायहरूलाई सुचारू गर्ने गरी सबै बन्दा व्यापार तथा उद्योग व्यवसायहरूलाई चलायमान गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिने भएको मन्त्री गुरुङले बताए ।
कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवाहरूलाई रोजगारी प्रदान गर्न र महामारीबाट प्रभावित भएका पर्यटन क्षेत्र, यातायात सेवा, कृषि, लघु, घरेलु, साना तथा ठूला उद्योग व्यवसायहरूको वर्गिकरण गरी जीवन्तता प्रदान गर्न विभिन्न क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिने भएको मन्त्री गुरुङले जनाए ।बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताका आधारमा यस वर्ष भने कोरोना भाइरसविरुद्ध ठूलो रकम विनियोजन हुने भएको उनले बताए । सरकारले हाल नयाँ योजनाहरु भन्दा कोरोनाबाट बच्न, बचाउन र यसबाट सिर्जित समस्या समाधान गर्नतर्फ बजेट विनियोजन गर्ने तयारी गरेको उनले बताए । कोरोना महामारीका कारण रोजगारी गुमेका श्रमिकहरूको सीप र क्षमताका आधारमा वैकल्पिक रोजगारीको व्यवस्था गरिने मन्त्री गुरुङले बताए । कोरोना भाइरसका कारण लकडाउनले रोकिएका निर्माणाधीन पूर्वाधारका आयोजना तथा चालू आर्थिक वर्षका अन्य महत्वपूर्ण कार्यक्रम र योजनाहरूलाई आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा निरन्तरता दिइने भएको छ । सरकारले निर्धारित न्यूनतम ज्याला कार्यान्वयनमा जोड दिइने भएको छ । 

सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्न जोड दिइने बताएका मन्त्री गुरुङले ठोस नीति, योजना, कार्यक्रम र मापदण्ड बनाई विकास निर्माण, व्यापार, वाणिज्य, उत्पादन, बिक्रीवितरण तथा सेवामा आधारित व्यवसायहरूलाई सुचारू गर्ने गरी सबै बन्दा व्यापार तथा उद्योग व्यवसायहरूलाई चलायमान गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिने भएको जनाए । स्वदेशी कच्चा पदार्थमा आधारित आन्तरिक उत्पादन बढाउने, आयातप्रति स्थापन गर्दै निर्यात बढाउने, स्वरोजगार तथा रोजगारी सृजना गर्ने र गरिबी निवारणमा सहयोग पु-याउने कार्यक्रमलाई आगामी वर्षको बजेट तथा कार्यक्रममा विशेष जोड दिइने मन्त्री गुरुङले उल्लेख गरेका छन् ।
सार्वजनिक खर्चमा वित्तीय पारदर्शिता, मितव्ययिता र उत्तरदायित्वलाई कडाइका साथ पालना गराउँदै आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्ने दिशामा आगामी वर्षको बजेट तथा कार्यक्रम केन्द्रित हुने भएको मन्त्री गुरुङले जनाए । प्रदेश सरकारको प्रथम पञ्चवर्षिय योजना र दीगो विकासका लक्ष्य, मध्यमकालीन खर्च संरचना एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिने भएको छ भने संघीय सरकारको पन्ध्रौं पञ्च वर्षीय योजना, दीगो विकासका लक्ष्य, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं वार्षिक बजेटकै आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिने लक्ष्य भएको उनले जनाए । बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता आधारमा बृहत पोखरा चक्रपथ, प्रदेश बसपार्क र मेट्रो बसपार्कको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको मन्त्री गुरुङले जनाए । 
संक्रामक तथा सरुवा रोगको महामारीविरुद्ध लड्न अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिने भएको मन्त्री गुरुङले बताए । त्यसैगरी प्रदेशभित्र मुटु, मिर्गौला, क्यान्सर, मातृ तथा बालरोग सम्बन्धी विशिष्टिकृत अस्पताल निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मातहतका प्रयोगशालाहरुको पूर्वाधार विकास, आवश्यक उपकरण जडान, दक्ष जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई जोड दिइने भएको छ । गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको भौतिक पूर्वाधार विकास तथा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने गण्डकी विश्वविद्यालय अन्तर्गत एक शिक्षण अस्पताल स्थापना गरिने भएको मन्त्री गुरुङले बताए । 
खेलकुद क्षेत्रको विकासका निम्ति पूर्वाधार निर्माण, विभिन्न खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीलाई प्रोत्साहन तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि नीति, कानून र संरचना निर्माणमा जोड दिइने उनले जनाए । आगामी वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन गरिने भएको मन्त्री गुरुङले जनाए । स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह एक खेलकुद मैदान कार्यक्रमलाई आवश्यकता अनुसार निरन्तरता दिइने भएको छ । कृषि क्षेत्रमा रोजगारीको अवसर सृजना गर्दै उत्पादनमा आत्मनिर्भर हुने कार्यक्रमलाई प्राथमिकता दिइने भएको छ भने कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै व्यवसायिक रुपमा आधुनिक प्रणालीद्वारा कृषि उत्पादन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट व्यवस्था गरिने भएको मन्त्री गुरुङले बताए ।