गोपाल संग्रौला
बिहिवार, जेठ १५, २०७७
776

तथ्यांकमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या विगत ८ महिनाका २२ प्रतिशतले बढे पनि सरकारले सार्वजानिक गरेको आर्थिक सर्वेक्षणमा भने घटेको देखाइएको छ ।
मंगलबार सार्वजानिक गरिएको आर्थिक सर्वेक्षणमा गत आर्थिक वर्षको ८ महिनाको तुलना चालू आवको फागुनसम्म ०.०३ प्रतिशतले कमी आएको भनिएको छ । हालै सार्वजानिक सर्वेक्षणमा भनिएको छ, “आर्थिक वर्ष २०७६-२०७७ को फागुनसम्म अघिल्लो आवको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्यामा ०.०३ प्रतिशत कमि आएको छ, ।” आव २०७४-२०७५ को तुलना गरिएको हो भने २१ प्रतिशतले घटेको हुनु पर्छ । बिगत ३ आर्थिक वर्षको पहिलो ८ महिनामा क्रमशः २ लाख ४३ हजार, १ लाख ५६ हजार र चालू आवमा १ लाख ९१ हजार वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

अर्थ मन्त्रालयले सार्वजानिक गरेको आर्थिक सर्वेक्षण २०७६-७७ का अनुसार गत ८ महिनाको तुलनामा २१.९ प्रतिशतले बढेको हुनु पर्ने थियो । वैदेशिक रोजगारले गरिबी निवारण र आर्थिक क्रियाकलापको विस्तारमा महत्वपूर्ण योगदान रहँदै आए पनि यो क्षेत्र उपेक्षित हुँदा विगत ३ वर्ष भने २१ प्रतिशतले घटेको छ । गत आवको फागुनसम्म १ लाख ५६ हजार ९३ युवा वैदेशिक रोजगारीमा गएकोमा चालू आवको ८ महिनामा १ लाख ९० हजार गएको देखिन्छ । यसरी हेर्दा विगत वर्षको तुलनामा भने केही बढेको देखिन्छ । यद्यपि, सरकारले मगलबार सार्वजानिक गरेको सर्वेक्षणमा भने ०.०३ प्रतिशत कमी आएको उल्लेख छ ।
नेपाल कुल गार्हस्थ्य उत्पादनको अनुपातमा उच्च विप्रेषण भित्र्याउने मुलुकहरूको सूचीमा नेपाल रहेको भएपनि वैदेशिक रोजगारीलाई उपेक्ष गरिएको बिज्ञको भनाई छ । विगत १० वर्षको औसत विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादनका अनुपातमा २५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीले विप्रेषणका साथै सामाजिक तथा मानवीय पुँजीको रूपमा ज्ञान, सीप र अनुभव हासिल भई उद्यमशीलता विकास हुने सरकारी अनुमान रहे पनि विदेश गएका युवाको सुरक्षामा सरकार असफल हुदै आएको छ ।
आर्थिक वर्ष २०७६-२०७७ को फागुनसम्म वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ५० लाख ४१ हजार रहेको छ भने ४७ लाख ९२ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । यसमध्ये ४५ लाख ५५ हजार पुरुष र २ लाख ३७ हजार महिला रहेका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये १.५ प्रतिशत दक्ष, २४.० प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष कामदार रहेका छन् । नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरूमा कतार, मलेशिया, साउदी अरब, संयुक्त अरब एमिरेट्स र कुवेत रहेका छन् । पछिल्ला वर्षहरूमा साइप्रस, रोमानिया, माल्दिभ्स, माल्टा, जोर्डन, तुर्की जस्ता देशहरूलाई नेपाली युवाहरूले रोजगारीको गन्तव्य बनाएको भएपनि सरकारले प्रबद्धन गर्न नसकेको व्यवसायीले बताउँदै आएका छन् ।
मुलुकभित्र आर्थिक क्रियाकलापहरू अभिवृद्धि भइ रोजगारीका अवसर सिर्जना हुँदै गएको र श्रमिक माग कम हुँदै गएकोले वैदेशिक रोजगारीको लागि श्रम स्विकृती लिनेको घट्दो क्रममा छ । वैदेशिक रोजगारीमा श्रमिक इजाजत प्राप्त गरेका मध्ये सक्रिय ५७.५ प्रतिशत र निष्क्रिय २८.१ प्रतिशत रहेका छन् भने १४.४ प्रतिशत म्यानपावर कम्पनीहरू प्रतिबन्धित रहेका छन् ।
नेपाल सरकारले संस्थागत रूपमा ११० देशहरूलाई वैदेशिक रोजगारीको लागि खुला गरेको छ भने व्यक्तिगत रोजगारीमा जाने प्रयोजनको लागि खुला गरेका देशहरू १७२ छन् । आर्थिक वर्ष २०७६-७७ को फागुनसम्म १ लाख ७२ हजार पुरुष र १८ हजार महिला गरी कुल १ लाख ९० हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
आर्थिक वर्ष २०७६-७७ को फागुन महिना सम्मको अवधिमा वैदेशिक रोजगारीको ५९७ नेपाली नागरिकको मृत्यु भएको छ । जसमध्ये ५८१ पुरूष र १६ महिला रहेका छन् । गत वर्ष ७५४ नेपाली नागरिकको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको थियो । वैदेशिक रोजगारीका गएका महिला र पुरुषको अनुपात क्रमशः १० र ९० रहेको छ ।