कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६
636

म्याग्दी-बेनी नगरपालिका–१ सारेमारेका युवा एकेन्द्र थापा मगरले गाउँमा व्यावसायिक रुपमा बंगुरपालन गरेका छन् । वैदेशिक रोजगारीलाई त्याग्दै ३५ वर्षिय मगरले व्यावसायिक रुपमा बंगुरपालन गरेका हुन् ।
उनले सारेमारे स्थित कालिगण्डकी नदिको किनारमा रहेको आफ्नै खेतमा खोर निर्माण गरी स्थानीय कालो सुंगुर, बंगुर र बँदेलको व्यवसायिक पालन गरेका छन् । कृषि फर्म दर्ता गरेर दुई वटा बंगुरबाट सुरु गरेका मगरको फार्ममा अहिले ४० भन्दा बढी बंगुर पालेका छन् ।

५० वटासम्म पाल्न सकिने खोरको क्षमता रहेको बताउँदै युवा कृषक मगरले खोरको क्षमता थपेर बंगुर पालनलाई विस्तार गर्ने योजना बनाएका छन् । उनका अनुसार, फार्मबाट साना पाठापाठीलाई ८ हजारदेखि र माउलाई ४० हजारसम्ममा बिक्री हुने गरेको छ । स्थानीय जातका सुँगुरको माग अत्यधिक रहेकाले छ, परिश्रम अनुसारको प्रतिफल आउने भएकाले बंगुर र सुगुरपालनतर्फ आफू आकर्षित भएको मगरले बताए ।
दुई वर्षको अवधिमा २५ वटा ठूला बंगुर र करिब १ सय पाठापाठी बिक्री गरेको जानकारी दिए । करिब एकवर्ष पालेको एउटा बंगुर करिब ३५ देखि ४० हजार रुपैयाँमा बिक्री हुने गर्दछ । यस फार्मबाट एक वर्षमा ६ लाख बढीको बंगुर बिक्री हुने गरेको छ । उत्पादन भएका बंगुरहरु म्याग्दीको सदरमुकाम बेनी, पर्वत, बागलुङ लगायतका स्थानमा बिक्री हुने गरेको छ ।
सुरुमा ४ लाख रुपैयाँबाट बंगुरपालन सुरु गरेकबा मगरको फामर्म अहिले १५ लाख रुपैयाँ लगानी छ । “पालन र बजारीकरणमा समस्या छैन, मुख्य समस्या भनेको दानामा छ, दाना महंगो छ, अहिले स्थानीय मकै, गहुँ, धुटो लगायतको मिश्रण गरी दाना प्रयोग गर्छु” उनले भने । पशु सेवा निर्देशनालयबाट २ लाख ५० हजार रुपैयाँ अनुदान पाएपछि खोरलाई व्यवस्थित गरेको र स्टोर निर्माण गरेको बताए ।