मनिषा चम्लागाईँ
शुक्रवार, चैत्र ७, २०७६
533

झापा -भारतीय नागरिक वण्डाली राय झापाको बिर्तामोड नगरपालिका –२ स्थित जानकी इटा उद्योगमा मजदुरी गर्छिन् । वण्डलीकी आमा चम्पा राय पनि सोही उद्योगमा काम गर्छिन् । वण्डली र चम्पा मात्र होइन ७० वर्ष नाघेकी चम्पाकी आमा सरस्वती राय पनि जानकी इटा उद्योगमा नै काम गर्छिन् ।
उद्योगमा तीन पुस्ताले एउटै मजदुरी गरेका छन् । उनीहरूको काम हो इटा बनाउने । पुस्तान्तर हुँदै उनीहरूको मजदुरी इटा उद्योगमा नै चलिरहेको छ । जीविकोपार्जनका लागि इटा बनाउने काम निरन्तर चलिरहेको चम्पाले बताइन् । हजुरआमादेखि नातिनीसम्म सबैको हातमा इटा बनाउने सीप छ । त्यसैले इटा बनाउने काम आफ्नो हजुरआमा कै पालादेखि निरन्तर चलिरहेको चम्पा सुनाउँछिन् ।
जानकी इटा उद्योग झापाको पुरानो इटा उद्योग हो । २०४५ सालमा जानकी उद्योग सञ्चालनमा आएसँगै उनीहरू काम गर्न आएको चम्पाले सुनाइन् । “यो भन्दा पहिले पनि हजुरआमा हजुरबाले इटा उद्योगमा नै काम गरेका हुन्” चम्पाले भनिन्, “बा पनि यही काम गर्थे अहिले मरिसके ।” चम्पा आमा र छोरीसँगै इटा उद्योगमा काम गर्छिन् । उद्योगमा कार्यरत बूढाबूढी, युवा युवतीको वर्षौंदेखि इटा बनाएर गुजारा चलिरहेको छ ।
हजुरबाजेको पुस्ताबाट नातिनीसम्म हस्तान्तरण हुँदै आएको इटा बनाउने मजदुरी गुम्ने हो कि भन्ने पीर बंगलादेशदेखि आएकी मजदुर नुमीता रायमा छ । नुमिता पनि छोरी जोस्ना रायसँगै उद्योगमा काम गर्छिन् । उद्योगमा काम गरे वापत उनीहरू दैनिक ३ सय रूपैयाँ भारतीय रूपैयाँ कमाइ गर्छन् । यसैबाट उनीहरूको गुजरा चलाउँदै आएको नुमीताले सुनाइन् ।

भारतीय कामदारको भर
जानकी इटा उद्योग सुरुवातीदेखि नै भारतीय कामदारको भरमा चलेको छ । उद्योगमा २ सय बढी मजदुर छन् । स्वदेशमा काम गर्न लजाउने नेपालीका लागी भारतीय कामदारहरू उदाहरण भने बनेका छन् । भारतका शहदेव रायले एक हजार इँटा बनाए वापत ६ सय भारतीय रूपैयाँ परिश्रमिक पाउँछन् । उनको परिवारका सबैजना इटा उद्योगमा मजदुरी गर्छन् । जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने उनी सुनाउँछन् ।
२ सय मजदुरमा ६ जना मजदुर मात्र नेपाली रहेको उद्योगका काम गर्ने बिर्तामोड नगरपालिका –२ की मजदुर सुमित्रा सहनी बताउँछिन् । “नेपाली कामदारमा त मेरो परिवार मात्र हो” सहनीले भनिन्, “भारतीय कामदारको जस्तो सीप हामीसँग छैन, हामी भ्यानमा इटा ओसार्ने काम मात्र गर्छौँ, हाम्रो ज्याला पनि कम छ ।”
सञ्चालक भने इटा उद्योगबाट पर्याप्त आम्दानी नहुने भन्दै उद्योग बन्द गर्ने सोचमा रहेको उनले सुनाइन् । सहनीको परिवारले पनि स्थापना कालदेखि नै उद्योगमा काम गर्दै आएको हो । यसरी लामो समयदेखि निरन्तर एउटै मजदुरीमा संलग्न रहेर पछिल्लो पुस्तासम्म सीपको हस्तान्तरण भइरहँदा पनि सरकारी स्तरबाट भने कुनै चासो नभएको सुमित्राको गुनासो छ ।

धरासायी बन्दै उद्योग
पछिल्लो समय झापामा सञ्चालित इटा उद्योग धरासायी हुँदै गएका छन् । करोडौं रूपैयाँ लगानी गरेर सञ्चालन गरिएका त्यस्ता इटा उद्योग एकै पटक बन्द पनि गर्न नसकेको सञ्चालकहरू बताउँछन् । कच्चा पदार्थको अभावमा इटा उत्पादनमा समेत कमी आएको जानकी इटा उद्योगका सञ्चालक जगनाथ खनालले बताए । इटा बनाउन सबै भन्दा धेरै माटोको अभाव रहेको खनाल बताउँछन् । उत्पादित इटाले समेत राम्रो बजार पाउन नसकेको उनको भनाइ छ । उद्योग सञ्चालनमा रहेको क्षेत्रमा वस्ति विस्तार भएकाले पनि इटा उद्योग नविकरणमा समस्या हुने गरेको खनालले बताए ।
झापामा ३६ वटा इटा उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख उद्योग अधिकृत छविलाल खतिवडाले बताए । पछिल्लो समय उद्योग बन्द गर्ने क्रम भने बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकले देखाउँछ । उद्योग रहेको ठाउँमा अन्य व्यापार व्यवसाय र घर घरेडीमा लगानी बढेको देखिन्छ ।