प्रकाश पाक्साँवा
बुधवार, चैत्र ५, २०७६
565

तेह्रथुम - जिल्लाको फेदाप गाउँपालिका–१ ओयाक्जुङ मेहेलेमा आदिवासी जनजाती भवन निर्माण कार्य सम्पन्न भए पनि भुक्तानीमा अन्यौल छ । आ.व.०७६-७७ मा गाउँपालिकाबाट भवनका लागि बजेट नपरेपछि दुःखी बनेका स्थानीयबासीले पालिका अध्यक्ष हरि चोङबाङ समक्ष दुखेसो पोखेपछि काम अगाडि बढाउन उपभोक्ता समितिलाई भनेका थिए ।
गत वर्ष चारलाख मात्र बजेट छुट्टिएपछि २० प्रतिशत मात्र काम भएको र यसवर्ष योजना नपरे पनि विविध शीर्षकबाट गाउँपालिकाले भुक्तानी दिने भनेपछि निर्माण कार्य अगाडि बढाईएको समितिका सचिव जितबहादुर लिम्बुले बताए । उनले भने, “अध्यक्षले नै काम गर्नुहोस्, दामको सुर्ता नगर्नुस् भनेपछि हामीले काम अगाडि बढाएका हौं ।” गत साल पहिलो तलाको पर्खाल मात्र लगाइएको र यसवर्ष भवन पूर्ण रुपमा निर्माण गरिसक्दा ९ लाख ८० हजार खर्च भएको उनले बताए ।

भवन निर्माण भइसकेको दुई महिना बिते पनि गाउँपालिकाले भुक्तानी दिन नसकेपछि उपभोक्ता समितिलाई समस्या भएको छ । भवनमा लागेको सााग्री तथा कामदारको पारिश्रमिक लागी दैनिकजसो समितिलाई भेट्न आउने गरेको निर्माण समितीका अध्यक्ष महेन्द्र लिम्बूले बताए । भुक्तानी दिन पालिकाको कार्यलय पुग्दा शीर्षक नै नभएको काम गरेकाले पैसा दिन नसकिने कर्मचारीले बताउने गरेको लिम्बुको गुनासो छ । “पालिकाले पैसा दिँदैन । कामदार र साहुले पैसा नमागेको दिन छैन ।”
गाउँपालिकाको हिउँदे अविधेशनपछि प्राविधिक रिपोर्टको आधारमा रकम भुक्तानी दिने अध्यक्ष चोङबाङले बताए । “कुनै शीर्षकलाई ब्रेकडाउन गरेर आदिवासी भवनमा भुक्तानी हुन्छ,” उनले भने । गाउँपरिषदले योजना नछुट्टयाए पनि कुनै न कुनै शीर्षकबाट रकम उपलब्ध गराउने अध्यक्षले भन्दै आएका छन् तर भुक्तानी हुने बजेटको शिर्षक भने टुङ्गो नलागेको अवस्था छ ।
यस्तै मेन्छ्यायेम गाउँपालिका–१ मा पर्ने खोरङवा खोला लाभ्री सडक पनि उधारोमा खनिएको छ । चालु आ.व.मा १६ लाख मात्र छुट्टिएको र बाँकी विस्तार गर्न रकम अपुग भएपछि पालिका अध्यक्षको निर्देशनमा उधारो सडक खनिएको हो । सडक उपभोक्ता समितीले करिब १२ लाखको उधारो काम गरेको र पछि दिने सर्त राखिएपनि स्रोतको टुंगो लागी नसकेको वडाध्यक्ष शहरमान लिम्बुले बताए ।