रासस
बिहिवार, फाल्गुन १, २०७६
265

पाल्पा- पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाइ तालीम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् ।
सहकारीले तालिम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गरेकी छिन् । उनले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताइन् । बेरोजगार बसेका महिलालाई सहकारीबाट तालिम पाएपछि रोजगार बनाएको उनको भनाइ छ ।

ढाका कपडा सिलाएर उनले मासिक २० हजार रुपैयाँ आम्दानी गर्छिन् । यसैबाट घरखर्च, छोराछोरीको पढाइ खर्च चलेको छ । सहकारीले दुईपटकसम्म गरी २० जना महिलालाई चार महिनाको तालिम उपलब्ध गराएपछि महिला व्यवसायमा अग्रसर भएर लागेका छन् । पहिलादेखि नै सिलाइकटाइको काम गर्दै आएकी इन्दु परियारले पनि ढाका कपडाको तालिम पाएपछि पेशालाई व्यावसायिक रुपमा अघि बढाएकी छिन् । तालिमपश्चात् अहिले व्यावसायिक रूपमा पसल सञ्चालन गरी आफू मात्र नभई चारजनालाई रोजगारीसमेत दिएको परियारको भनाइ छ ।
सहकारीले व्यावसायिक बनाउन रामपुरका २० महिलालाई ढाका कपडा सिलाइ तालिम तथा एक–एकवटा मेशिनसमेत उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए । व्यवसाय गर्न सोच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिला सहकारीमार्फत सीपमूलक तालीम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । रामपुरमा नै ढाका कपडाका विभिन्न उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिला बताउँछन् ।
सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद महिलाले व्यवसाय चलाउने गरेका छन् । रामपुर क्षेत्रमा विशेषगरी झोला, हाते पर्स, आस्कोट, चोलीहरू, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ । रामपुर घुम्न आएका व्यक्तिले ढाकाको कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा लैजाने गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री विशेष आकर्षणका रूपमा रहेको छ ।