कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६
399

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् ।
सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा बुधबार भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का सभापतिको हैसियतले सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सुरक्षा प्रणाली लागुगर्ने क्रममा केही व्यवहारिक कठिनाइहरु देखिएको भए पनि तिनको सम्बोधन गर्दै अघि बढ्नुपर्छ ।’

सभापति ढकालले श्रमजिवी वर्गको सुरक्षा र सुनिश्चित भविश्यका लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजनावारे व्यापक जानकारीसहित यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरु लागिपरेको स्पष्ट पारे ।
उद्यमी ढकालले भने, ‘हामी सामाजिक सुरक्षा योजना सञ्चालनको सुरु अवस्थामा छौँ, यो महत्वपूर्ण प्रणालीको शुरुवात गर्दा केही अप्ठेरो आउनु स्वभाविकै हो । तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचिकरण संख्या र केही रोजगारदातावाट योगदान रकम जम्मा गर्न सुरु भइसकेको अवस्थालाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए ।
आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले सामाजिक सुरक्षा योजनाबारे बुझाउन समय लागेकोले पनि सूचिकरण प्रक्रियामा केही ढिलाई भएको बताए । ‘सूचिकरणको संख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति छैन’, उनले भने, प्रस्तावित सामाजिक सुरक्षा योजनाका वारेमा रोजगारदाता र श्रमिक सबैलाई प्रष्टसँग बुझाउनु पर्छ ।’
हाल प्रचलनमा रहेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई एकीकृत रुपमा सामाजिक सुरक्षा योजनाअन्र्तगत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । ‘भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिवाट सम्भव छैन’ उनले भने, ‘व्यवहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।’