गोपाल संग्रौला
मंगलबार, आश्विन १४, २०७६
1827

सरकारले दसैंपछि वैदेशिक रोजगारीमा जाने युवाको भर्ना र छनोट प्रक्रियालाई नियन्त्रण व्यवस्थित गर्न ‘सेलेक्सन मोड्युल’ प्रणाली सुरु गर्ने भएको छ । म्यानपावरले गर्ने युवा भर्ना प्रक्रिया, पासपोर्ट लिएको मिति, मागपत्र अनुसारको आवेदन र छनोट प्रक्रियालाई अनलाइनमार्पmत अनुगमन गर्न ‘सेलेक्सन मोड्युल’ सुरु गर्न लागिएको हो ।
म्यानपावर कम्पनीले युवाको पासपोर्ट लामो समयसम्म राख्ने, समयमा भर्ना प्रक्रिया नगर्ने र मागपत्र अनुसार भर्ना नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न ‘सेलेक्सन मोड्युल’ नामक पासपोर्ट अनलाइन ट्र्याकिङ प्रणाली सुरु गरिने भएको हो । अब म्यानपावरले विदेश जान आवेदन दिने युवाको पासपोर्ट बुझेको विवरण ‘सेलेक्सन मोड्युल’ प्रणालीमा राखेपछि मात्र श्रम स्वीकृति पाउनेछन् । यो नियम लागू भएपछि वैदेशिक रोजगारीको भर्ना प्रक्रियाका लागि युवाको पासपोर्ट बुझ्ने म्यानपावरले बुझेको पासपोर्टको सम्पूर्ण विवरणसहित अनलाइन दर्ता गरेपछि मात्र युवा विदेश पठाउन पाउने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

‘सेलेक्सन मोड्युल’ भनेको पासपोर्सको बुझाएका युवाको छनोट, अन्तर्वार्ता, सीप र अन्य विवरण अनलाइन राख्न विभागले तयार गरेको ट्र्याकिङ प्रणाली हो । “यो प्रणाली विकास भइसकेको छ, दसैंलगत्तै सबै म्यानपावर कम्पनीका लागि यो प्रणाली सुरु गर्दैछौं,” महानिर्देशक भुसालले कारोबारसँग भने, “युवा भर्ना प्रक्रियालाई व्यवस्थित गर्न विभागले यसलाई म्यानपावरले आपूmले ल्याएको मागअनुसार युवासँग बुझेको पासपोर्टका सम्पूर्ण विवरण विभागले तयार गरेको अनलाइन प्रणालीमा भरेर मात्र प्रक्रिया अघि बढाउन सक्छ ।” मागअनुसार अन्तर्वार्ता लगायतका सम्पूर्ण प्रक्रिया समेतको जानकारी अनलाइनमा समावेश गर्नु पर्ने र सोको निरीक्षण विभागले नियमित रूपमा गर्ने जनाईएको छ ।
यो प्रणाली विकास भएपछि युवाले आफनो क्षमता र सीपअनुसार छनोट गरेको क्षेत्रमा मात्र भर्ना प्रक्रिया अघि बढाउन सक्नेछन् । यो नियम लागू भएपछि युवाले आफनो सीप र दक्षताका आधार तोकेको क्षेत्रमा मात्र आवेदन दिनुपर्ने छ । अहिले मागपत्र एउटा देखाउने र उस्तै नाम दिएर अर्को कामका लागि श्रम सम्झौतामा विदेश पठाएर युवालाई अलपत्र पार्ने गरेको पाइन्छ । हाल म्यानपावरले अधिकांश युवाको सीपअनुसार मागपत्र नआएको अवस्थामा पनि पासपोर्ट होल्ड गरेर राख्ने गरेका छन् । यो प्रणाली लागू भएपछि निश्चित समयभन्दा बढी युवाको पासपोर्ट रोकेर राखे विभागले हस्तक्षेप गर्ने छ । विभागले ‘सेलेक्सन मोड्युल’ प्रणाली तयार गरिसकेको भएपनि हाल आन्तरिक रूपमा परीक्षण गरिरहेको छ । यो प्रणालीमा म्यानपावरले वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रियाका लागि पासपोर्ट बुझेको मिती र अन्य विवरण अनिवार्य भर्नुपर्ने छ ।
यो नियम लागू भएपछि म्यानपावर कम्पनीका कार्मचारी बाहेक अन्य तेस्रो पक्षले वैदेशिक रोजगारीको कारण देखाउदै कसैको पासपोर्ट बोक्ने, राख्ने र पैसाको कारोबार गर्न समेत पाउने छैनन् । म्यानपावरका कर्मचारीबाहेक वैदशिक रोजगारीको सिलसिलामा तेस्रो पक्षले कसैको पासपोर्ट बोके पक्राउ गरिने यस अघि नै विभागले निर्देशन दिएको थियो ।

 


सातामा धेरै पढिएको