गोपाल संग्रौला
आइतवार, श्रावण २६, २०७६
340

२० लाख जनशक्ति तालिमविहीन


नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत जनशक्ति मध्ये ३० प्रतिशतले मात्र व्यावसायिक तालिम तथा प्रविधिक शिक्षा लिएको पाइएको छ । जम्मा ३० लाख जनशक्ति प्राविधिक कार्यक्षेत्रमा कार्यरत रहे पनि १० लाख जनाले मात्र छोटो तथा लामो समयको तालिम र शिक्षा लिएको पाइएको हो ।
आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गरी राय सुझाव प्रतिवेदन पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको गरेको कार्यदलले ३० प्रतिशतले मात्र तालिम तथा शिक्षा लिएको निष्कर्ष निकालेको हो । कार्यदलले सात वटा क्षेत्रहरू कृषि र वन, इञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल मेनेजमेन्ट, यातायात तथा संचार, प्रशोधन उद्योग र विविधलाई निजी तथा व्यावसायिक सेवाहरूमा समूहिकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरेको कार्यदलका सदस्य एवम सिटिईभिटीका सहप्रशासाक प्रमोदभक्त आचार्यले बताए ।

तालिमप्राप्त जनशक्तिको अनुमान तथा प्रक्षेपण

कार्यदलको आँकलन अनुसार विभिन्न आर्थिक क्षेत्र-पेशाहरू कृषि, वन, इञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल व्यवस्थापन, यातायात तथा संचार प्रशोधन, उद्योग र विविध निजी तथा व्यावसायिक सेवाहरूमा कूल ३६ लाख ४४ हजार ९८ जनशक्ति संलग्न भई कार्य गरिरहेको देखिन्छ । जसमध्ये १० लाख ८७ हजार ६०९ अर्थात् २९.८५ प्रतिशतले कुनै न कुनै अल्पकालीन तथा दीर्घकालीन तालिम प्राप्त गरेको पाइएको छ ।
यस्तो जनशक्ति मध्ये आर्थिक वर्ष २०७४-०७५ सम्ममा ६ लाख २६ हजार ८४३ जनशक्तिलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) बाट तालिम प्रदान गरिएको छ । तालिम प्राप्त व्यक्तिहरू मध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा ६७ हजार २६८ जना, प्राविधिक एसएलसी तर्फ २ लाख १६ हजार १०३ जना र सीप परीक्षण प्रमाणपत्र प्राप्त ३ लाख ४३ हजार ४७२ जना रहेका छन् ।
आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको अवस्था अध्ययन गर्दा कूल कार्यरत जनशक्ति मध्ये चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी तालिम प्राप्त गरेको पाइएको छ । यस तथ्यांकले वर्तमान परिवेशमा चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति भन्दा अधिक संख्यामा तालिम प्राप्त प्राविधिक जनशक्ति उपलब्ध भएको देखिन्छ । आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू संचालन गर्दा उत्पादित जनशक्तिले रोजागारी पाउने सम्भाव्य क्षेत्रहरू पहिचान गर्नु पर्ने सिटिईभिटीका सहप्रशासक आचार्य बताउँछन् ।
कृषि तथा वन क्षेत्रमा भने तालिम प्राप्त जनशक्तिको हिस्सा न्यून (१६.३८ प्रतिशत) मात्र छ । कृषि तथा वन क्षेत्रका कूल तालिम प्राप्त जनशक्ति मध्ये ४०.५७ प्रतिशतले सिटिईभिटीबाट तालिम प्राप्त गरेका छन् । सबै प्रकारले तालिम प्राप्त जनशक्तिमध्ये अन्य गैर कृषि क्षेत्रहरू इञ्जिनियरिङ्ग तथा निर्माणमा ९०.७४ प्रतिशत, होटल व्यवस्थापनमा ५४.०४ प्रतिशत, प्रशोधन उद्योगमा ३१.४४ प्रतिशत र विविध तथा व्यावसायिक पेशामा २८.८६ प्रतिशत परिषद्को हिस्सा रहेको छ ।
परिषद्बाट यस्तो तालिम नगन्य (०.३१ प्रतिशत) मात्र रहेको देखिन्छ । सबै पेशागत क्षेत्रहरूमा अन्य तालिम प्रदान गर्ने निकायहरू नेपाल सरकारका मन्त्रालय तथा विभागहरू, विश्वविद्यालय, विद्यालय, गैरसरकारी संस्थाहरू संलग्न भई तालिम प्रदान गरेका छन् । समष्टिगत रुपमा कुल तालिम प्राप्त जनशक्ति मध्ये ५७.६३ प्रतिशत परिषद्बाट र अन्य विभिन्न तालिम प्रदायक निकायहरूबाट ४२.३७ प्रतिशत जनशक्तिलाई तालिम प्रदान गरेको पाइएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षाको जनशक्तिको प्रक्षेपण

आधार वर्ष २०७४-०७५ मा आधारित रहेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको प्रमुख ७ वटा क्षेत्रहरूको पहिचान गरी प्राविधिक जनशक्तिको प्रक्षेपण गरिएको छ । जनशक्तिको आवश्यकता (माग) र जनशक्तिको उत्पादन (आपूर्ति) क्षमता समेतलाई आधार मानी बहिर विस्तार विधि र प्रवृत्ति प्रक्षेपण विधिको आधारमा गरिएको प्रक्षेपण अनुसार समग्रमा तालिम प्राप्त जनशक्तिको सरदर वार्षिक वृद्धिदर ६.९९ प्रतिशत हुने अनुमान गरिएको छ ।
त्यसैगरी पेशागत क्षेत्रहरू मध्ये कृषि र वन क्षेत्रमा औषत वार्षिक वृद्धिदर ७.९९ प्रतिशत, इञ्जिनियरिङ्ग तथा निर्माण क्षेत्रमा ८.९५ प्रतिशत, होटल व्यवस्थापनमा ७.९४ प्रतिशत, यातायात तथा संचार क्षेत्रमा ८.०० प्रतिशत, प्रशोधन उद्योगमा ५.५८ प्रतिशत तथा विविध निजी तथा व्यावसायिक सेवाहरूमा ९.५५ प्रतिशत यातायात तथा संचार क्षेत्रमा भने ८.०० प्रतिशतको औषत वार्षिक वृद्धिदरले बढ्ने प्रक्षेपण गरिएको छ ।
चिकित्सा तथा मानव स्वास्थ्य क्षेत्रमा भने प्राविधिक तथा व्यावसायिक शिक्षाको औषत वार्षिक वृद्धिदर न्यून (२.४२ प्रतिशत) ले मात्र बढ्ने अनुमान गरिएको छ । वर्तमान अवस्थामा यस क्षेत्रमा मध्यम स्तरको जनशक्तिको उत्पादन (तालिम ) अधिक रहेका कारण आगामी वर्षहरूमा यस्ता जनशक्तिको खपत (माग) बढ्नु पर्ने देखिन्छ भने हाल कार्यरत जनशक्ति सेवाबाट निवृत्त भएपछि प्रतिस्थापन गर्नको लागि पनि जनशक्तिको उत्पादन-विकासमा निरन्तरता दिनु पर्ने देखिन्छ ।
अर्थतन्त्रमा रोजगारी वृद्धि मार्फत उत्पादन र उत्पादकत्व बढाउनका लागि प्राविधिक सीप र ज्ञान भएका जनशक्तिको आपूर्ति बढाउन सिटिईभिटीबाट प्रदान गरिँदै आएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई विशेष प्राथमिकता दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरयुक्त जनशक्ति उत्पादन गर्न आवश्यक मानवीय र भौतिक पूर्वाधारहरूको सुनिश्चितता गरी प्राविधिक शिक्षा देशभर विस्तार गरिनु पर्ने देखिएको छ ।

रोजगारीका नयाँ क्षेत्र पहिचान गरेर तालिम दिनुपर्छ

प्रमोदभक्त आचार्य

सहप्रशासक, सीटीईभीटी

आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको अनुमान तथा प्रक्षेपण मूलतः चार तहमा आकलन गरिएको छ । समग्र रुपमा, आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको वर्तमान अवस्थाको अनुमान गरिएको छ । नेपाल श्रमशक्ति सर्वेक्षणको सुक्ष्म तथ्यांकलाई प्रयोग गरी आव २०७४-०७५ मा कुल जनशक्तिको विस्तृत आकलन गरी सात वटा समूहिकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरिएको छ । पेशागत वर्गिकरण अनुसार तयार गरिएको जनशक्ति मध्ये क्षेत्रगत आधारमा कुन क्षेत्रमा कति जनशक्तिले तालिम प्राप्त गरेका छन् भन्ने अनुमान पनि नेपाल श्रम शक्ति सर्वेक्षणको सुक्ष्म तथ्यांक प्रशोधन गरी आँकलन गरिएको छ ।
यसरी आँकलन गरिएको तालिम प्राप्त जनशक्ति मध्ये कतिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) बाट उत्तीर्ण भएका छन् सो को तथ्यांक परिषद्मा भएका प्रशासनिक अभिलेखहरू अध्ययन गरी तयार गरिएका छन् ।
पेशागत क्षेत्र अनुसार तालिमको आवश्यकता फरक फरक रहेको पाइएको छ । सबै क्षेत्रहरूमा तालिमको आवश्यकता र सिटिईभिटीले दिन सक्ने तालिमको अनुपात र क्षमताको आधारमा आगामी १० वर्ष २०७४-७५ देखि २०८४-८५ सम्मको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम को जनशक्तिको प्रक्षेपित अनुमान गरिएको छ । जस अन्तर्गत “जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना २०७६” मा प्रयोग गरिएको मान्यता र प्रमुख रुपमा विस्तार र प्रवृत्ति प्रक्षेपण विधिको प्रयोग गरिएको छ ।
सरकारले प्राविधिक शिक्षाका क्षेत्रमा सम्भावित रोजगारीका नयाँ क्षेत्र पहिचान गर्दै त्यसका आधारमा सिटिईभिटीलाई साधनसम्पन्न गराई तालिमको व्यवस्था गर्नुपर्छ । नेपालका खनिज, रेलमार्ग, हाईड्रोपावर, सुरुङ निर्माण लगायतका क्षेत्रमा भविष्यमा आवश्यक पर्ने जनशक्तिका लागि तालिम दिने गरी तयारी गर्नु पर्छ ।