गोपाल संग्रौला
शुक्रवार, श्रावण ३, २०७६
446

मलेसियाको विकल्प खोज्दै युवा कतार, साउदी र यूएई

मलेसियाको रोजगारी बन्द भएपछि खाडीका प्रमुख तीन देश कतार, साउदी अरेबिया र यूएई जाने नेपालीको संख्या शतप्रतिशतले वृद्धि भएको पाइएको छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्या १६ प्रतिशतले घटे पनि खाडीका प्रमुख तनि देश जाने नेपालीको संख्या एक वर्षमा २ लाखले वृद्धि भएको पाइएको छ ।
आर्थिक वर्ष २०७४-७५ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या २ लाख ४३ हजार रहेकामा गत आवमा सो संख्यामा ९५ प्रतिशतले वृद्धि भएर ३ लाख ९८ हजार पुगेको छ । मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेका कारण सो संख्या वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या १ लाख ३१ हजार १७९ रहेकोमा गत आवमा सो संख्यामा ५६ प्रतिशत वृद्धि भएर १ लाख ६१ हजार पुगेको वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

यसैगरी, अघिल्लो आवमा यूएई जाने नेपाली युवाको संख्या ६० हजार २४४ रहेकोमा सो संख्यामा ९८ प्रतिशत वृद्धि भएर असार मसान्तसम्म १ लाख १९ हजार ८५५ पुगेको छ । यसैगरी, साउदी अरब जाने नेपालीको संख्या पनि सो अवधिमा १७८ प्रतिशत वृद्धि भएर १ लाख १७ हजार ९०४ पुगेको छ ।
घट्दै वैदेशिक रोजगार
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगारीमा जाने क्रम विगत तीन वर्षमा लगभग एक चौथाईको दरले घटेको छ । तीन आर्थिक वर्षबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या २० प्रतिशतभन्दा बढीको दरले घटेको पाइएको छ ।
प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र मलेसियामा विदेशी श्रमिकमाथि हुने शोषण र स्वदेशमा रोजगारीका विकल्प खुलेसँगै नेपालबाट वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको हो । पूर्वसचिव एवं वैदेशिक रोजगार सुधार कार्यदल २०७५ का संयोजक पूर्णचन्द्र भट्टराईका अनुसार नेपालको वैदेशिक रोजगारी घट्नुमा पाँच कारण रहेका छन् । पहिलो कारणमा खाडी राष्ट्रमा द्वन्द्वको स्थिति सिर्जना भएपछि राष्ट्रिय भावना विकास भएका कारण सुरक्षित र बढी आम्दानी हुने काम आफ्नै नागरिकले गर्न थालेका छन् । “मध्यपूर्वका कतिपय देशले दक्ष र सीपयुक्त काम आफ्नै देशका नागरिकलाई दिन थालेका छन्,” भट्टराईले भने, “खाडीका मुख्य देशमा द्वन्द्वको स्थिति छ, यसले गर्दा खाडीमा हुने ठूला विकास निर्माणमा असर पारेका कारण रोजगारीका क्षेत्र खुम्चिँदै गएको छ ।” हाल द्वन्द्वपछिको आर्थिक मन्दीको कारणले खाडीमा ठूला परियोजनामा लगानी बढ्न सकेको छैन । यसका साथै नयाँ कामदार अदक्ष हुने भएकाले पहिला काम गरेका श्रमिकलाई माग धेरै गर्ने गरेको देखिएका कारण पनि नेपाली युवाको माग घटेको हो । फ्रि भिसा फ्रि टिकटको नीतिगत व्यवस्थाका कारणले व्यवसायीको नाफामा असर गरेसँगै माग ल्याउने क्रम घटेको उनले बताए ।
नियोगले कामदारको सुरक्षाका लागि मागपत्र प्रमाणीकरणमा केही कडाई गर्न थालेपछि माग कम आउन थालेको भट्टराईको भनाइ छ । सरकारले युवाको सुरक्षा र नक्कली मागपत्रको बिगबिगी भइ युवा ठगिने क्रम रोक्न नियोगमा मागपत्र प्रमाणीकरणको नीति लिएको छ । वैदेशिक रोजगारीमा जाने अदक्ष युवाको कमाई तुलनात्मक रुपमा कम भएका कारण पनि विदेश जानेको संख्यामा कमी आएको कतिपयको विश्लेषण छ ।