कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
336

इलाम-न कुनै सहकारी न त कुनै नाम दिएर गठन गरेर बनाइएको समूह । मात्र मन मिलेपछि इलामको रोङ गाउँपालिकाका किसानले अहिले सामूहिक तरकारी ब्यापार गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको कृषि उपज समूहमा बिक्री गर्दछन् ।
यसरी ब्यापार गरेको एक वर्ष भयो । स्थानीय गोविन्द पौडेलका अनुसार गाउँपालिका वडा नं. ६ रम्भ्याङ्गका किसानले उत्पादन गरेको तरकारी सामूहिक रूपमा बजारमा लैजान थालेका छन् । किसानले उत्पादन गरेको तरकारी ब्यापारीले खरिद गरेर झापाका बजारमा लैजाँदा ब्यापारीले तोकेकै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो । तर समूहमा वजारीकरणमा जुटेका किसान हाल न त बजार खोज्दै हिँड्नुपर्ने झन्झटमा छन् न बेच्नका लागि दिनभर बस्नुपर्ने समस्या छ । उनीहरूले उत्पादन गरेको वस्तु गाउँकै एक समूहले बजार लैजान्छ । कृषकले घरैबाट र संकलन केन्द्रबाट कृषि उपज बजार पठाउँछन् । सामान तौलिन्छन् अनी बिहान सामान पठाउँछन् । बेलुका झापाका विभिन्न बजारमा होलसेल मूल्यमा बेचिएको सामानको बिलसहितको हिसाव घरमा नै पाउँछन् । निश्चत रकम समूहमा खट्नेहरूलाई दिइन्छ ।

किसानले होलसेल मूल्यमा कतिमा कुन सामान बिक्दैछ भन्ने जानकारी घरमा बसीबसी पाउँछन् । लामो समय तरकारीकै उत्पादन र ब्यापार गरेका किसानले विभिन्न होलसेल मूल्यमा नै तरकारी खरिद गर्ने ब्यापारीको नम्बरमा फोन गरेर भाउ थाहा पाएका हुन्छन् ।
यसरी तरकारी बेन्च थालेको एक वर्ष भइसकेको छ । विगत वर्षदेखि नै यहाँका किसानले यसरी सामूहिकरूपमा तरकारीको वजारीकरण गरिरहेका छन् । किसानले उत्पादन गरेको तरकारी समूहमा बजारसम्म लैजाने गरेको र खर्च कटाएर वितरण गरिने भएपछि किसानलाई पनि सहज भएको उनीहरू बताउँछन् । ब्यापारीहरूले पनि उचित मूल्यमा नै तरकारी खरिद गर्ने गरेको भन्दै किसान सन्तुष्ट छन् । किसानले प्रचलित बजारकै मूल्य पाउने गरेका छन् ।
मौसमी बालीमा भर परेका किसान सामूहिकरूपमा तरकारी बेच्न थालेपछि बेमौसमी उत्पादनमा जुट्न थालेका छन् । कृषि प्राविधिक र जानकारहरूसँगको परामर्शमा जुटेका किसानलाई प्रेरणाका लागि यस वर्ष तरकारी संकलन केन्द्र निर्माणका लागि रोङ गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । किसानको मेहनतलाई साकार बनाउन सक्दो सहयोग गरिने रोङ गाँउपालिकाका अध्यक्ष शमसेर राईको भनाइ छ ।
यहाँ उत्पादित काँक्राको ४ रुपैयाँ ३३ पैसा भाडा, एक रुपैयाँ संकलक खर्च, बोरा सुत्ली र निकासी कर बापत गरी हुन आउने खर्च ७ रुपैयाँ बिक्री भएको मूल्यमा घटाएर किसानले पाउने गरेका छन् । किसानसँगकै छलफलपछि सो मूल्य निर्धारण गरिएको हो । समूहले ढुवानीवापत झापासम्मको रकम अन्य ढुवानीभन्दा सस्तो पनि हो । बाहिरी ढुवानीकर्ताले सो भन्दा बढी मूल्य लिने गरेका छन् । गाडी हुनेहरूले पनि यसै समूहमार्फत ढुवानी गरिनुले समूहको ढुवानी सस्तो भएको स्थानीय गोविन्द पौडेल बताउँछन् । समूहले स्थानीय श्याम आचार्यलाई हिसावकिताव राख्न जिम्मा लगाएको छ । उनका अनुसार गत वर्ष उत्पादनको यो मुख्य सिजनमा प्रतिगोटा १५ रुपैयाँमा बेचेका काँक्रा यसवर्ष प्रतिगोटा २३ रुपैयाँमा बिक्री गरिहेका छन् । किसानले घरबाटै प्रतिगोटा २३ रुपैयाँका दरले काँक्रा बिक्री गर्दछन् ।
सरकारले शहरी क्षेत्र र पक्की सडकमा गाडीको भाडादर कायम गरेको भए पनि ग्रामीण सडकमा भाडादर तोकेको छैन । कहाँको भाडादर कति र कस्तो सडकको भाडादर कति भन्ने बारेमा स्पष्ट नहुँदा यसले किसान र ब्यापारीलाई समस्या हुने गरेको छ । समूहका अध्यक्ष इन्द्र प्रधानले सामूहिक प्रयास सफल हुँदै गएपछि किसानहरू समूहमा थपिँदै गएको बताए । महारानी झोडा साना किसान कृषि सहकारी संस्थाको प्रवद्र्धनमा जिर्मलेका साना किसान कृषि सहकारी संस्था स्थापना भएपछि यसले किसानलाई समूहमा लाग्न प्रेरित गरेको बताइएको छ । सोही संस्था मार्फत किसानलाई प्रविधि र सिप लिएर किसानहरू सामूहिक प्रयास थालेको बताउँछन् ।

टीका खतिवडा