गोपाल संग्रौला
बुधवार, श्रावण १, २०७६
468

 वैदेशिक रोजगारीबाट फर्केका नेपालीको कमाई अनुत्पादक क्षेत्रमा लगानी भइरहेको चर्चा धेरै हुने गरे पनि कतिपय नेपालीले भने अरुलाई रोजगारी दिने गरी साना तथा मझौता उद्योग लगानी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा लगानी गर्ने युवालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै उद्यमशिलता समेत बढेको छ । युरोप, अमेरिका, जापानजस्ता देशमा वैदेशिक रोजगारीको अवसर साधारण नेपालीको पहुँच बाहिर रहेको देखिएपनि अन्य श्रम गन्तव्यबाट फर्केर नेपालमा लगानी गर्नेको संख्या बढिरहेको छ । सानो क्षेत्रमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीलाई रोजगारी दिई उद्यमी बन्नेमा धेरैजसो युएई, दक्षिण कोरिया, मलेसियामा कार्यरत नेपाली रहेका छन् । चितवनका नवराज पौडेलले यो वर्ष वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा लगानी गरी रोजगारी सृजना तथा नेपाली अर्थतन्त्रमा सहयोग पु-याएकोमा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार स्वरुप १ लाख रुपैयाँ पाएका छन् । पौडेलले चितवन क्षेत्रमा लगानी गरेर स्थापना गरेको कान्तिपुर पोल्ट्रि व्रिडिङ फार्ममा वार्षिक १० करोड भन्दा बढीको कारोबार गर्दै आएका छन् । दुवईमा लामो समय पोल्ट्री फार्म, वास्ट मेनेजमेन्ट, होटल र सिपिङमा रोजगारी गरी फर्केका पौडेलले आधुनिक प्रविधिबाट नेपालमा पहिलो पटक कुखुराका चल्ला उत्पादन गर्दै आएका छन् । उनको फार्ममा ४८ जना नेपालीले रोजगारी पाएका छन् ।यसैगरी दक्षिण कोरियामा ४ वर्ष १० महिना प्लाष्टिकका सामग्री उत्पादन गर्ने कम्पनीमा काम गरेर फर्केका झापाका दिपक चापागाईले झापाको कन्काई नगरपालिकामा लाखौंको लगानीमा डायमण्ड स्टिल उद्योग संचालन गरेर १७ जना नेपालीलाई रोजगारी दिएका छन् । उनको उद्योगमा फलामका काँटी, नट बोल्ट, रड, स्टिल दराज र ग्रिलको काम हुने गरेको छ । उनले गरेको योगदानको कदर गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । यसैगरी काठमाडौंको नागार्जुन ६ मा मैत्री मंगत अर्गानिक कृषि फार्म स्थापना गरेका भोजपुरका निरबहादुर राउतले १२८ रोपनीमा संचालन गरेको फार्ममा ३० जना नेपालीलाई रोजगारी दिएका छन् । उनले युएईमा होटलमा काम गर्ने भएपनि आयात प्रतिस्थापन गर्न स्वदेशमा अर्गानिक कृषि फार्म खोलेको बताए । उनले पनि सरकारबाट ५० हजार राशीको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । यो फार्ममा मलेसिया बसेर आएका सिन्धुलीका एक बहादुर सिङताङको साझेदारी रहेको छ । सिङताङ मलेसियामा जनरल वर्कर र तरकारी खेतीमा कार्यरत रहेका थिए ।यसैगरी मकवानपुर हेटौडाका मनोजकुमार भारतीले कोरियामा पानी जहाज पार्टपुजामा रंग लगाउने काम गर्दागर्दै नेपाल फर्किएर फिट वेल गार्मेन्ट उद्योग स्थापना गरी तयारी पोशाक उत्पादन गर्दै आएका छन् । उनको उद्योगमा ९५ जना नेपालीले रोजगारी पाएका छन् । उनलाई पनि श्रममन्त्री गोकर्ण विष्टले ५० हजार नगद सहित प्रमाणपत्रबाट सम्मान गरेका छन् । यसैगरी गोरखाकी शर्मिला अधिकारी युएईमा ब्युटी पार्लरमा काम गर्दागर्दै नेपाल फर्किएर रामलक्ष्मण कृषि फार्म र राउत एन्ड सन्स बहुउद्देश्यीउ कृषि तथा पशुपालन फार्म स्थापना गरेर पशुपालन, तरकारी तथा फलफूल उत्पादन गरिरहेकी छिन् । उनको फार्ममा १५ जना नेपालीले रोजगारी पाएका छन् । उनलाई पनि सरकारले ५० हजार राशीको उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ । त्यस्तै कोरियामा गाडीको सामान बनाउने उद्योगमा काम गरेका कैलालीका त्रिलोक पनेरुले आलोक गार्मेन्ट उद्योगमा तयारी पोशाक उत्पादनको काम शुरु गरेर १५ जना नेपालीलाई रोजगारी दिएबापत सरकारबाट ५० हजार राशिकै राष्ट्रिय उद्यमी पुरस्कार प्राप्त गरेका छन् । छनोटका आधार मन्त्रालयले ११ वटा सूचकांकको आधारमा देशभरबाट धेरै उद्यमीले आवेदन दिएका मध्ये रोजगारी सृजना र पुँजी लगानी, स्थानीय साधन स्रोत र उर्जाको खपत, निर्यातमूलक, वैज्ञानिक प्रविधिको प्रयोग, राज्यलाई कर सहयोग, सामाजिक उत्तरदायित्व र वातावरणमैत्री उद्योगका आधारमा छनोट गरेको जनाएको छ ।