कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
425

नेपालमा हाल एक तिहाई जनसंख्यामा न्यूनमात्र सीप रहेको एक अध्ययनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको मानव संशाधन निर्देशक समिति अन्तर्गतका संयोजक डा. रुद्र सुवालको ८ सदस्यीय कार्यदल रहेको जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना कार्यदलले तयार पारेको उक्त प्रतिवेदनअनुसार नेपालमा १ करोडभन्दा बढी जनशक्ति न्यून सीप भएका छन् ।
प्रतिवेदनले सीप अनुसार जनशक्तिको ४ तहमा वर्गीकरण गरेको छ । सीप तह १ मा न्यून प्राथमिक ज्ञान भएका कामदार(जनशक्ति), सीप तह २ मा मध्यदक्षता भएका जनशक्ति, सीप तह ३ मा स्नातकसम्म अध्ययन गरेका उच्च दक्षता र सीप भएको जनशक्ति, सीप तह ४ मा उच्च उत्कृष्ट दक्षता र सीप भएको स्नात्तकोत्तर र विद्यावारिधी गरेका जनशक्ति भनेर तोकेको छ । यस्तै, सीप तह–४ जनशक्तिको हिस्सा आव २०७४-७५ मा १.७६ प्रतिशत अर्थात करिब २ लाख रहेकोमा सो प्रतिशत २०९९-२१०० मा ३.८५ प्रतिशत बढाएर ८ देखि १० लाख पुग्ने अनुमान गरिएको छ । सो हिस्सा सीप तह ३ को जनशक्तिको सन्दर्भमा वर्ष २०७४-७५ मा ४.४४ प्रतिशतबाट २०९९-२१०० मा ११.४८ पुग्ने प्रक्षेपण गरिएको छ । सीप तह २ को जनशक्ति हिस्सा भने हालको (२०७४-७५) २९.७३ प्रतिशतबाट बढेर ५५.२८ प्रतिशत पुग्ने प्रक्षेपित अनुमान छ । न्यून सीप क्षमता भएको जनशक्तिको ठूलो हिस्सा ६४.७ बाट घटेर २९.३९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

न्यून सीप र क्षमता भएको जनशक्तिलाई शिक्षा तथा सीप विकासबाट क्रमशः सीपयुक्त क्षेत्रहरू (सीप तह २, सीप तह ३ र सीप तह ४ मा) बदल्नुपर्ने मान्यतामा न्यून सीप र क्षमता भएको जनशक्तिको अंश घटेको छ ।
यसरी अर्थतन्त्रमा आएको आर्थिक संरचनाको परिवर्तन सँगै जनशक्तिको संरचनामा पनि परिवर्तन हुने मान्यताका आधारमा यो अनुमान र प्रक्षेपण कार्य गरिएको छ । न्यून सीप र ज्ञान भएको जनशक्तिलाई उच्च सीपको जनशक्तिमा परिणत गर्न सकेको खण्डमा उत्पादकत्व बढेर जाने र सरकारले लिएको आर्थिक विकासको लक्ष्य र २४ वर्ष पछि अनुमान गरिएको प्रतिव्यक्ति आय १२ हजार अमेरिकी डलर पुग्ने डा. सुवालको भनाइ छ । जनशक्तिको यस्तो रूपान्तरणले मात्र उत्पादन-उत्पादकत्व बढी अपेक्षित उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने स्थापित मान्यतालाई अनुशरण गरिएको छ ।
जनशक्ति प्रक्षेपण तथा अनुमानका विवरण-आँकडाअनुसार पेशागत रूपमा जनशक्तिको औषत वार्षिक वृद्धिदर व्यवस्थापकहरू (५.५९), पेशाविदहरू (३ .८२), प्राविधिक तथा सहायक पेशाविदहरू (६ .३८) सहायक स्तरका कर्मचारीहरू-कामदारहरू (६.६४ प्रतिशत ) पुग्नेछन् । त्यस्तै सिल्पकला तथा कालिगढसम्बन्धी व्यापार गर्ने कामदारहरू ४.५ प्रतिशत, यन्त्र तथा मेशीन अपरेटर र जडान गर्ने कामदारहरू ५.२२ प्रतिशत, कृषि वन तथा माछापालन कार्यका दक्ष कामदारहरू २.३५ प्रतिशतले बढ्ने प्रक्षेपित अनुमान गरिएको छ । प्राथमिक पेशाका कामदारहरू भने औषत रूपमा वार्षिक १.८९ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रकाशित गरेको अन्तर्राष्ट्रिय स्तरको औद्योगिक वर्गिकरण र पेसागत वर्गिकरण को सीप तहअनुसार कसीमा राखेर हेर्दा नेपालको जनशक्तिमा सीपतह तह ३ र ४(माथिल्लो सीप तह) मा पर्ने जनशक्तिको हिस्सा १० प्रतिशत भन्दा पनि थोरै छ । मन्त्री पोखरेलले उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका थिए । सरकारले २०७५ असोज २८ मा जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदल गठन गरेको थियो ।