कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
757

इन्छन् - दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले घोषणा गरेको नयाँ नियमअनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढीमा १५ जनामात्र एउटा कोठामा राख्न पाउने भएका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ ।
एक जना कामदारका लागि २.५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्यख छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदातासमक्ष आह्वान गरेको छ ।
त्यस्तै, जीवनयापनका लागि चाहिने अत्यावश्यक स्नानकक्ष, व्यवस्थित शौचालय, भेन्टिलेशन, जाडोका लागि हिटर र गर्मीका लागि एसी, बत्तीको राम्रो व्यवस्थापन र इमर्जेन्सी ढोकाको पनि व्यवस्थापन गर्नुपर्ने छ ।
त्यसैगरी, व्यक्तिगत गोपनियता र सुरक्षाका लागि ढोकामा चावि र व्यक्तिगत सम्पत्ति सुरक्षाका लागि लकर आदि पनि हुनुपर्ने हुन्छ । आप्रवासी कामदारका लागि लागू गरिएको यो नियमको बारेमा मालिकहरुलाई जानकारी गराइने र आगामी श्रम सम्झौतामा यी कुराहरु उल्लेख गरी सम्झौतापत्र बनाइने मन्त्रालयले जनाएको छ । “हामी आप्रवाशी कामदारको न्यूनतम बसाइस्तरलाई सरल र सहज बनाउने छौं,” एक कर्मचारीले भने ।

इन्छन्मा अर्गानिक कृषि तालिम लिँदै नेपाली
रोजगारीका लागि दक्षिण कोरिया आएका केही नेपाली युवाहरुले आधुनिक अर्गानिक कृषि तालिम लिइरहेका छन् । जुन १८ आइतबारदेखि सुरु तालिम आगामी सेप्टेम्बर १ सम्म हुनेछ ।
इन्छन्को मोइदोस्थित सिल्मीवन कृषिफार्ममा भएको तालिमको दोस्रो भागमा अर्गानिक किटनाशक औषधी कसरी बनाउने र वालीनालीलाई दिने तरिका, वालीनालीमा लाग्ने किराफट्याङ्गा्र र तिनिहरुले ल्याउने विभिन्न भाइरसको रोकथामका लागि आवश्यक पर्ने औषधी कसरी बनाउने, कसरी प्रयोग गर्ने, विउविजन कसरी सुरक्षित राख्नेलगायतका विषयमा कृषिफार्मका संचालक एवम् कृषिविद सिन सुन ख्योले प्रशिक्षण दिएका थिए ।
कृषिविद ख्योले नेपालको हावापानीमा जुनसुकै प्रकारका बालिनाली र फलफूल सजिलै उत्पादन गर्न सकिने बताउँदै मौसम राम्रो भएका कारण थोरै लगानीमा धेरै उत्पादन गर्न सकिनेमा जोड दिएका थिए ।
खाया इन्टरनेशनलले सउल नगरपापलिकाको सहयोगमा आयोजना गरेको उक्त तालिममा ३२ जना नेपाली युवाहरु सहभागी छन् । उनीहरुलाई अर्गानिक कृषिफार्मका संचालक एवम् कृषिविद सिन सुन ख्योले प्रशिक्षण दिइरहेका छन् । कृषिविद सिनले सन् २००२ मा अर्गानिक कृषिफार्म खोलेर कृषि बालीनाली तथा पशुपालनसम्बन्धी प्रशिक्षण दिँदै आइरहेका छन् । उनले नेपाल लगायत अन्य विभिन्न देशहरुका युवाहरुलाई पनि प्रशिक्षण दिइरहेका छन् ।
खाया इन्टरनेशनलका संस्थापक छे सून थे ले कोरियामा सिकेको सिपलाइ स्वदेश फर्केपछि उचित उपयोग गर्ने आशा व्यक्त गरेका छन् । तालिम संचालन हुने सम्बन्धी जानकारी सामाजिक संजालमार्फत् दिइएको र पहिलो सम्पर्कमा आउने युवालाई प्राथामिकता दिइएको संयोजक यम श्रेष्ठले जानकारी दिए । किमे आप्रवाशी सहयोग केन्द्रका संचालक यज्ञराज सुवेदीको पहलमा तालिम संचालन गरिएको उनले बताए । तालिममा ज्ञान सागर भण्डारीले भाषा अनुवाद गरिरहेका छन् ।
तालिम लिइरहेका युवाहरु उत्सुक छन् । उनिहरु स्वदेश फर्किएर अर्गानिक कृषिमा केहि नयाँ काम गर्ने प्रशिक्षार्थीहरुको उदेश्य छ ।
यसैबीच, कोरियाका पूर्व प्रधानमन्त्री तथा विपक्षी लिबर्टी पार्टीका अध्यक्ष ह्वान क्यो आनले आफूले बोलेको ‘आप्रवाशी कामदारलाई असमान ज्याला गर्नुपर्छ’ भन्ने भनाइ फिर्ता लिएका छन् । उनको भनाइलाई लिएर चौतर्फी आलोचना भएपछि संसदीय बैठकमा उनले आफूले बोलेको कुरा फिर्ता लिँदै उनले भने, “मसँग क्षमा माग्ने कुनै शब्द छैन । मेरो भनाइको अर्थ आप्रवाशी वा स्थानिय कुनैपनि कामदारहरुबीच भेदभाव गर्ने थिएन । अर्थ मोडिएको हो ।”
उनले कोरियामा अझै थप आप्रबाशी कामदार आवश्यक भएको बताएका छन् । न्यूनतम ज्यालाको विषयमा सरकार जिम्मेवार रहेको उनले संचारकर्मीहरुलाई बताएका छन् । उनले बुसान उद्योग वाणिज्य संघमा स्थानिय व्यवसायीहरुसँगको भेटमा कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुनुपर्ने राय व्यक्त गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सन् २०२० का लागि न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन पु-याउने कार्ययोजना बनाइरहेका छन् । ह्वान बर्खास्त पूर्व राष्ट्रपति पार्क गु हेको कार्यकालमा करिब २ वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । श्रम नियामावलीको धारा ६ का अनुसार लैंगिक, राष्ट्रियता, धार्मिक, सामाजिक मूल्यमान्यताका आधारमा कुनैपनि कामदारलाई भेदभाव गर्न पाइने छैन । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले पनि ज्यालाको आधारमा कामदारलाई भेदभाव गर्न नपाइने जनाउँदै आइरहेको छ ।
कोरियाले सन् २०१८ मा २०१९ (यो वर्ष) का लागि १०.९ प्रतिशतले ज्याला वृद्धि गरेको थियो । सन् २०१८ मा प्रतिघण्टा ७५३० वन थियो भने यसवर्ष ८३५० वन छ ।

निकुञ्ज तिवारी