कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
348

इलाममा असुरक्षित आप्रवासन र मानव बेचबिखन रोक्ने उद्देश्यले नयाँ परियोजना सुरु भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको सहकार्यमा ‘सामाजिक रूपान्तरणका लागि युवा’ नामक परियोजना सुरु भएको हो ।
बढ्दो असुरक्षित आप्रवासन र मानव बेचबिखन रोक्ने उद्देश्यले यो कार्यक्रम सुरु भएको बताइएको छ । यो परियोजना जिल्लाको माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित छ । कार्यक्रमअन्तर्गत युवा समूह परिचालन गरिएको छ । ‘सामाजिक रूपान्तरणका लागि युवा’ नारासहित ‘असुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका लागि युवा समूहको परिचालन परियोजना’ सशक्तीकरण युवा समूह गठन गरी अभियानका रूपमा अघि बढाइएको छ ।

वैदेशिक रोजगारीमा जानेको चाप बढिरहेको रोङ गाउँपालिका र माई नगरपालिकाका १६ वटै वडामा युवा सशक्तीकरण समूह गठन गरी अभियानमा उनीहरूलाई परिचालन गरिएको छ । स्थानीय पालिकाहरूको सहकार्यमा सबै क्षेत्र, लिंग, समुदाय समेटेर १८ देखि ३० वर्ष उमेर समूहका युवा समेटेर युवा सशक्तीकरण समूह गठन गरिएको परियोजना संयोजक सन्तोष मगरले जानकारी दिए । उनका अनुसार समूहमा वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा विभिन्न समस्या भोगेर मुलुक फर्किएका, आप्रवासी र आप्रवासनको सम्भावितहरू, समाजका अगुवा र सरोकारवालालाई समेटिएको छ । १६ वडामा २० जनाका दरले ३ सय २० जना सो समूहमा संगठित भएका छन् । त्यस्तै पालिकास्तरीय समितिमा २७ जना संगठित भएको उनी बताउँछन् ।
९२ लाख २५ हजार रुपैयाँको परियोजना ११ महिना सञ्चालन हुनेछ । त्यसमध्ये ३२ लाख २८ हजार ७ सय ५० रुपैयाँ प्रशासनिक र सामग्री खर्च तथा ५९ लाख ९६ हजार २ सय ५० रुपैयाँ कार्यक्रममा खर्च हुने जनाइएको छ । परियोजनाको कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नका लागि युवा सशक्तीकरण समूहमार्फत विभिन्न तालिम सञ्चालन गरिने मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए ।
युवा सशक्तीकरण समूहलाई सुरक्षित आप्रवासन, मानव बेचबिखन, समूह परिचालन, नेतृत्व विकाससम्बन्धी ४ दिवसीय तालिम १६ वटै वडाका समूहका ३ सय २० जनालाई दिइसकिएको छ । त्यस्तै १६ वडाका २ सय ३५ जनालाई ७ दिवसीय उद्यमशिलता विकास तालिमसमेत सञ्चालन गरिएको छ । तालिम लिएकालाई सीप विकास आवश्यक परेमा छनोट गरेर सीपमूलक तालिमसमेत दिइनेछ । तालिम लिएर उद्यम गर्न इच्छुकलाई बीउ पुँजीको रूपमा केही रकमसमेत उपलब्ध गराउने कार्यक्रम रहेको निर्देशक विश्वकर्माले जानकारी दिए । युवा सशक्तीकरण समूहमार्फत मानव बेचबिखनविरुद्ध अभियान चलाउने र बेचबिखनमा परेर फर्किएकालाई समाजमा पुनःस्थापना गराउने परियोजनाको लक्ष्य छ ।
परियोजना अन्तर्गत ४ स्थानमा वैदेशिक रोजगार परामर्श केन्द्रसमेत स्थापना गरिएका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, परियोजना आयोजक संस्था मानव अधिकार मञ्च नेपाल इलाम तथा परियोजना सञ्चालित रोङ गाउँपालिका र माई नगरपालिकामा परामर्श केन्द्र स्थापना भएका हुन् । परामर्श केन्द्रमार्फत सुरक्षित वैदेशिक रोजगारीका सम्बन्धमा आवश्यक परामर्श दिइने बताइएको छ ।
परियोजना अन्तर्गत अहिंसात्मक सञ्चार, सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण तालिम, साप्ताहिक रेडियो कार्यक्रम, सञ्चारकर्मीसँगको अन्तरक्रिया लगायतका कार्यक्रम रहेका छन् ।
एडब्लू ओ नामक अन्तर्राष्ट्रिय जर्मन संस्थासँगको साझेदारीमा मानव अधिकार मञ्च नेपाल इलामले रोङ र माईमा परियोजना सुरु गरेको हो । मुख्यगरी युवालाई असुरक्षित आप्रवासन, मानव बेचबिखन रोक्ने र उद्यमशिलतामा संलग्न गराई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन भइरहेको परियोजना संयोजक मगरले जानकारी दिए । कार्यक्रम आगामी डिसेम्बरसम्म सञ्चालन हुने बताइएको छ । करिब एक वर्षमा त्यस क्षेत्रमा सुरक्षित वैदेशिक रोजगारमा जान र मानव बेचबिखनमा कमी आउने बताइएको छ ।