कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
555

स्याङ्जाको फेदीखोला गाउँपालिकाले रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना बमोजिम उक्त कार्यक्रमले पहिलो चरणमा बेरोजगारमा सूचिकृत ५७ ब्यक्तिलाई सडक मर्मतसम्बन्धी काम प्रदान गरेको हो ।
पालिकाका ५ वटै वडाबाट ६ सय ४९ जनाको आवेदन परेकोमा निवेदकको आर्थिक अवस्था र रोजगारीको आवश्यकताको प्राथमिकताको आधारमा पहिलो चरणमा १८ देखि ५९ वर्षका ५७ जनालाई छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।

छनोट हुन बाँकी रहेका अन्य निवेदकलाई आगामी आर्थिक वर्षमा समेटिँदै लैजाने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार छनोट भएका प्रत्येक व्यक्तिले न्यूनतम १० दिनको दरले रोजगार पाउने र उनीहरूलाई दैनिक ७ सय ५० पारिश्रामिक प्रदान गरिनेछ ।
फेदीखोला–खड्केटारी–बाँगे–पञ्चासे, कुभिण्डे–मट्टिखान–नुवाकोट, सर्केटारी–पञ्चासे, सर्केटारी–टोड्के, फेदीखोला–कालाभैरब–नुवाकोट, फेदीखोला–पोखरी–कर्मीडाँडा–मट्टिखान सडक खण्ड मर्मत सम्भारमा उक्त जनशक्ति परिचालन गरिनेछ ।
आफ्नो क्रियाशील उमेर, शक्ति, जोस र जाँगर घरपरिवारसँग टाढिएर खाडीमा गएर खर्चिनुभन्दा आफ्नै ठाउँमा खर्चिंदा विकास सँगसँगै सन्तुष्टि मिल्ने अध्यक्ष सुवेदीको भनाइ थियो । “बाहिर गएर जोखिम साथ थ्री डी (डर्टी, डेन्जर र डिफिकल्ट) काम गर्नु भन्दा आफ्नै क्षेत्रमा खटिनुहोस् ।” उनले भने, “तपाईंले आफ्नो पारिश्रामिकसँगै आफ्नै क्षेत्र पनि विकास गरिरहनुभएको हुनेछ ।” सहभागीलाई आह्वान गर्दै अध्यक्ष सुवेदीले बाँकी रहेका निवेदकलाई समेटदै लैजाने बताए ।
कार्यक्रमका संयोजक रुपक बरालले रोजगार ऐनले प्रत्येक व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी प्रत्याभूत गरेको र त्यसलाई सार्थक बनाउनुका साथै अझ बृहत् बनाउन गाउँपालिकाको रोजागार सेवा केन्द्र लागिपरेको बताए ।
रोजगारमा आबद्ध हुनेलाई संयुक्त रूपमा गल, गैँची, बेल्चा, गाडा, घन, फोरुवा, ज्याकेट, हेल्मेट, पञ्जालगायतका निर्माण सामग्री हस्तान्तरण गरिएको थियो भने छनोट भएका प्रत्येक व्यक्तिको शून्य मौज्दातमा बैंक खाता पनि खोलिएको छ ।