कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
366

हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै दुई सय युवालाई स्वरोजगार बनाएको छ । हिमा पालिकाले सात वडाका एक सय ९४ जना बेरोजगार युवालाई १५ दिन रोजगार दिने भएको छ । बेरोजगार युवालाई छनोट गरी रोजगार कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।
उनका अनुसार एक सय ९४ जना छनोट भएका र केही इच्छुक युवा आउने क्रम जारी रहेकाले संख्या बढ्न सक्ने बताए । “प्रतिदिन काम गरेवापत ६ सय ६० रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने गरी काम सुरु गरेका छौं,” उनले भने, “यस आर्थिक वर्षमा २७ लाख बजेट आएको थियो ।”

सोही बजेटको आधारमा युवालाई रोजगारी प्रदान गर्न लागेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् । गाउँपालिका–१ देखि ७ वडासम्म गोरेटो बाटोदेखि ढल निकास (नाला खन्ने), मन्दिरको घेरबार पर्खाल निर्माण र विद्युत् मर्मतका योजना छन् । १५ दिनको अवधिभर हिमा गाउँपालिकामा विभिन्न विकास निर्माणका काम हुनेछन् ।
सिञ्जाले सडकको स्तरवृद्धि गर्ने
सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८ सय मिटर सडक स्तरवृद्धि गर्ने भएको छ । गाउँपालिकाले टुक्रे योजना छनोट नगरी धिलालिहिको पक्की पुलदेखि गाउँपालिकाको कार्यालयसम्मको १८ सय मिटर सडकलाई ग्राभेल गरी स्तरवृद्धि गर्ने भएको हो ।
प्रत्येक वडाका २१ जना युवालाई रोजगार दिने गरी उक्त काम सुरु गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । यस गाउँपालिकामा ६ वडाका १ सय २६ जना युवाले रोजगार पाएको उनले बताए । रारा तालमा आउने पर्यटक बढी आवतजावत गर्ने भएकाले यहाँको सडकलाई स्तरवृद्धि गर्नुपर्ने आवश्यकता देखिएकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको २९ लाख बजेट यसैमा खर्च गर्ने निर्णय गरेका हौँ । प्रतिव्यक्ति ६ सय रुपैयाँ पारिश्रमिक पाउने गरी न्यूनतम १८ दिन काम गर्नेछन् ।
त्यसैगरी गुठीचौर गाउँपालिकाले एक सय २६ जना बेरोजगार युवालाई ३० दिन रोजगार दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको २८ लाख बजेट सडक मर्मतदेखि तटबन्ध, सिँचाइ मर्मतको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । पातारासी गाउँपालिकाले दुई सय ३८ जना बेरोजगार युवालाई २० दिन रोजगार दिने भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको ३३ लाख र गाउँपालिकाको दुई लाख ५० हजार बराबर रकमको २० दिन रोजगार दिने भएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार रोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतदेखि खानेपानी मर्मतका काम हुनेछन् । उनले भने अहिले प्राविधिक स्टिमेट भइरहेको छ । अब काम सुरु गर्छौं ।