प्रकाश पाक्साँवा
बिहिवार, जेठ ३०, २०७६
436

 २०३२ सालतिर एक बालिकालाई कतिबेला आमा आउलिन् र आफ्नो पेट भरिएला भन्ने चिन्ताले सताइरहन्थ्यो । बिहान खाएको खोले भातले दिउँसो नै छाडेर पेटमा मनसाप्रोहरूले म्याराथुनमा भाग लिएजस्तै भइसक्यो, काखमा बोकेको भाइ पनि कति साह्रो रोएको ? नरोओस् पनि किन । बिहान आमाले छोड्न लाग्दा एकछिन बुुबु खाएको मात्रै । जब साँझ परयो, आमा आइपुगिन् ठूलो सास आयो, भोकले पनि एकछिन बिर्सियो ।
आमासँग दाजुहरू र दिदी पनि आइन् । अनि हतारहतार आमाले पकाएको भात खाएपछि आनन्दको निन्द्रा, भुसुक्क निन्द्राले छोप्छ । यो एकदिनको मात्र होइन, सयौं दिन यस्तै किन यसरी मलाई सानो भाइसँग एक्लै छाडेर सबै खै कहाँ गएका होलान् ? दिनभरि सबै घरमै बसे हुन्न थियो होला र ? यस्तै यस्तै प्रश्न र सवालले मनमा साम्राज्य जमाउँथ्यो तर जिज्ञासा कसले मेटाउने ?

खोटाङ जिल्ला ऐसेलुखर्क गाविसकी ६ वर्षीया सुभद्रा राजभण्डारी सानै छँदा बुबाले श्रीमतीसँगै परिवार छाडेर असामतिर लागे पनि यो परिवारलाई दुःखले भने कहिल्यै छाडेन । सधैको बनिबुतो, ज्यालामजदुरी, अर्काको मेलापात नगएसम्म घरमा चुल्हो बल्दैन थियो । सुभद्राको आमा लक्ष्मीले आफ्नो अलिक हुर्किएका दुई छोरा र एक छोरीलाई पनि साथमा लिएर अरुको काम गर्न जान्थिन् । उनीहरूले पनि आफूले सकेको काम गर्थे अनि दाम पनि काम गरेअनुसारको पाउँथे ।
सँगैका साथीहरू स्कुल पढ्न जान्थे तर यो राजभण्डारीको परिवारलाई भने कहिल्यैै दुःखले छाडेन । विस्तारै एकदिन स्कुल र एकदिन मेलापात जाने आमाको सल्लाहअनुसार सुभद्राको दाजु दिदी र उनी पनि स्कुल जान थालिन् । स्कुलमा कसरी गृहकार्य गर्ने भन्नेभन्दा पनि कसकोमा काम गर्नु जानुपर्ने होला भनेर मनमा खुल्दुली बढिरहन्थ्यो । यसरी नै बिते दुःखका दिन ।
समय पनि कति छिटो बितेको । आज भन्दै भोलि भन्दै सुभद्राले काम र पढाइलाई निरन्तरता दिइरहिन् । उनले २०५० सालमा एसएलसी दिइन् । परीक्षाको नतिजा बिग्रिएपछि पढाइ छाडेर केहि सिप सिकेर आम्दानी गर्ने सोच पलायो । ०५१ साल साउनमा घरेलु तथा साना उद्योग विकास कार्यालयले खोटाङमा आयोजना गरेको तीन महिले ढाका कपडा बुन्ने तालिममा सहभागी हुने अवसर सुभद्रालाई मिल्यो । त्यो तालिमले उनलाई ढाका बुनेरै केही गर्छु भन्ने आत्मविश्वास बढ्यो । घरैमा एउटा सानो तान राखेर ढाका बन्ने कार्य सुरु भयो ।
दैनिकी नै तानमा बसेर बित्न थाल्यो । बसीबसी ढाका टोपी, सल, चौबन्दी, मफलर, रुमाल उत्पादन हुन थाल्यो । उनको कामको चर्चा खोटाङ बजारभरी फैलिन थाल्यो– त्यो नेवारनी केटीले कति राम्रा–राम्रा ढाका कपडा बुन्छे भनेर । सोही कारण २०५२ सालतिर घरेलु तथा साना उद्योग विकास कार्यालयले तीन महिने तालिममा प्रशिक्षकको रुपमा झिकायो । तालिममा प्रशिक्षककै रुपमा तेह्रथुमबाट आएका भीम विश्वकर्मासँग उनको भेट भयो । तालिम अवधीभर एउटै कार्य क्षेत्रमा रहेका सुभद्रा र भीमबीच राम्रै मित्रता अंकुरायो ।
भेट भएको दुई वर्षपछि उनीहरूले भागी विवाह गरे । दलितसँग भागेकै कारण सुभद्राले सधैका लागि आफ्नो माइतीघर भुल्नुप¥यो । भागेर आएको बिकको घरमा पनि उनलाई राम्रो व्यवहार भएन । आफूहरूलाई टिकाटालोसम्म नगरिदिएको याद सुभद्रालाई अझैपनि झल्झली छ । माइतीघर छोडे पनि दुःखले छोडेन । सायद आर्थिक कमजोर भएकैले होला विहे पनि नगरिदिएको । दुःखका दिन फेरी सुरु भयो ।
भीमको घर तेह्रथुमको तम्फुला । पाँच दाजुभाइ, तीन बहिनी र बुबाआमा गरी दशजनाको परिवार थिए । खान लाउनको समस्या निकै थियो । ढाकाको कपडा तयार गर्ने सीप सुभद्रा र भिम दुवैमा छ तर सिप भएर मात्र के गर्नु पुँजी नभएपछि । बिहे गरेको एक वर्षपछि राधिका अधिकारीले खोलेको ढाका कपडा उद्योगमा दम्पतीले नैे काम गर्न थाले । पाएको तलबले खान लाउन र घरभाडा तिर्न मात्र पुग्यो । फेरि तेह्रथुम छाडेर दुबैजनाले धनकुटाको मौनाबुधुकमा राजकुमारी लिम्बूको ढाका उद्योगमा काम खोज्न पुगे । करिब दुई वर्षको बसाइपछि पुनः उनीहरू तेह्रथुम फर्किए एक छोरालाई लिएर । भर्खरैबाट ढंगराज पराजुलीले कपडा उद्योग खोलेका थिए, त्यही रोजगारी पाए सुभद्रा र भिमले ।
आफूले जम्मा गरेको केही पैसा र शिंहदेवी महिला समूहको सिफारिसमा कृषि विकास बैंकले दिएको १५ हजार ऋण लिएर आफ्नै ढाका कपडा उद्योग सञ्चालनमा ल्याए । उनीहरूको सरस्वती ढाका कपडा उद्योगमा उत्पादन भएको कपडा र उद्योग २०५९ सालमा भएको भिषण आगलागीका कारण खरानी भयो । सो बेलामा म्याङलुङ बजारका ८६ वटा घर जले । त्योसँगै शुभद्राको उद्योग पनि जलेको थियो । बल्लतल्ल दुःखले खोलेको उद्योग र त्यहाँका उत्पादन क्षणभरमै खरानी भएपछि रुनुको विकल्प थिएन उनीहरूलाई ।
सबै ठाँउबाट हरेश खाएपछि भिमले विदेश जाने निधो गरी साउदी अरेबिया हानिए । सात वर्षको उराठलाग्दो प्रवासको बसाइले बिकलाई कमाउन होइन, ऋण तिर्नसमेत धौधौ भयो । उनी निराश बनी घर फर्के । भिम खाली हात फर्किएका बेला शुभद्रा मरणासन्न बिरामी भइन् । आफन्त, साथीभाइ र साहु गरी सहयोग मागी उनले श्रीमतीलाई विराटनगर लगि उपचार गरे ।
उपचार खर्चबाट बचेको पैसा र केही दाताको सहयोगले फेरी पुरानो उद्योगलाई उनीहरूले ब्यूँताए । संयुक्त राष्ट्र संघीय निकाय (युएनडिपी)ले गरिबी निवारण योजना अन्तर्गत लघु उद्यम विकास कार्यक्रम अन्र्तगत उद्योग सुरु गर्न आवश्यक तान, अन्य उपकरण र २० हजार रुपैयाँ ऋण र तयारी ढाका उत्पादन बेच्नका लागि पसल खोल्न समेत सहयोग गरेको थियो । यससँगै ढाका कपडाको आफ्नै पसल पनि खोलिन् शुभद्राले । समय बित्दै गयो, ढाका कपडा उद्योग र पसलले विस्तारै राम्रो आम्दानी दिन थाल्यो । पसलमा आफ्नै घरेलु ढाका उद्योगबाट उत्पादित साडी, पछ्यौरा, टोपी, स्कार्फ, सल, नेकटाई, ब्लाउज, सर्ट, रुमाल ,चौबन्दी, कुर्ता, कोट आदि सामान बिक्रीका लागि राखेकी छिन् ।
उनको उद्योगमा निम्न आय भएका महिलाहरूलाई रोजगार दिनको लागि १० वटा तान छ । उनको उद्योगमा काम गर्ने महिलाहरूले प्रति महिना करिब १५ हजारसम्म कमाउने गरेका छन् । विस्तारै आफ्नो व्यवसाय बढाउँदै लगेकी शुभद्राले अहिले ५० जना भन्दा बढीलाई रोजगार दिएकी छिन् । उनीहरूले उत्पादन गरेका ढाकाका सामान शुभद्राले जिल्लादेखि बाहिर धरान, धनकुटा, इटहरी, विराटनगर र काठमाडौं सम्म पठाउने गर्छिन् । ढाका कपडाको माग अहिले पनि धेरै रहेको उनको भनाइ छ । “उत्पादन भएपछि कहाँ लगेर बेच्नु भन्ने चिन्ता छैन,”उनी भन्छिन् ।
शुभद्राका श्रीमान भिम पनि ढाका बुनाई तालिम दिनमै व्यस्त छन् । जिल्लामा विभिन्न संघसंस्थाले आयोजना गरेको ढाका बुनाई तालिममा शुभद्रा र उनका श्रीमानलाई तालिम दिन भ्याई नभ्याई छ । आफ्नो पेशाबाट पूर्ण रुपमा सन्तुष्टि मिलेको सुभद्राले बताइन् । उनले भनिन् “मेरो लागि ढाका नै सबैथोक हो ।” अचेल ढाकाबाट बनेका पर्दा, ढाकाका जुत्ता, झोला, कुसन आदिको पनि निकै बजारमा माग बढेको शुभद्राले बताइन् ।
यही पेशाबाट सुभद्राले विभिन्न पुरस्कार पनि हात पारिसकेकी छन् । उनले घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयले २०७१ सालमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको रजत महोत्सवमा उत्कृष्ठ उद्यमी पुरस्कार, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल सरकार विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले २०७० सालमा आयोजना गरेको १२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा उत्कृष्ट उद्यमी पुरस्कार, २०७० सालमा इलाममा भएको क्षेत्रीय औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनीमा उत्कृष्ठ पुरस्कार पाइसकेकी छन् । “सानातिना संघ संस्थाहरूले दिएको पुरस्कार, प्रमाणपत्र र सम्मानपत्र कति छन् कति,” उनले सुनाइन् ।
ढाका उद्योगबाट मासिक एक लाख भन्दा बढी कमाइ हँुदै आएको छ । शुभद्राको छोरा ओभरसियर तेस्रो वर्ष र छोरीले साईन्स विषय लिएर पढ्दैछन् । उनीहरूको पढाई खर्च पनि ढाका उद्योगले नै धानेको छ ।
३० वर्षअघि माइतीबाट दुःखको पोको लिएर तेह्रथुम आएकी सुभद्राले विभिन्न कष्ट, अभाव र चिन्ताको बीचबाट हिम्मत बटुलेर संघर्षलाई निरन्तरता दिइरहेपछि अहिले सफल उद्यमीको परिचय बनाएकी छिन् ।