कृञ्जला पुलामी
बिहिवार, जेठ ३०, २०७६
346

सिन्धुलीको सुनकोसी गाउँपालिका–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईको बारीमा यतिबेला झकमक्क सयपत्री फूल फुलेको छ । वर्षभरिको छाक टार्ने जमिनमा उनले यसरी व्यावसायिकरूपमा नै फूलखेती सुरु गरेको ४ महिना भयो । वर्षभरिमा ३ हजारको अन्नबाली उत्पादन हुने जमिनमा उनले फूलखेती गरेपछि राम्रो आम्दानी हुन थालेको बताउँछन् ।
उनले खेती सुरु गरेको पहिलो लटमै ६० हजार रुपैयाँ बराबरको फूल र माला बिक्री गरेको बताए । उनले भने, “आधा रोपनी जमिन पनि थिएन । त्यति जग्गामा मैले फूलबाट ६० हजार रुपैयाँ कमाउन सफल भए । त्यसमा धान रोप्दा ३ हजार रुपैयाँ जत्तिको उत्पादन हुन्थ्यो ।”

यसरी फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि अहिले उनले खेती बढाएका छन् । ४ महिनाअघि आधा रोपनी जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले ६ रोपनी जमिनमा विस्तार गरेको ज्ञानप्रसादले बताए । उनले भने, “आफ्नै ठाउँमा केही गरौं न भनेर यो पेशालाई अँगालेकोमा अहिले सन्तुष्ट छु । अरु खेती गर्दा जस्तो दुःख छैन । छोटो समयमा नै उत्पादन लिन सकिन्छ ।”
भारतको कोलकत्ताबाट फूलको बीउ ल्याएर खेती सुरु गरेको उनले बताए । गाउँमै व्यावसायिक फूलखेती गरेपछि ज्ञानप्रसादले उनकै उमेरका अरु युवालाई पनि रोजगारी दिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाइसकेका ९ जना युवालाई विदेश जानबाट रोकेको बताउँदै अहिले उनीहरू फूलखेतीमा नै रमाइरहेको उनले बताए ।
वैदेशिक रोजगारीबाट फर्किएका उनीसँगै अहिले सुनकोसी–३ र ५ वडाका युवाले पनि उनलाई साथ दिएका छन् । उनीहरूले उत्पादन गरेका फूल दैनिकरूपमा राजधानी काठमाडौं निकासी हुने गरेको छ । अहिले दैनिक १४ हजार रुपैयाँको फूल तथा माला बिक्री भइरहेको उनले बताए । “कार्यक्रमहरुमा मालाको माग बढ्दो छ । उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” उनले भने, “विदेशमा गर्ने मिहिनेत आफ्नै ठाउँमा गर्नसके विदेशको भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ । तर कुनै पनि पेसालाई ठूलो वा सानो भन्नु भएन ।” विभिन्न स्थानको फूलखेतीको अवलोकन गरेपछि सम्भावना देखेरै लगानी गरेको बताउँदै उनले अहिले यसैबाट नाम र दाम दुवै दिइरहेको बताए ।
खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले रोजगारीका लागि फूलखेती भरपर्दाे माध्यम बनेको उनले बताए । व्यावसायिकरूपमा फूलखेती गर्नका लागि प्राविधिक ज्ञान, सीप भए आफ्नै ठाउँमा सजिलैसँग आम्दानी गर्न सकिने उनको भनाइ छ ।