कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
412

प्यूठान नगरपालिका–९ मरन्ठाना बुढादेवीकी सीता सुनार सिलाइ–कटाइ व्यवसाय सञ्चालन गरेको १५ वर्ष पुग्यो । १८ वर्षको कलिलो उमेरदेखि सिलाइ–कटाइ व्यवसायमा लागेकी उनी अहिले राम्रो आम्दानी लिँदै आएकी छिन् । व्यवसायबाट राम्रै प्रतिफल पाएसँगै यसै व्यवसायमा तल्लीन बन्दै आएकी हुन् । “आम्दानी राम्रै हुन्छ, खाली बस्नु परेको छैन,” सुनारले भनिन्, “मासिक २० देखि २५ हजार रुपैयाँसम्म कमाई हुन्छ ।”
कक्षा ८ मा पढ्दै गर्दा पारिवारिक बन्धनमा बाँधिएकी उनी आम्दानीका लागि पढाइ छोडेर व्यवसाय गर्न थालेकी हुन् । कम लगानीमा व्यवसाय संचालन गर्न सकिने हुँदा सिलाइ व्यवसाय रोजेको उनले बताइन् । स्थानीय स्तरमा सामान्य सिलाइ–कटाइ सीप सिकेर व्यवसाय गर्न थालेको उनले बताइन् । “व्यावसायिक सीपमा निखारता नहुँदा सुरुमा व्यवसाय सञ्चालन गर्न निकै कठिन भयो,” विगत संझिदै उनले भनिन्, “तर हिम्मत हारिन पछि ६ महिनासम्म सीप सिक्ने मौका मिल्यो । त्यसैको आधारमा व्यवसाय अगाडि बढाए ।” लघुउद्यम विकास कार्यक्रमको सहयोगमा सीप सिक्ने अवसर प्राप्त गरेको उनले बताइन् ।

सुनारका श्रीमान् स्थानीय ठाउँमै मिस्त्री काम गर्दै आएका छन् । दुई जनाको कमाईले परिवार सञ्चालनसँगै बचतसमेत हुँदै आएको उनले बताइन् । व्यवसायसँगै गाउँका अन्य महिलालाई उनले सिलाइ सीप सिकाउँदै आएकी छिन् । अहिले ५ जना महिला सीप सिक्न आउने गरेको उनले बताइन् । मासिक पारिश्रमिक लिने गरी उनले सीप सिकाउँदै आएकी हुन् । कामको चाँपले एक जना गाउँकै युवतीलाई पसलमा सहयोगीका रूपमा रोजगारी समेत दिएकी छिन् ।
पछिल्लो समय सिलाइ व्यवसायमा महिलाको आकर्षण बढ्दै गएको उनी बताउँछिन् । “पहिले पहिले एक÷दुइटा पसल मात्रै थिए,” उनले भनिन्, “अहिले यसमा आर्षण थपिँदै गएको छ ।” अन्य व्यवसायका तुलनामा पसलमै बसेर काम गर्न सकिने हुँदा महिलाका लागि यो व्यवसाय सहज हुने उनी बताउँछिन् ।