कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
266

स्याङ्जाको फेदीखोला गाउँपालिका र नेपाल सरकारको सशर्त अनुदानमा गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका युवा जनशक्ति परिचालन गरी उनीहरूलाई उद्यमशील बनाउने र उनीहरूकै माध्यमबाट रोजगार सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडा नं. १, २ र ४ का ३ वटा समूह जनजागृत युवा किसान समूह, प्रगतिशील युवा समूह, महाउद्यमी युवा समूहलाई उद्यम सञ्चालनार्थ ५ वर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ ।

“गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस, उद्यमशिलताको भरपुर उपयोग होस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालनमा ल्याएका हौं,” गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, “युवा उद्यम कार्यक्रमबाट ३ वटा समूहका ३० जना व्यवसायी बनिसकेको र उक्त ३० जनाको उद्यमशिलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने विश्वास गरेका छौं ।”
कार्यक्रमका लागि आवेदन परेका १२ समूहमध्ये छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशीलले कुखुरापालन र महाउद्यमीले बेकरी उद्योग चलाउने छन् । प्रत्येक समूहमा १६ देखि ४० वर्षभित्रका १० जना सदस्य छन् । समूहलाई पहिलो किस्तामार्फत ५० प्रतिशत रकम र उद्यमको कार्य प्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमनपछि प्रदान गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।
समूहले प्राप्त रकम १ वर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने, दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २० प्रतिशत, चौंथो वर्ष ३० प्रतिशत र पाँचौं वर्ष ४० प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्नेछ । गुणस्तर एवं परिणाममा काम नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुल उपर गर्ने, सदस्यलाई कालो सूचीमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा महाउद्यमी युवा समूहका अध्यक्ष डिलबहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले रकम सदुपयोग गरेर रोजगार हुन युवाहरुलाई आग्रह गरे ।