गोपाल संग्रौला
शुक्रवार, जेठ १०, २०७६
711

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोडने सम्बन्धमा मलेसिया सरकार समेत सकारात्मक देखिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक देखिएको हो ।
नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया भइरहेका बेला मलेसिया सरकारले समेत नेपाल सरकारले गरिरहेको नयाँ संस्था छनोट प्रक्रियालाई सकारात्मक रूपमा लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट प्रक्रियामा विगतमा देखिएको सिन्डिकेट हटाउने सम्बन्धमा काम गरिरहेका बेला मलेसियाले थप छलफल गरी निर्णय दिन बुधबारसम्मको समय मागेको छ । बिहीबार राजदूत पाण्डे र मन्त्री कुलासेघरनबीच मलेसिया जाने नेपाली श्रमिकको मेडिकल गर्ने स्वास्थ्य संस्थाको छनोट र प्रणालीका बिषयमा छलफल भएपछि मलेसियाले बुधबार अन्तिम निर्णय दिने भएको हो । छलफल मुख्य रूपमा नेपालमा आवद्ध हुन लागेका नयाँ स्वास्थ्य संस्थाको छनोटका बिषयमा केन्द्रित रहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

मन्त्री कुलासेगरनले नेपाल सरकारले नयाँ संस्था आवद्ध हुन आवहान गरिसकेको हुनाले यो संस्थालाई कुन प्रक्रियाबाट आवद्ध गर्ने भन्ने कुरा छलफलको मुख्य विषय हुने बताएको राजदूत पाण्डेले जानकारी दिए । “उहाँ (कुलासेगरन)ले चाँडोभन्दा चाँडो नेपाली कामदार मलेसियामा ल्याउनका लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट गर्ने बताउनु भएको छ,” राजदूत पाण्डेले कारोबारसँगको टेलिफोन कुराकानीमा भने “स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट भएपछि जति सक्दो चाँडो नेपाली श्रमिक ल्याउन मलेसिया आतुर छ ।”
नेपाल सरकारले सूचीकरण र छनोटको तयारी गरेका स्वास्थ्य संस्थाको अनुगमन दुवै देशले गर्ने कि नेपालले मात्र गर्ने भन्ने सम्बन्धमा पनि मलेसियाले गम्भीर रूपमा छलफल गरी निर्णय गर्ने जनाएको राजदूत पाण्डेले बताए । मलेसिया सरकारले यस सम्बन्धमा छलफलगरी बुधबार नेपाली दूतावासलाई जानकारी गराउने भएको छ । मलेसियाली पक्षले छलफल गर्ने र स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट मोडालिटीका बारेमा बुधबारसम्म नेपाली पक्षलाई निर्णय दिने भएको छ ।
स्वास्थ्य परीक्षण संस्थाको सिन्डिकेट तोडेर मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थालाई अनुमति दिने नेपाल सरकारको तयारी भइरहेका बेला मलेसियाले समेत चाँडो श्रमिक पठाउन छलफलमा नै अनुरोध गरेको छ । मन्त्री कुलासेगरनले समेत स्वास्थ्य परीक्षणको विषय छिटो टुंग्याएर नेपाली श्रमिक मलेसिया आउने वातावरण निर्माण गर्न नेपालसँग बारम्बार अनुरोध गरेको राजदूत पाण्डेले बताए । मन्त्री कुलासेगरन र राजदूत पाण्डेबीच पुत्रजयामा एक घण्टाभन्दा लामो छलफल भएको र यसमा नेपाली श्रमिकलाई मलेसिया ल्याउन गरिने स्वास्थ्य परीक्षण गर्ने संस्था छनोटका विषयमा केन्द्रित रहेको जनाइएको छ ।
मलेसिया जाने श्रमिकलाई बिभिन्न शिर्षकमा चर्को शुल्क असुलेको जनाउदै श्रम मन्त्रालयले एक वर्ष अघि मलेसियाको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा आवद्द संस्था खारेज गरी पारर्दशी प्रक्रियाबाट श्रमिक पठाउन गृहकार्य गर्दै आएको छ ।