कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
203

स्वर्गद्वारी आश्रमले गौमुत्र प्रशोधन सुरु गरेको छ । विभिन्न रोग निधानका लागि प्रयोग गर्ने गरी गौमुत्र प्रशोधन सुरु गरेको आश्रमले जनाएको छ । पेटसम्बन्धी ग्याष्ट्रिक, अल्सर, रुघाखोकी, बाथलगायत रोगको उपचारका लागि प्रशोधित गौमुत्र उपयोगी रहने आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले बताए । 

“प्रशोधित गौमुत्रसंगै आयुर्वेद डाक्टरको सल्लाहअनुसार विभिन्न जडिबुटी पनि मिसाउँदै आएका छौं,” न्यौपानेले भने, “अत्याधुनिक उपकरणमा आगोको तापबाट वाष्पीकरण गरी औषधिका लागि गौमुत्र तयार गरिन्छ ।” हर्रो, बर्रो, चिराइतो, अमलालगायत जडिबुटीहरू गौमुत्रमा मिसावट गर्ने उनले बताए । दैनिक ४० लिटर प्रशोधित गौमुत्र उत्पादन हँुदै आएको र १ सय ५० रुपैयाँ प्रतिलिटरका दरले बिक्री हँुदै आएको छ । आश्रममा आउने दर्शनार्थीले गौमुत्रको उपयोगिताबारे जानकारी लिने र खरिद गर्ने हुँदा बिक्रीका लागि समस्या नरहेको न्यौपानेले बताए ।

“दर्शनार्थीसँगै विभिन्न स्थानबाट गौमुत्रको माग बढ्दै आएको छ,” उनले भने । स्थानीय कोशेली घरबाट समेत प्रशोधित गौमुत्र बिक्री गरिँदै आएको छ । उत्पादन थालेको दुई महिनामा झण्डै पन्ध्र सय लिटर गौमुत्र बिक्री भएको उनले बताए । 

गौमाताका रूपमा आश्रममा झण्डै ५ सय गाई पालिएका छन् । यसले पनि गौमुत्र संकलनमा सहजता भएको छ । गौमुत्र प्रशोधनका लागि एकजना व्यक्तिलाई तालिम दिएर राखिएको छ । बाथरोगको समस्या भएका आफन्तलाई नियमित रूपमा प्रशोधित गौमुत्र पठाउने गरेको स्थानीय गुरुप्रसाद पोख्रेलले बताए । “गौमुत्रको सेवनले निको हुँदै गएको छ,” उनले भने, “नियमित रूपमा पठाइदिँदै आएको छु ।”आयुर्वेद औषधालय भिंगृका प्रमुख शिशिर पोख्रेलले गौमुत्रको सेवनबाट ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई फाइदा पुग्ने बताए । “गौमुत्रमा छारिएपन हुन्छ,” उनले भने, “यसको प्रयोगले अम्लियपनबाट हुने ग्याष्ट्रिक निको हुन्छ ।” स्वर्गद्वारी आश्रममा रहेको गौमुत्र प्रशोधन केन्द्र ।