कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
560

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषिजन्य ब्यवसाय सञ्चालनका लागि बेरोजगार युवालाई विनाब्याज दुई लाख रुपैयाँ सापटी दिने भएको छ ।


‘गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम’ मार्फत बेरोजगारलाई स्थानीयस्तरमा रोजगारी दिने लक्ष्यका साथ गाउँपालिकाले प्रक्रिया सुरु गरेको हो । कार्यक्रमअन्तर्गत कृषिमा आधारित ब्यवसायका लागि विनाब्याज प्रतिब्यक्ति दुई लाख रुपैयाँ दुई वर्षका लागि सापटी दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले जानकारी दिए । “कार्यक्रम कार्यान्वयनका लागि गत फागुन २७ गतेको गाउँकार्यपालिका बैठकले कार्यविधि पारित ग¥यो,” उनले भने, “हामी अहिले कार्यक्रम कार्यान्वयनको चरणमा छौं । कृषिको क्षेत्रमा काम गर्न चाहनेसँग प्रस्तावना माग गरेका छौं ।”


स्थानीयस्तरमा रोजगारी सिर्जना गरी बेरोजगारी अन्त्य गर्ने, कामका लागि अन्यत्र जाने चलन हटाउने तथा कृषिमा आधारित गाउँपालिका बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रमको कोषमा रहेको रकम उद्यमशिलता विकास, सीप विकास, प्रविधि हस्तान्तरणमा २० प्रतिशत खर्च गरिनेछ । यस्तै, ब्यवसाय बिमामा १० प्रतिशत र ७० प्रतिशत रकम ब्यवसाय सञ्चालनका लागि सापटी दिइनेछ ।


कृषिजन्य उत्पादन, भण्डारण, प्रसोधन र बजारीकरणका लागि मात्र कार्यक्रममार्फत सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । “हामीले कृषिमा आधारित गाउँपालिका बनाउने लक्ष्य लिएका छौं,” उनले भने, “त्यसैले यो कार्यक्रममार्फत तरकारीखेती, माछा, कुखुरा, मौरीपालन, अलैंची, अदुवाखेती लगायत कृषिसँग सम्बन्धित ब्यवसायमात्र गर्न पाइन्छ ।”


कार्यक्रमअन्तर्गत प्रतिवयक्ति दुई लाख रुपैयाँ विनाब्याज दुई वर्षका लागि सापटी दिइनेछ । कार्यविधि अनुसार सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत, अन्य पेशामा संलग्न, पेन्सनवालालाई यो कार्यक्रमले समेटदैन । १८ देखि ५० वर्षसम्मका ब्यक्ति यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।


गाउँपालिका अध्यक्ष गरिबि निवारण कार्यक्रममा समेटिने बासिन्दाको छनोटका लागि गाउँपालिका योजना शाखाको अधिकृतको संयोजकत्वमा ५ जनाको छनोट तथा सिफारिस समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।


“हामीले अहिले प्रस्तावना मागेका छौं,” उनले भने, “छनोट तथा सिफारिसले कार्यविधि अुनसार मापदण्ड पुगेका बेरोजगारलाई कार्यक्रमका लागि सिफारिस गर्छ । त्यो सिफारिस पत्र कार्यपालिका बैठकमा लैजान्छौं । बैठकले स्वीकृत गरेपछि कार्यक्रममा समेटिने छनोट गर्छौ ।” जेठ महिनाभर गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रममा समेटिने छनोट हुने उनको भनाइ छ । यो वर्ष ३५ जना छनोट हुनेछन् । उनीहरूलाई आवश्यक तालिम पश्चात दुई लाख रुपैयाँ सापटी दिएर ब्यवसाय गर्न लगाउने उनले जानकारी दिए । कार्यक्रमले गाउँलेको आर्थिकस्तर उठने अपेक्षा गरिएको छ ।