कृञ्जला पुलामी
बिहिवार, बैशाख १२, २०७६
574

एकेन्द्र र हेमराजले तालिमको लागि प्रतिव्यक्ति ६ हजार ७ सय रुपैयाँ पैसासमेत उठाएको पीडित युवाहरुले बताएका छन् । “२ महिना गाउँमा गएर काम गरियो । खान बस्न सबै आफ्नै पैसा खर्च भयो,” अर्का पीडित कुञ्जना कार्कीले भनिन्, “महिनामा ४० हजार हुन्छ भन्यो । होला त भनेर अरु चिनजानका साथीहरुलाई पनि लगे ।”

सिन्धुली-जागिरको प्रलोभनमा परी सिन्धुलीका एक सयभन्दा बढी युवा ठगिएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ का एकेन्द्र पुर्वछाने मगर र हेमराज गुरुङले रोजगारीको प्रलोभन देखाएर उनीहरुलाई ठगेका हुन् ।
ठगिनेमा सिन्धुली जिल्लाकै विभिन्न स्थानीय तहका १८ देखि ३० वर्षसम्मका युवा रहेका छन् । ग्रिन क्लब नेपालका विभागीय अध्यक्ष बताउने एकेन्द्र र जिल्ला संयोजक भन्ने हेमराजले २ महिना युवाहरुलाई काममा लगाएर अहिले सम्पर्कविहिन भएको ती युवाहरुले बताएका छन् ।

गाउँ–गाउँमा गएर आफूहरुलाई स्वास्थ्य सम्बन्धि काम गर्नुपर्ने र त्यसबापत मासिक ४० हजार रुपैयाँ तलव दिने भनेर २ महिनासम्म काम लगाएको तिनपाटन गाउँपालिका ५ की कुशुम कार्कीले बताइन् । “ठगिएका सबैलाई काम गरेबापत मासिक ३० हजार रुपैयाँ र फिल्ड भत्ता १० हजार गरी ४० हजार रुपैयाँ दिने भनेका थिए,” उनी भन्छिन्, “सुरुमा त तलब माग्दा केही दिनमा हुन्छ भन्थ्यो, अहिले त फोन नै उठाउँदैन ।”
एकेन्द्र र हेमराजले तालिमको लागि प्रतिव्यक्ति ६ हजार ७ सय रुपैयाँ पैसासमेत उठाएको पीडित युवाहरुले बताएका छन् । “२ महिना गाउँमा गएर काम गरियो । खान बस्न सबै आफ्नै पैसा खर्च भयो,” अर्का पीडित कुञ्जना कार्कीले भनिन्, “महिनामा ४० हजार हुन्छ भन्यो । होला त भनेर अरु चिनजानका साथीहरुलाई पनि लगे ।”
अहिले उनीहरु दुवै जना सम्पर्क विहिन रहेको कमलामाई नगरपालिका २ भद्रकालीका २४ वर्षिय केशव बम्जनले बताए । “फोन जान्छ तर उठाउँदैन । उठाइहाले पनि तिमीहरुले तलब पाउदैनौँ जे गर्नु छ गर भनेपछि न्यायका लागि हामी सामुदायिक सेवा केन्द्रमा आएका हौँ,” उनले भने । ठगिएका १११ युवाहरुले दुबै जनालाई खोजीदिन र रकम उठाइदिन सामुदायिक सेवा केन्द्रमा आएर निवेदन दर्ता गरेका छन् ।
त्यसपछि सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर हायुले जिल्ला प्रहरी कार्र्यालयमा निवेदन दिन सुझाव दिएपछि उनीहरु जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगेका थिए । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले भने पीडितहरुले मौखिक रुपमा दिएको जानकारी अनुसार आरोपि एकेन्द्र र हेमराज काठमाडौँमा रहेकाले अपराध महाशाखा, सिआईवी काठमाडौँमा उजुरी दिन सुझाव दिएको बताउछन् । सिआइवीमा आफूले कुरा गरिदिएकोसमेत उनले बताए ।
“गाउँमा गएर आयुर्वेेदिक औषधी बिक्री गर्नुपर्ने, थेरापी गर्ने तथा स्वास्थ्य सम्बन्धि काम गर्नुपर्ने थियो,” अर्का पीडित नेल्शना पोखरेलले भनिन्, “अफिसको लेटरहेड छैन भनेर सोध्दा क्लब भरखर खुलेको त्यही भएर कुनै कागजात छैन भन्थे । महिनामा ४० हजार कमाउने सपनाले आफ्नै पैसा खर्च भयो,” उनले भनिन् ।
यता ग्रिन क्लब नेपालका विभागीय अध्यक्ष एकेन्द्रले भने युवाहरुलाई रोजगारी दिने उद्देश्यले नै क्लब सञ्चालन गरिएको भएपनि विभिन्न समस्याका कारण बीचमै छोड्नु परेको बताउँछन् । “उनीहरुले ६ महिनासम्म काम गरेपछि मात्र तलब दिन सकिन्छ । तर कामै केही भएको छैन कसरी हामीले तलब दिनु,” उनले भने, “३ महिनाको तालिमपछि डाक्टर बनाउने योजना थियो । त्यसका लागि बिना पैसा तालिम दिने कुरा भएन, त्यसैले हामीले पैसा उठाएका हौँ ।”
ग्रिन क्लब नेपालको कार्यालय कमलामाई नगरपालिका ६ धुराफाँटमा रहेको छ । क्लवको सदस्य बन्नका लागि २ सय रुपैयाँ र सदस्य बनेपछि ५० प्रतिशत छुटमा उपचार गराइदिने भन्दै गाउँ–गाउँमा विभिन्न शिविर तथा कार्यक्रम पनि गरेको बताइएको छ ।