मीनकुमार नवोदित
बिहिवार, चैत्र ७, २०७५
574

विराटनगर-सुनसरीको दुहबीमा आयोजित वृत्ति परामर्श तथा रोजगार मेलास्थलबाटै ३ सय ८५ युवाले रोजगारी पाएका छन् । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एकैठाउँ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले आयोजना गरेको मेलामा ९ सय ४५ जनाले फारम भरेका थिए । जसमा ३८५ जनालाई मेलास्थलबाटै रोजगारीको ग्यारेन्टी भएको संगठनका उपाध्यक्ष राकेश सुरानाले बताए ।
अहिले मुलुकमा सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी नै हो । वैदेशिक रोजगारीका कारण हरेक दिन युवा पलायन हुने क्रम बढ्दो छ । वैदेशिक रोजगारीका कारण दक्ष र अर्धदक्ष कामदारको अभाव झेल्दै आएका छन् उद्योगीहरूले ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रअन्तर्गत सुनसरीको सोनापुरस्थित गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइवरले मात्रै २४० जनालाई रोजगारी दिएको छ । “यो मेला अत्यन्तै फलदायी भएको छ,” संगठनका अध्यक्ष भीम घिमिरेले भने, “रोजगारदाता र कामको खोजीमा रहेका युवालाई मेलाले जोडेको छ ।” रिलायन्स स्पेरिङ, एवी ग्रुप, फुजिमा, वागमती, पायोनियर केवल, रिलायन्स थर्मोपोलीलगायतले पनि रोजगारी दिएका छन् । उनीहरूले मेलास्थलमै फारम भरेर अन्तर्वार्ता लिएका थिए । “फारम भरेका मध्येबाट उनीहरूको योग्यता र क्षमताका आधारमा रोजगारीको ग्यारेन्टी गरिएको छ,” घिमिरेले भने ।
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको मेलाको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा सञ्चालित ईन्स्योर परियोजनाको सहयोगमा उद्योग संगठनसहित दुहबी नगरपालिका र बूढीगंगा गाउँपालिकाले मेला आयोजना गरेका हुन् । मेलालाई मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यावसायिक सीप तालिम प्रदायक संघ प्रदेश–१ ले समेत सहयोग गरे । रोजगारदाता र रोजगारको खोजीमा रहेका युवासहित प्राविधिक शिक्षा दिने निकाय र संस्थाहरूको एकै ठाउँमा सहभागिता रहेको मेलामा युवाको भीड लागेको थियो ।
मेकानिक्स, जुट मेकानिक्स, लेखापाल, सवारी चालक, कार्यालय सहयोगीका रूपमा युवाले रोजगारी पाए । बढी मात्रामा मेसिन चलाउने अपरेटरको खोजीमा उद्योगीहरू थिए । आफूले चाहेअनुसारको जनशक्ति पाउँदा उद्योगीहरूसमेत दंग देखिन्थे । “विज्ञापन गरेर कामदारको खोजी गर्नुभन्दा यसरी खुल्ला रूपमा खोजी गर्दा भनेजस्तै कामदार पाउन सकिँदो रहेछ,” उद्योगी नन्दकिशोर राठीले भने, “यस्तो मेला बेला–बेला हुनुपर्छ ।”
सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए । समयसापेक्ष प्राविधिक शिक्षा दिनुपर्नेमा उनको जोड दिए । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा साना–ठूला गरी ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । ती उद्योगमा ७० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पूर्ण क्षमतामा सबै उद्योग सञ्चालन हुने हो भने १ लाखभन्दा बढीले रोजगारी पाउँछन् ।
मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी १० वर्षभित्र प्रदेशलाई बेरोजगारमुक्त घोषणा गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताए । “त्यसका लागि प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखिएको छ,” राईले भने, “मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्व विद्यालयका रूपमा विकास गर्ने प्रक्रियासमेत अघि बढाइसकिएको छ ।” रोजगार मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा आवश्यकताअनुसारको काम तथा मानव शंशाधन खोज्न र रोज्न सहयोग पु¥याएको उनले बताए । मेलाको सहयोगी संस्था मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले दश जनशक्ति उत्पादनमा ध्यान दिन सरकारसँग आग्रह गरे ।