गोपाल संग्रौला
मंगलबार, चैत्र ५, २०७५
569

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली युवाको सुरक्षा, राहत तथा उद्धार र तालिमसम्बन्धी सेवाका लागि चालू आर्थिक वर्षको ८ महिनामा ४८ करोड ७५ करोड ४८ हजार १२३ रुपैयाँ खर्च गरेको छ ।
यो खर्च अंगभंग तथा गम्भीर बिरामीलाई क्षतिपूर्ति, उद्धार तथा खोजतलास, कामदार परिवारको स्वास्थ्य उपचार सहयोग, महिला कामदारको अभिमुखीकरणका लागि खर्च गरेको हो । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार चालू आवको ८ महिनासम्ममा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायतास्वरूप ३४ करोड २५ लाख ८० हजार वितरण भएको छ । यो अवधिमा प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरले आर्थिक सहायता लिनेमा विदेशमा मृत्यु भएका ५ सय ८ पुरुष र १६ महिलासहित ५२४ मृतकका हकवाला रहेका छन् । यसैगरी ८ महिनामा बोर्डले ५ सय १० पुरुष र ९ महिला कामदारको शव काठमाडौंबाट उनीहरूको गृह जिल्ला पु¥याउन १ करोड २ लाख १३ हजार ६ सय ६७ रुपैयाँ खर्च गरेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएका नेपाली युवाको शव निशुल्क रूपमा घरसम्म पु¥याउँदै आएको छ ।

विदेशमा रोजगारीकै क्रममा मृत्यु भइ विभिन्न कारणले शव नेपाल ल्याउन नसकिएका ५७ पुरुषको शव नेपाल ल्याउन ६९ लाख ४९ हजार ७०६ रुपैयाँ विदेशस्थित नियोगलाई पठाएको थियो । रोजगारदाताले कामदारको शव पठाउनु पर्ने अवस्था नभएर बोर्डमा आफन्तले दिएको निवेदन र अनुरोधका आधारमा सरकारले शव स्वदेश ल्याउन आर्थिक सहयोग गदै आएको छ । करार अवधि समाप्त भएर वैदेशिक रोजगारीमा रहँदा कामदारको मृत्यु भइ शव अलपत्र परेमा सम्बन्धीत मुलुकको नियोगसँग समन्वय गरी अलपत्र शव नेपाल झिकाउन सरकारले आर्थिक सहयोग गर्दै आइरहेको छ । “रोजगारीका क्रममा अंगभंग÷गम्भिर विरामी भएका १९५ पुरुष र ६ महिला सहति २ सय १ कामदारको क्षतिपूर्तिका लागि विगत ८ महिनामा ४ करोड ३४ लाख ६६ हजार ५० रुपैयाँ खर्च भएको देखिन्छ,” श्रेष्ठले भने, “विदेशमा विभिन्न कारणले रोजगारी गुमाएर अलपत्र परेर खोजतलास र उद्धारको लागि निवेदन परेका ८५ पुरुष र ४ महिला सहित ८९ कामदारको उद्धार र खोजतलासका लागि विभिन्न दुताबासलाई २५ लाख रुपैयाँ पठाएको छ ।”
बोर्डले हालै सार्वजानिक गरेको तथ्यांकमा कामदारको परिवारलाई स्वास्थ्य उपचार सहयोगका लागि यो अवधीमा ९ पुरुष र ८ महिला कामदार सहित १७ जनाको परिवारको सदस्यको उपचारका लागि ८ लाख १५ हजार सहयोग गरेको छ । वैदेशिक रोजगारीमा गएर कुनै नेपाली कामदारको परिवारका सदस्य विरामी परी उपचार गराउन आर्थिक समस्या परेको प्रमाणसाथ निवेदन दिएमा क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया र पार्किस्सन तथा अन्जाईमर जस्ता गम्भिर प्रकृतिका रोगको उपचारका लागि बोर्डले ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने गरेको छ ।
बोर्ड वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाका लागि निशुल्क अभिमुखिकरण तालिम दिदै आएको छ । यसरी निशुल्क अभिमुखीकरण तालिम लिने ८ सय ७ महिला कामदारको लागि यो अवधिमा ६ लाख २३ हजार ७ सय रुपैयाँ सरकारले लगानी गरेकोे छ । यसबाहेक बोर्डले वैदेशिक रोजगारीमा रहेका युवाका परिवारका सदस्यका लागि छात्रवृत्ति, प्राविधिक शिक्षाको डिप्लोमा तहका लागि छात्रवृत्ति, पेशगत तालिम र विदेशमा रहेका कामदारको कानुनी सहायताको लागि पनि सहयोग गर्दै आइरहेको छ ।