कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५
603

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा रोजगारीका धेरै अवसर भएपनि नेपाली युवामा विदेश नै जानुपर्छ भन्ने मान्यता विकास भएको बताएका छन् । “नेपालमा विभिन्न क्षेत्रमा रोजगारीका अवसर छन् तर दक्ष जनशक्ति नभएर नेपाली उद्योगीले कामदार पाएका छैनन्,” मन्त्री बिष्टले भने, “नेपाली युवा किन स्वदेशको रोजगारी छोडेर विदेश जान चाहन्छन्, त्यसको अध्ययन गर्नुपर्ने भएको छ ।” राष्ट्रिय युवा नेतृत्वले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बिष्टले देशभित्रै राम्रै काम गरिरहेका युवा पनि जागिर नै छोडेर वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको बताए ।
युवालाई दक्ष बनाएर स्वदेशमा नै रोजगारीका अवसर निर्माण गरेर श्रमिकको भविष्य सुनिश्चित गर्न सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको मन्त्री बिष्टले बताए । “मन्त्रालयले श्रमिकको भविष्यसँग जोडिएको सामाजिक सुरक्षा कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेर रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रम ल्याएको छ,” उनले भने । बेरोजगारी युवालाई रोजगारी दिन उद्देश्यले अथवा देशभित्रै युवालाई उद्यमी बनाएर बेरोजगारी समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

देशभित्रै रोजगारीसँगै आर्थिक समृद्धिका लागि कसरी अगाडि बढ्ने भनेर सरकारले योजना बनाएर काम गरिरहेको उनको भनाइ छ । नेपालमा रोजगारीका धेरै सम्भावना रहेको र अगामी दिनमा सरकारले रोजगारीको पहिचान गरेर युवालाई आन्तरिक श्रम बजारमा खपत गर्दै लैजाने श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । उनले श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत स्थानीय तहसँग समन्वय गरेर बेरोजगारी निर्वाह भत्ता र रोजगारीका लागि आवश्यक तथ्यांक संकलन र रोजगारीका विभिन्न कार्यक्रम ल्याउने योजना शुरु गरेको बताए ।
यस्तै नेपालका लागि अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलो) का प्रमुख रिचाड ओवडले नेपालभित्र रोजगारीका अवसरलाई अध्ययन गरेर कार्यान्वयन गर्न सके रोजगारीको धेरै ठूला सम्भावना रहेको बताए । सरकारले श्रम व्यवस्थापन, रोजगारी सृजना लगायतका विषयलाई सम्बोधन गर्न पछिल्लो समय ऐन नै बनाएर अन्तरिक श्रम बजार व्यवस्थापन गर्नु खोज्नु सकारात्मक भएको उनले बताए । सरकारले देशभित्रको रोजगारीमा युवाको आकर्षण बढाउन बजेटमा नै युवामैत्री र रोजगारका विषेश कार्याक्रम ल्याएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए । देशभित्र करिब ४४ प्रतिशत युवा रहेकोमा त्यसमध्ये करिब ३० प्रतिशत रोजगारीको खोजीमा विदेश जाने गरेको राष्ट्रिय युवा नेतृत्वको अध्ययनमा उल्लेख छ । सबैभन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समूहका युवा रोजगारीका खोजीमा विदेशिने गरेको नेतृत्वले बताइएको छ ।