कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५
760

धनकुटा-इलाम - स्वरोजगारीको बलियो माध्यम बनेको चिया खेतीप्रति किसानको लगाव देखिन्छ । खासगरी पूर्वी क्षेत्रमा चिया खेती गर्दै आइएको छ । इलामचाहिँ चियाको हब नै हो । इलामको चार भागको एक भाग जमिनमा चिया खेती गरिन्छ । इलाममा चियामा आश्रित जनसंख्या करिब २० हजार बढी छ । चियाबाट स्वरोजगार गरिरहेका उनीहरू खेती विस्तारमा पनि लागेका छन् ।
आफ्नै बगानमा स्वरोजगार गर्ने किसानहरू अधिकांश छन् । चियाको बिरुवा रोपणदेखि चिया भित्र्याउने, उद्योगमा प्रशोधनसम्मको काममा किसानहरूको उत्तिकै संलग्नता हुन्छ । बगानमा काम गर्ने हरियो पत्ती टिप्ने कामदारदेखि, चिया उठाउने र उद्योगमा टी मेकरसम्म पनि किसान र अन्य मजदुर हुन्छन् । अधिकांश टी मेकर चाहिँ कर्मचारी हुन्छन् । धेरै किसानले आफ्नै बगानबाट आम्दानी गर्छन् । किसान आफैंले सञ्चालन गरेका चिया उद्योगमात्रै जिल्लामा ३० वटा छन् भने सहकारीलगायतका चलाएका चिया उद्योग चाहिँ एक दर्जन बढी छन् । चिया खेती गर्न तालिम चाहिन्छ । चिया रोप्नको लागि निश्चित काम गर्न तालिमले सहयोग गर्छन् । किसानहरू अनुभवले पनि पोख्त भइसकेका छन् ।

वि.सं. १९२० सालमा कर्णेल गजराजसिंह थापाले उपहारस्वरुप छिमेकी देश चीनबाट प्राप्त गरेको बीउ इलामको शोक्तिम चिया कमानमा रोपेपछि नेपालमा चिया खेतीको प्रारम्भ भएको पाइन्छ । त्यसको दुई वर्षपछि झापाको सोक्तिम चिया मकानको स्थापनाबाट नेपालमा चिया खेतीको सुरुवात भएको देखिन्छ । त्यो त्यही दशक हो जुन बेला भारतको दार्जिलिङ्गमा पनि चिया खेती प्रारम्भ गरीएको थियो । जहानीया राणा शासन भएकोले नेपालमा चिया उद्योग त्यति फस्टाउन सकेन तर दार्जिलिङ्गमा भने चियाको विकास विस्तार हँुदै गयो । २००७ सालमा नेपालमा प्रजातन्त्र आएसँगै लगानीको वातावरण बन्दै गएपछि यसको सकारात्मक प्रभाव चिया खेतीमा प¥यो र चिया खेतीले विकासको क्रम सुरु भयो ।
तर हरियो चियापत्ति प्रशोधनका लागि कारखाना नभएपछि नेपालले दार्जिलिङ्गका चिया कारखानामा लगेर प्रशोधन गर्नुपर्ने बाध्यता कायमै रहेपछि २०३५ सालमा इलाम र त्यसको केहि वर्षपछि झापामा चिया प्रशोधन कारखाना स्थापना गरियो । २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रले चिया क्षेत्र घोषणा गरेको पूर्वका झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटा गरी १४ हजार ७ सय ३२ हेक्टरमा व्यावसायिक चिया खेती हुँदै आएको छ तर चिया खेतीलाई व्यवस्थित गर्दै उत्पादन, गुणस्तर र निर्यात बढाउने उद्देश्यसहित राष्ट्रिय चिया नीति २०५७ जारी भएको दुई दशक बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । खेती सुरु भएको लामो समयपछि जारी भएको नीतिसमेत किसान मैत्री नहुँदा धनकुटाका चिया किसान पलायन हुँदै गएका छन् ।
पहाडी जिल्लाहरूमा किसानको आम्दानीको स्रोत बनेको चिया पछिल्ला वर्षमा चिया लगाएको बगान निल्नु न ओकल्नु भएसँगै चिया खेतीको विस्तार कि विकल्प भन्ने दोसाँधमा धनकुटाका चिया खेती गर्ने किसान पुगेका छन् । चिया खेतीलाई व्यवस्थित गर्दै उत्पादन, गुणस्तर र निर्यात बढाउने उद्देश्यसहित राष्ट्रिय चिया नीति २०५७ जारी भएको दुई दशक बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । खेती सुरु भएको लामो समयपछि जारी भएको नीति समेत किसान मैत्री नहुँदा धनकुटाका चिया किसान पलायन हुँदै गएका छन् । पहाडमा बढीमा तीन सय ५० रोपनी निजी जमिनमा खेती गर्नेलाईमात्रै राष्ट्रिय चिया नीति २०५७ ले साना किसानको परिभाषामा समेटेको छ ।
नीतिले उद्योग दर्ता गराई खेती गर्नेलाई मात्रै चिया कृषक मानेको छ । यसरी हेर्ने हो भने वर्षांैदेखि चिया खेती गर्दै आएका धनकुटाका सात सय बढी किसान नीतिको परिभाषामा चिया किसान गनिँदैनन् । ठूलो लगानीमा सञ्चालित धनकुटाका तीनवटा अर्थोडक्स चिया प्रशोधन उद्योगले मात्रै चिया किसानको हैसियत पाएका छन् । नीति निर्माण तहमा साना किसानको पहुँच नभएकोले साना किसानलाई नीतिले नसमेटेको चिया उत्पादक जिल्ला सहकारीका अध्यक्ष इन्द्रसारु मगरको भनाइ छ ।
उनले भने, “पहाडमा १ सय देखि १ सय ५० रोपनीमा मात्र खेती गर्ने किसानको संख्या छ, तर नीतिले यी किसानलाई समेत किसान मानेको छैन् ।” चिया किसान आफैं प्रशोधन उद्योग खोलेर निर्यात योग्य चिया उत्पादन गर्न सक्ने अवस्थामा छैनन् । ठूला चिया कारखानाले विभिन्न बहाना बनाएर किसानको हरियो पत्ति लिन मान्दैनन् । त्यसको प्रत्यक्ष असर साना किसानलाई परेको कृषक गोविन्द थापा बताउँछन् ।
सस्तो ब्याजमा ऋण, मालपोत र जग्गा खरिद गर्दा रजिष्टे«सन दस्तुर छुट, व्यावसायिक चिया खेती भएका क्षेत्रमा सडक, सिँचाइ, बिजुली, शिक्षा तथा संचार र अन्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने नीतिगत व्यवस्था भएपनि चिया उत्पादक किसानले व्यवहारमा महशुस गर्न पाएका छैनन् । जसका कारण चिया क्षेत्र घोषित धनकुटामा पाँच वर्षयता चिया खेतीको क्षेत्रफल वृद्धि भएको छैन । बरु ४० प्रतिशतसम्म क्षेत्रफल र उतिनै संख्यामा चिया खेती गर्ने किसान घटेका चिया तथा कफि विकास बोर्ड हिलेका प्रमुख रामएकवाल यादव बताउँछन् ।
डेनमार्क सरकारले धनकुटासहित पूर्वका ७ जिल्लामा खेर गएको चियालाई अग्र्यानिक चिया उत्पादनमा समावेश गरेर बजारीकण गर्ने किसानलाई समेत सुविधा दिन ल्याएको कार्यक्रम पनि बन्द भएको छ । धनकुटामा हाल २ सय ८५ हेक्टरमा उद्योहरूले, २ सय १३ हेक्टरमा किसान र १६ हेक्टरमा सरकारको लगाएको गरी ५ सय १४ हेक्टरमा चिया खेती स्थिर रहेको चिया तथा कफी विकास बोर्ड हिलेको तथ्यांक छ । किसानहरूका अनुसार एक रोपनी चिया खेती तयार गर्दा कम्तिमा ९५ हजार रुपैयाँ खर्च लाग्छ ।
त्यसमा मजदुर अभावको समस्या पनि उस्तै छ । यसरी उत्पादन गर्दा समेत किसानको दर्जा पाउन नसकेका र निरास भएका किसान र उत्पादकलाई चिया खेतीमा पे्ररित गर्न राष्ट्रिय चिया नीतिले अवलम्बन गरेका न्यूनतम ब्याजदरमा ऋण प्रवाह, बजार तथा व्यापार प्रवद्र्धन, जनशक्ति र उद्योग विकासका साथै अव्यवहारिक कानुनी संरचनामा अविलम्व सुधार गर्नु आवश्यक छ ।

विकास घिमिरे-टीका खतिवडा