गोपाल संग्रौला
शुक्रवार, पुष २७, २०७५
732

मलेसियाले नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाउनमा ढिलाई गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड पठाउन मलेसियालाई पत्राचार गरेको छ । नेपाल र मलेसियाबीच भएको श्रम सम्झदारीमा मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर नेपाललाई पठाउनुपर्ने उल्लेख छ ।
सम्झौताअनुसार मापदण्ड पठाउन मलेसिया सरकारले ढिलाई गरेपछि यसअघि नै मन्त्रालयले मौखिक अनुरोध गरे पनि मलेसियाले प्राविधिक कारण जनाउँदै ढिलाई गर्दै आएको थियो । स्वास्थ्य मापदण्ड पठाउन मौखिक रूपमा धेरै अनुरोध गरेपछि नेपालले पत्र नै पठाएर मापदण्डको खाका दिन अनुरोध गरेको हो । नेपालमा स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरणमा ढिलाई हुने भएपछि मन्त्रालयले ५ दिन अघि मलेसियालाई लिखितपत्र पठाई मापदण्ड पठाउन पत्राचार गरेको मन्त्रालय उच्च स्रोतले बताएको छ ।

मलेसियामा नै नेपालबाट कामदार भर्ना गर्ने स्वास्थ्य परीक्षण गर्ने लगायतका सम्बन्धमा बिचौलियाले चलखेल गर्न थालेपछि मापदण्ड तयार गर्ने र नेपाल पठाउने सम्बन्धमा ढिलाई भएको हो । “श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्पmत मलेसिया पठाएको पत्र बुधबार त्यहाँको परराष्ट्र मन्त्रालय पुगेको र शुक्रबार (आज) सम्म मानव संशाधन मन्त्रालय पुग्नेछ,” स्रोतले भन्यो, “सम्झौतामा स्वास्थ्य मापदण्ड मलेसियाले पठाउने भन्ने उल्लेख भए पनि नेपालले मलेसियाको अवधारण बुझ्न पत्र पठाएको हो ।” श्रम समझारीमा स्वास्थ्य परीक्षणलगायत अन्य सम्पूर्ण प्रक्रिया निशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।
दुई महिनाअघि मलेसिया र नेपालबीच श्रम सम्झौतामा भएका सबै बिषयमा टुंगो लागे पनि मलेसिया सरकारले मेडिकल मापदण्ड पठाउन ढिलो गरेकोमा मन्त्रालय नै अलमल्लमा परेको छ । श्रम सम्झौता भएको केही दिनभित्रै स्वास्थ्य परीक्षणको मापदण्ड मलेसियाले पठाउने र उक्त मापदण्डका आधारमा स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचना जारी गर्ने नेपालको तयारी थियो । मलेसियाले पनि नयाँ र पारदर्शी तरिकाले प्रक्रिया सुरु गरिएकाले ढिलो भएको जनाउँदै आएको छ । श्रम मन्त्रालयले ५ दिनअघि नै पत्र पठाए पनि परराष्ट्र मन्त्रालयले मगलबारमात्र पत्र मलेसिया पठाएको छ । बुधबार मलेसियाको परराष्ट्र मन्त्रालयमा पुगेको पत्र केही दिनभित्र त्यहाँको मानव संशाधन मन्त्रालयमा पुग्ने जनाइएको छ ।
मलेसियाबाट स्वास्थ्य परीक्षणको मापदण्ड प्राप्त भएपछि मन्त्रालयले नवीकरण भएका तथा कालोसूचीमा नपरेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजानिक गर्ने तयारी गरेको छ । यसरी मापदण्ड पूरा गरेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति दिने सरकारीको योजना छ । विगतमा स्वास्थ्य परीक्षणमा लापरवाही भएको कारण मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिने जनाएको छ ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमात्र होइन सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, सुरक्षा जाँच (सेक्युरिटी स्क्रिनिङ) लगायतका खर्चहरू सम्बन्धित रोजगारदाताले नै बेहोर्नेगरी मलेसयासँग नयाँ सम्झौता भएको छ ।