कारोबार संवाददाता
बिहिवार, भदौ २१, २०७५
449

सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रम थप २० जिल्लाका स्थानीय तहमा विस्तार गर्न स्विट्जरल्यान्ड सरकारले २ अर्ब रुपैयाँ अनुदान दिएको छ ।
विगत ७ वर्षदेखि अन्तर्राष्ट्रिय विकास साझेदार स्विट्जरल्यान्डले सहयोग गर्दै आएको परियोजना विस्तार गरेर ३९ जिल्लामा पु-याउने भएपछि नेपाल सरकारले समेत २७ करोड लगानी गर्ने भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना (सामी) का लागि स्विट्जरल्यान्ड सरकारले २ अर्ब रुपैयाँ अनुदान दिएको हो । यसअघि स्विस सरकारले परियोजनाका लागि १ अर्ब २२ करोड २७ लाख अनुदान पाएको थियो ।

स्विस सरकारको सहयोगमा सुरु गरिएको कार्यक्रम प्रभावकारी भएपछि नेपाल सरकारले पनि यो वर्षदेखि लगानी गर्ने भएको छ । हाल दोस्रो चरणको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछी स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित गर्न हाल सञ्चालनमा रहेको परियोजनाका लागि १ अर्ब १६ करोड २१ लाख खर्च गरिसकेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सामी परियोजना प्रमुख सूर्य भण्डारीले परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्थपना कार्यक्रम गर्दै आएको बताए । “सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र हाल विभिन्न १९ जिल्लामा सञ्चालन गरिएको छ,” उनले भने “यो कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यलयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना दिँदै आइरहेको छ ।”
परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको सामाजिक, आर्थिक लाभ र आम्दानी वृद्धि भएको सरकारी भनाइ छ । वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोग पनि काम गदै आइरहेको मन्त्रालयले जनाएको छ । यसरी नै वैदेशिक रोजगारीबाट पीडित भइ फर्केकाको लागि आश्रयको व्यवस्था गर्दै आएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा काम गदै आएका सरकारी निकायको कार्यक्षमता र क्रियाशिलता अभिवृद्धिमा पनि परियोजनाले सहकार्य गदै आएको छ ।
वैदेशिक रोजगारबाट पीडित व्यक्तिहरूका लागि पुनःस्थापना गृहको सञ्चालन र अनुगमनका लागि आवश्यक व्यवस्था मिलाउन विभिन्न जिल्लामा पुनस्र्थापना केन्द्र सञ्चालनमा छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यवसायिक सीप र तालिम दिलाउने साथै घरेलु महिला कामदारका लागि निर्धारित तालिम र अन्यको लागि पुर्वप्रस्थान र अभिमुखीकरण तालिम दिने दिलाउने कार्यमा सहयोग गर्दै आएको छ ।
दुई अर्ब रुपैयाँको अनुदान सम्झौता
सामी (तेस्रो चरण) कार्यान्वयन गर्न अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलरले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भइ १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी थप २० जिल्लाका विस्तार गरिने छ । यसअघिका २ परियोजना सफल भएपछि तेस्रो चरणको कार्यक्रमका नेपाल सरकारले समेत २५ प्रतिशत लगानी गर्ने भएको हो । परियोजना सञ्चालन भएका ३९ जिल्ला वाषिक रूपमा ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा जाने जिल्ला हुन् । परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पु¥याउने जनाइएको छ ।