कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
500

तनहुका स्थानीय तहका प्रमुखहरूले उच्च शिक्षा नीति बनाएर सामुदायिक क्याम्पसहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पब्लिक क्याम्पस संघ तनहुँले बन्दिपुरमा आयोजना गरेको ‘उच्च शिक्षामा स्थानीय तहको भूमिका’ विषयक गोष्ठीमा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन् । गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर राना, व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापालगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
गोष्ठीको प्रदेश सभा सदस्य आशा कोइराला, डोबाटे विक र सरिता गुरुङले सयुक्त रूपमा उद्घाटन गरेका थिए । संघका जिल्ला अध्यक्ष एवं जनज्योति क्याम्पस भिमादका सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले ‘उच्च शिक्षामा स्थानीय तहको भूमिका विषयक’ कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र शिक्षाविद चिजकुमार श्रेष्ठ अकेलाले टिप्पणी गरेका थिए । कार्यक्रममा तनहुँका १० वटै सामुदायिक क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक संघ इकाइका सभापतिको उपस्थिति रहेको थियो ।
विगत २ दशकदेखि विश्वविद्यालय अनुदान आयोगले सरकारी अनुदान प्रणालीमा र उच्च शैक्षिक संस्थामा सुधार्ने प्रणाली थालनी गरेको भएता पनि सरकारले राष्ट्रिय बजेटको १ प्रतिशतभन्दा केही अधिक बजेटमात्रै उच्च शिक्षालार्ई छुट्टयाउँदै आइरहेको संघले बताएको छ । नेपाल सरकारले उच्च शिक्षा विकासका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण र अनुदान लिएर उच्च शैक्षिक संस्थालार्ई अनुदान सहायता विश्वविद्यालय अनुदान आयोगका माध्यमबाट बाँड्ने गर्दछ ।