कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
560

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले तत्काल त्रिवि सभाको बैठक बोलाउन माग गरेको छ । संघले पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रिवि सभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्र नारायण बडबरियाले विगत ७ वर्षदेखि गठन हुन नसकेको त्रिवि प्राध्यापक संघको महाधिवेशन गर्न पनि माग गरेका छन् ।

उनले भने, “विभिन्न बहाना देखाएर ७ वर्षदेखि हाम्रो संघको नयाँ नेतृत्व चयन गरिएको छैन । अबका केही दिनभित्रै नयाँ कार्यसमिति चयनको लागि त्रिविले भूमिका खेल्नेछ । तत्काल त्रिवि सिनेटको बैठक बोलाउन समेत माग गर्दछु ।”
त्रिविका पूर्व भिसी एवं प्राध्यापक संघका सभापति प्राध्यापक खगेन्द्र भट्टराईले विरासत बोकेको प्राध्यापक संघको शिर छिनाउने काम भएको टिप्पणी गरेका छन् । उनले भने, “म यस संघको पूर्वअध्यक्ष हुँ, यस संस्थाले नेपाली माटो र प्राप्त अधिकारको बारेमा धेरै योगदान दिएको संस्था हो । आज यसको गरिमालाई भुलेर शिर छिनाल्ने काम हुँदैछ, यो प्रक्रिया ठिक छैन ।” त्रभुवन विश्वविद्यालयबाट त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै संघले आपत्ति जनाएको छ ।